साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी साउन ०१।
गुल्मीको छत्रकोट गाउँपालिका १ हुँगाको स्मार्ट कृषि गाउँ जिल्लामै उत्कृष्ट भएको छ।
भुमि व्यावस्था तथा कृषि सहकारी मन्त्रालय लुम्बिनी प्रदेशले स्मार्ट कृषि गाउँ हुगालाई सम्मान गरेको हो। कृषि ज्ञान केन्द्र गुल्मी मार्फत जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले उत्कृष्ट स्र्माट कृषि गाउँ हुँगालाई पुरस्कृत गरे ।
समुहका अध्यक्ष दान बहादुर पल्लीलाई प्रमाणपत्रसहित नगद २५ हजारले सम्मान गर्दै समन्वय समिति प्रमुख पराजुलीले कृषक र कृषि समुहहरुलाई बिस्तारै आफ्नै खुट्टामा उभिन सुझाव दिए । उनले सधै कोहि कसैलाई सहयोग संभव नभएकाले कार्यक्रम वा परियोजनासंगै कृषि कर्म सकिने स्थिती आउन नदिन आग्रह गरे ।
लुम्बिनी प्रदेशद्धारा गुल्मीका ७ स्थानीय तहमा स्मार्ट कृषि कार्यक्रम संचालन भएको कृषि ज्ञान केन्द्र गुल्मीका कृषि अधिकृत हरिप्रसाद आचार्यले बताए । आचार्यका अनुसार स्मार्ट गाउँ कार्यक्रम अन्तरगत छत्रकोट गाउँपालिकामा तरकारी उत्पादन, मदाने गाउँपालिकामा गाइभैसी पालन, धुर्कोट गाउँपालिकामा तरकारी उत्पादन र बाख्रापालन, गुल्मीदरवार गाउँपालिकामा खाद्यान्यबाली उत्पादन, मुसिकोट नगरपालिकामा मौरीपालन, चन्द्रकोट गाउँपालिकामा तरकारी उत्पादन र बाख्रा पालन तथा रुरु क्षेत्र गाउँपालिकामा आलु र तरकारीको व्यावसायीक उत्पादनको काम भइरहेको छ।
यो कार्यक्रम लुम्बिनी प्रदेश सरकारको गौरवको परियोजना हो । परियोजनासंगै कृषक र समुहहरुलाई सवल र अब्बल बनाउन राम्रो काम गर्ने स्मार्ट कृषि समुहहरुलाई मन्त्रालयले पुरस्कृत गरेको कृषि ज्ञान केन्द्रका बरिष्ठ कृषि अधिकृत नवराज भण्डारीले जानकारी दिए । यो कार्यक्रम लुम्बिनी प्रदेश सरकारको गौरवको परियोजना हो ।
व्यावसायीक कृषि तथा पशुपालनको माध्यमबाट नागरिकलाई पोषक, सिचाइँ, कार्वन, बजार र सामाजिक तथा लैगिंक रुपमा स्मार्ट बनाउने उदेश्य कार्यक्रमको रहेको भण्डारीले बताए । पछिल्लो समय जिल्लामा व्यावसायीक कृषि र पशुपालन गर्नेहरुको संख्या बृद्धि भएको छ । प्रदेश र स्थानीय सरकारले करोडौ रुपैयाँ कृषि र पशुपानलको क्षेत्रमा खर्च गरेका छन् ।
कृषि ज्ञानकेन्द्र गुल्मी मार्फत हुँगामा ०७६ सालबाट स्मार्ट कृषि कार्यक्रम संचालन भएको छ । अहिले २ सय ५० रोपनी क्षेत्रफलमा स्थानीय कृषकहरुले व्यावसायीक तरकारी खेती गरिरहेका छन् । स्मार्ट गाउँ कार्यक्रमको लागि दुई बर्षमा लुम्बिनी प्रदेश सरकार, स्थानीय सरकार र समुहले करिव डेढ करोड खर्च भएको छ ।
पुरस्कार ग्रहण गर्दै स्मार्ट कृषि गाउँ हुँगाका अध्यक्ष दान बहादुर पल्ली सम्मानले कृषि कर्ममा थप उर्जा प्राप्त भएको प्रतिक्रिया दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend