साझा नेटवर्क
काठमाडौं, असार २२ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले अनलाइन संचार माध्यमले सूचना प्रवाह सरल र सहज बनाएको भएपनि राज्यले अनलाइनलाई प्रोत्साहित गर्न नसकेको र नियन्त्रण गर्न उद्धत भएको बताए ।
जयदेश डट कमको शुभारम्भ विशेष कार्यक्रममा मंगलबार बोल्दै अध्यक्ष पोखरेलले राज्यले अनलाइन संचार माध्यमलाई समेट्ने गरि नीति बनाउनुपर्नेका जोड दिए ।
‘अनलाइनको कारण नागरिक सुसूचित बनेका छन् तर अनलाइनलाई प्रोत्साहित गर्न राज्यका संयन्त्र सकारात्मक छैनन्’ उनले भने, ‘आम संचार कानुनले सबैलाई समेट्ने भन्ने छ तर अनलाइनलाई समेटेको छैन,अनलाइनलाई प्रोत्साहन गर्ने नीति ल्याउन आवश्यक छ ।’
उनले संचार माध्यमलाई ०४७ सालको संविधानले प्रेस स्वतन्त्रताको पक्षका व्यवस्था गरेको तर अहिले त्यसलाई संकुचन गर्ने प्रयासमा राज्य रहेको बताए ।
०४७ सालको संविधानमा प्रेस स्वतन्त्रता व्यवस्था थियो तर अहिले त्यस भन्दा पछाडि गएर मिडियालाई पञ्च्यातकालमा पुराउने बाटोमा छ’ उनले भने, ‘राज्यले आफै मिडिया संचालन गरेर नीजि र स्वतन्त्र मिडियालाई मार्दैछ ।’
उनले मिडिया क्षेत्रमा २० अर्ब भन्दा बढीको लगानी भएको भएपनि कोरोनाको महामारीमा नेपाली मिडिया सक्षम छैनन् भन्ने कुरा पुष्टि भएको बताए ।
उनले भने, ‘२ महिना विज्ञापन नपाउँदा कर्मचारी कटौती भएकाछन्, यसले मिडिया व्यवस्थापनमा ठूलो चुनौती खडा भएको छ, मिडियाले सामाजिक जिम्मेवारी पुरा गर्नु छ छँदै छ तर मिडियाले आफ्नो आम्दानी बिस्तारमा पनि ध्यान दिनुपर्छ ।’
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend