साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुु्रल्मी असार ०३।
गुल्मीको मालिका गाउँपालिका –७ घमिरका एक दम्पत्तिलाई जेठ २८ गते कोरोना पुष्टि भयो । जसमध्ये श्रीमानको अक्सिजन कम हुँदा अवस्था जटिल भयो ।
चारदिनसम्म स्थानीय स्वास्थ्य संस्थामै उपचार गराएका दम्पत्तीलाई स्वास्थ्यकर्मीको सल्लाहअनुसार पाचौँ दिनमा मंगलबार तम्घास पठाउने तयारी भयो। घमिरबाट अर्जै हुदैँ तम्घास जाने सडकमा पहिरो गएकोले तम्घास पुग्न सम्भव भएन।
वैकल्पिक सडक सिलादी हुँदै तम्घास पुग्ने हो। घमिरकै एम्बुलेन्स प्रयोग गरी संक्रमित सिलादीसम्म झरे। तर सिलादीमै घमिरबाट आएको खोला बढेको कारण एम्बुलेन्स खोला तर्न सकेन । उनीहरुलाई तम्घाससम्म ल्याउनको लागि भन्दै नेपाली सेनाको ट्रक तम्घासबाट सिलादीतर्फ गयो । तर इस्माको गुर्बा खोलामा अर्को ट्रक अड्किएको कारण सेनाको ट्रक बिरामी भएको ठाउँसम्म पुग्न सकेन र राति नै तम्घास फर्कियो।
बिरामी भने मंगलबार सिलादीकै स्थानीयकोमा बसे । बुधबार बिहान बर्षा अलि कम भएपछि उनै बिरामी बोकेर एम्बलेन्स सिलादीबाट हिड्यो । घमिर खोला तरेपनि रोदी खोलाको बीचमा एम्बुलेन्स फस्यो । खोलाबाट पानी पसेर एम्बलेन्समा समस्या देखिएपछि स्थानीय र सुरक्षाकर्मीको सहयोगमा एम्बलेन्सलाई खोलाबाहिर निकालेको मालिका गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्तराज भुसालले जानकारी दिए ।
अहिले झण्डै ३० घण्टाको प्रयासपछि बिरामीलाई तम्घास अस्पताल ल्याइएको छ। मालिका गाउँपालिकाले डोजरको माध्यमबाट ठाउँठाउँका पहिरो हटाएर खोलामा छट राखेर एम्बुलेन्समै बिरामी तम्घास पठाएको हो । उपचारपछि बिरामीको स्वास्थ्य अवस्था भने सामान्य बन्दै गएको छ। घमिरबाट आउने बिरामी मात्र होइन, अहिले जिल्लाका अधिकाशं ठाउँको हालत यस्तै छ।
तम्घासबाट सिमलटारीसम्म २३ किलोमिटर बाटो पिच गरिएको छ । पहिले तम्घास–सिमलटारी सडकअन्तरगत पर्ने उक्त सडक अहिले मदन भण्डारी राजमार्गअन्तरगत पर्छ । तर उक्त सडकको बीच भागमा पर्ने खोलामा पुल नबन्दा यात्रु भने मर्कामा परेका छन् । उक्त राजमार्गमा इस्मा गाउँपालिकाको गुर्बामा गुर्बा खोला, इस्मामै रोदी खोला, चौरासी नजिककैको खोला, हुलाके खोला र घमिर खोला पर्दछन् । तर अहिलेसम्म कुनै पनि खोलामा पुल छैनन् । यसरी राजमार्ग बनेपनि पुल नबन्दा एम्बुलेन्सभित्रै जिवन माग्न बिरामी बाध्य भएका छन् । उक्त राजमार्गमा गुर्बा खोलामा कल्भट बनेपनि गत बर्ष ठुलो बाढी आउँदा कल्भर्ट थुनियो । त्यस वरपरका घर डुबे।
स्थानीयले कल्भर्ट नै भत्काइदिए । तर कल्भर्ट भत्काएको एक बर्षसम्म त न भत्काउनेलाई कारवाही भयो, न त नयाँ कल्भटै नै बन्यो । जसले गर्दा अहिले त्यहाँको आवाज–जावत अहिले बन्द छ । बाँकी रहेका रोदी खोला, चौरासी नजिकैको खोला, हुलाके र घमिर खोलामा पुल नै छैनन् । त्यसैले गर्दा राजमार्ग बनेपनि पुल नबन्दा विपतमा राजमार्गको उपयोग हुन सकेको छैन। गुर्बादेखि नै पुल नबन्दा इस्माको हस्तिचौर, धुर्कोटको वस्तु, मदाने र मालिका गाउँपालिकाका नागरिक तम्घास आवत–जावत गर्न नसक्ने भएका छन् ।
मदन भण्डारी राजमार्ग गुल्मीका प्रमुख शशांक मिश्रले राजमार्गमा पर्ने खोलामध्ये चार ठाउँमा पुलको डिपिआर भइरहेको जानकारी दिए । गुर्बाखोलामा पानीको सतह कम हुँदाबित्तिकै हिमपाइप राखेर तत्काल यातायात सुचारु गर्ने तयारी भएको मिश्रले बताए । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बर्षायाम बढेकोले अत्यावश्यक काम नपरी यात्रा नगर्न आग्रह गरिन् । तत्कालको लागि पुल र आवश्यक वैकल्पिक व्यवस्था गर्न मदन भण्डारी राजमार्गलाई निर्देशन दिएको पनि शर्माले जानकारी दिइन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend