साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी असार ०३।
जिल्लाको धुर्कोट गाउँपालिकाका पाचँवटा वडा खरका छानामुक्त भएका छन् । मंगलबार गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले वाग्लालाई खरका छानामुक्त घोषणा गरेसँगै गाउँपालिकाका पाचँ वटा वडा खरका छानामुक्त घोषणा भएका हुन।
वाग्लाका गाउँपालिकाबाट लाभाम्बित हुने १४३ जनाले निःशुल्क रुपमा पाएको जस्ता पाताले घर छाएका छन् । आर्थिक बर्ष ७५/७६ देखि सुरु भएको जस्ता पाता लगाउने कार्यले तीन बर्षमा पूर्णता पाएको वडाध्यक्ष हिम प्रसाद पन्थीले बताए। त्यससँगै वाग्लामा जनता आवासतर्फका १३ वटा घर बनेका छन् भने २८ वटा सुरक्षित नागरिक आवास अन्तरगतका घर बनेका छन् ।
वाग्लाकै बडाचौरमा ढोडको पहिरोबाट विस्थापित १८ परिवारको लागि एकीकृत नमुना बस्ती बन्दैछ । यसरी वाग्लामा मात्रै करिब तीन करोड सुरक्षित आवासको क्षेत्रमा खर्च हुने वडाध्यक्ष पन्थीले जानकारी दिए । धुर्कोटमा यसभन्दा पहिले वडा नम्बर १ नयाँगाउँ, वडा नम्बर २ पिपलधारा, वडा नम्बर ४ जैसिथोक र वडा नम्बर ६ रजस्थल गरी चारवटा वडा खरका छानामुक्त भइसकेका छन् ।
स्थानीय तहको निर्वाचनपछि निर्वाचित प्रतिनिधिहरुको पहिलो बैठकले गाउँपालिकालाई खरका छानामुक्त घोषणा गर्ने निर्णय लिएको थियो । जसअन्तरगत अहिलेसम्म ६५० भन्दा बढी घरमा जस्ता लगाइएको छ। बाँकी दुईवटा वडाका घरहरुमा एक महिनासम्म जस्ता पाता लगाउने र स्थानीय सरकार गठन भएको चौथो बर्षको अवसरमा असार २८ गते गाउँपालिकालाई ‘खरका छानामुक्त गाउँपालिका’ घोषणा गर्ने गाउँपालिका अध्यक्ष पोखरेलले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend