साझा नेटवर्क
साझा नेटवर्क ,फागुन १,काठमाडौं । २५ वर्षअघि ‘जनयुद्ध’ सुरु भएको दिनको सम्झनामा आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले ‘जनयुद्ध’ दिवस मनाउँदै छ ।
२०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा तत्कालीन माओवादीहरुले जनयुद्ध दिवस मनाउँदै आएका छन् ।
तीन वर्षअघि तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि बनेको नयाँ दल नेकपाले यसअघि एकीकृत रुपमा ‘जनयुद्ध’ दिवस मनाएको थियो । तर, आज भने नेकपामा आएको विभाजनका कारण दाहाल–नेपाल समूहमात्रै ‘जनयुद्ध’ दिवस मनाउन लागेको छ
नयाँ जनवादी क्रान्तिको लक्ष्यसहित बन्दुक उठाएको माओवादीले २०६३ मंसिर ५ गते हतियार बिसाएको थियो । रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकी तथा सरकारी बैंकमा एकसाथ आक्रमण गरी सशस्त्र युद्ध सुरु भएको थियो । १० वर्षसम्म चलेको युद्धमा राज्य र विद्रोही दुवै पक्षबाट १३ हजारभन्दा धेरै व्यक्ति मारिएका थिए ।
हजारौँ व्यक्ति घाइते र अङ्गभङ्ग भएका थिए । विस्तृत शान्ति सम्झौतासँगै शान्तिपूर्ण राजनीतिमा आएको झण्डै १५ वर्ष बितिसक्दा पनि नेताहरुले गरेका बाचा पूरा नगरेको भन्दै आमनागरिक र कार्यकर्ता निराश बनेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend