साझा नेटवर्क
साझा नेटवर्क काठमाडौं माघ ११ ।
नेकपा प्रचण्ड–माधव समूहले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्काशन गरेको छ ।
आइतबार बसेको स्थायी कमिटीको बैठकले ओलीलाई साधारण सदस्यबाट हटाउने निर्णय गरेको हो । संसद विघटन लगतै प्रचण्ड–माधवको नेतृत्वमा नेकपाको केन्द्रीय कमिटीको बहुमत सदस्य बसेर ओलीलाई हटाएर माधवकुमार नेपाललाई अध्यक्ष चुनेको थियो ।
३ माघमा बसेको स्थायी कमिटीले संविधान, लोकतन्त्र, जनता र पार्टीविरुद्ध गतिविधि गरेकाले साधारण सदस्यबाट किन नहटाउने भनेर ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । नेताहरुले बालुवाटारमा पुगेर स्पष्टीकरण पत्र बुझाएका थिए । तर ओलीले जवाफ नदिएकाले केन्द्रीय कमिटीले दिएको अधिकार प्रयोग गरेर निस्काशन गर्ने निर्णय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
बैठकले पार्टी कार्यालय सचिवमा गंगालाल तुलाधरलाई थपेको छ भने उपसचिवमा मोहन गौतमलाई मनोनित गरेको छ । अर्का उपसचिव छिट्टै थपिने प्रवक्ता श्रेष्ठले बताए । स्थायी कमिटी बैठकले ओली समूहले विसर्जनवादी कोणबाट प्रहार गरेपनि पार्टीको एकीकृत स्वरुप कायमै रहेको निष्कर्ष निकालेको छ । साथै प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध सिंगो देश एक ढिक्का भएको र पार्टीले थालेको संघर्षप्रति कार्यकर्ता उत्साहित रहेको प्रचण्ड–माधव समूहको निष्कर्ष छ ।
बैठकमा अध्यक्ष र वरिष्ठ नेताहरुले संयुक्त संघर्षका लागि भइरहेको पहलबारे ब्रिफिङ गरेका थिए । संयुक्त संघर्षका लागि पहल जारी राख्ने र एक अर्काले चलाएको आन्दोलनलाई पूरकका रुपमा अगाडि बढाउने निर्णय भएको छ । भोलि नै संघर्ष समितिमार्फत आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने प्रवक्ता श्रेष्ठले बताए । श्रोत- अनलाइन खबर
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend