साझा नेटवर्क
काठमाडौं, पौष १७ ।
नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्मा अहिले पार्टी प्रवक्ता छन् । प्रवक्ताका रूपमा पार्टीका नीति र निर्णयबारे आमनागरिकलाई जानकारी दिनु उनको जिम्मेवारी हो। केही समयपछि भने शर्मा फरक भूमिकामा देखा पर्ने भएका छन्। देशका सामाजिक र मानवीय मुद्दामा केन्द्रीत रहेर बनाइएको टेलिभिजन कार्यक्रम ‘ऐना’ टिमले शर्मालाई प्रस्तोता बनाएको छ ।

समाजका विकृति, विसंगति, कुरीति, अन्याय, अत्याचार, महिला हिंसा र रुढीवादी परम्परामा केन्द्रीत रहेर होराइजन मिडिया प्रालिले ऐना कार्यक्रम तयार पारेको हो । ऐनाका प्रोजेक्ट हेड राधाकृष्ण धिताल (आरके) हुन्। आरेका भनाइमा सामजिक र मानवीय मुद्दामाथि यति गहिरोसँग यसअघि खासै कार्यक्रम बनेका छैनन् ।
‘सामाजिक र मानवीय मुद्दामाथि यति लगानी र गहिरो अध्ययन गरेर टिभीमा खासै कार्यक्रम बनाइएको थिएन। ऐना टिमले त्यो प्रयास गरेको छ,’ केही दिनअघि पत्रकार सम्मेलनमा उनले भनेका थिए । आफूहरूले कार्यक्रम प्रस्तोताको जिम्मेवारी शर्मालाई दिएको उनको भनाइ थियो।
‘हामीले लामो समयदेखि प्रस्तोता खोजेका थियौं। स्वर सानो होस् तर मिठास होस् भन्ने थियो। त्यही भएर पत्रकारिता नै सुरूवाती करिअर बनाउनुभएका शर्मालाई नै हामीले रोज्यौं,’ उनले भने । ऐना २६ भागको कार्यक्रम हो। माघ ७ गते ९ बजेदेखि कान्तिपुर टेलिभिजनबाट यो कार्यक्रम प्रशारण हुन्छ। ऐना टिममा विभिन्न क्षेत्रमा लामो अनुभव मानिस आवद्ध छन्।
अमनप्रताप अधिकारी निर्देशक छन्। जनक पौड्याल प्रोड्युसर हुन्। प्रकाश लामिछाने रिसर्च टिममा छन् भने स्क्रिप्ट राइटर आन्विका गिरी छन्। यो कार्यक्रम उत्पादनमा ग्लोबल आइएमई बैंक, विनोद चौधरीको चौधरी फाउन्डेशन र आइएनजी ग्रुपलगायतले सघाएको छ।
कांग्रेस प्रवक्ता रहेका र लामो समयदेखि राजनीतिमा क्रियाशील शर्मा नै किन ऐनाको प्रस्तोताका रूपमा देखा परे त ? यसबारे सेतोपाटीको प्रश्नमा शर्माले भने, ‘यो कांग्रेस प्रवक्ताले चलाउने कार्यक्रम होइन। यसमा राजनीतिक रंग हुन्न। म प्रस्तोता हुँ।’ देशमा राजनीतिक रूपान्तरण भएको, गणतन्त्र र संघीयता आइसके पनि सामाजिक विषयवस्तु भने छुटिरहेकाले ऐनामार्फत् उठाउन खोजेको उनले बताए।
‘म सानैदेखि राजनीतिमा लागें। यहाँसम्म आइपुगें। तर अहिले पनि स-साना बालबालिका होटलमा टेबुल पुछिरहेका छन्,’ शर्माले भने, ‘राजनीतिक र केही आर्थिक क्षेत्रमा विकास हुन थाल्यो तर सामाजिक विषयवस्तु सँगसँगै उठान भएको थिएन। राजनीतिले मात्रै पुगेन भनेर फरक कोणबाट पनि समाजलाई हेर्न खोजेको हुँ।’
ऐना एक कार्यक्रम मात्रै नभएर सामाजिक विसंगति अन्त्यको अभियान भएको शर्माले बताए। ‘म फरक तरिकाले आफैंले आफैंलाई प्रश्न गर्न पनि आएको छु। देशलाई ऐना देखाउन आएको छु,’ उनले भने, ‘आफैं आफ्नो अनुहार हेर्न पनि आएको छु। आफूलाई ऐना टिमले प्रस्तोताको भूमिका दिनुमा पुलको काम गर्न सक्ने भएर पनि हुन सक्ने तर्क उनले राखेका छन्।
‘राजनीतिक मानिस प्रस्तोता हुँदा जनतादेखि सत्ताको शिखरसम्म पुल बन्न सक्छ भन्ने होला,’ उनले भने, ‘यसले राजनीति गर्ने म आफैं पनि रूपान्तरण हुनुपर्छ। मजस्तै राजनीति गर्नेहरू पनि रूपान्तरण हुनुपर्छ भन्ने सन्देश दिन्छ। हरेक भागमा भिन्न विषयवस्तु उठाइएको बताउँदै शर्माले कार्यक्रमका निर्धारित भाग सकिएपछि पनि ऐना फाउन्डेशनमार्फत् यस्ता अभियानहरू निरन्तर चलिरहने जानकारी दिए।
ऐना कार्यक्रमका दौरानमा देशका विभिन्न ठाउँमा पुगेर फर्केपछि शर्मालाई राजनीतिले सामाजिक विषयवस्तुलाई पर डाँडामा छाडेको रहेछ भन्ने लागेको छ । पसिना बगिरहेको छ भन्नुले काम भइरहेको भन्ने अर्थ राख्दैन।
काम हुन त भारीले दूरी पार गर्यो कि गरेन भन्नेमा मानिन्छ,’ उनले भने, ‘हाम्रो राजनीति, प्रणाली, राज्य र दलले बोक्नै पर्ने सामाजिक विषयवस्तुका भारी डाँडामै छाडेर अगाडि बढेको रहेछ। विसंगति हटाउने गरी अब अभियान चलाउनुपर्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend