साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी कात्तिक २४ ।
गुल्मीको धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गामा सिढी निर्माण गरिएको छ । रेसुङ्गाको पोखरीदेखि यज्ञशाला, सिद्धबाबा मन्दिर, भ्यू टावर हुँदै पादुकानन्दसम्म जान सिढी निर्माण गरिएको हो । पोखरीदेखि यज्ञशालासम्म ६८० मिटर र त्यो भन्दा माथि पादुकानन्दसम्म तीन सय मिटर गरी कुल ९८० मिटर बाटो सिढी लगाएर निर्माण गरिएको छ ।

पोखरीदेखि यज्ञशालासम्म जाने सिढीको लागि मात्रै धुर्कोट वस्तु तथा वाग्लुङको गलकोट बाट ७५ लाखको ढुङ्गा ल्याई प्रयोग गरिएको छ । यज्ञशालासम्मको सिढी १२ फुट चौडा रहेको छ भने तीन लाइनको रेलिङ्ग बनाइएको छ । प्रत्येक रेलिङ्गको लाइनमा तीनओटा पाइप रहेको निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

प्रत्येक सिढीँको उचाई ६ इन्च र चौडाई १४ इन्च रहेको छ । सिढी बनाएर बचेको रकमबाट गरुणथानको मन्दिर बनाउन लागिएको छ । सिढीँको दुवैतर्फ नाली बनाइएको छ । अब छिट्टै नालीको दुवैपट्टीको साइडमा भ्यू टावरसम्म नै फुल र फलफुलका विरुवा रोप्ने योजना रहेको भण्डारीले बताए । सिढी निर्माण भएसँगै रेसुङ्गा पुग्ने पर्यटकलाई सहज भएको छ ।
‘पहिले पहिले धेरै हिलो हुने गर्दथ्यो, अहिले त सिढी बनेपछि चिटिक्क भएछ ।’ ६ बर्षपछि रेसुङ्गा घुम्न पुगेकी धुर्कोटकी कमला पोखरेलले भनिन्, ‘अब रेसुङ्गसम्म पुग्ने बाटो पनि पिच हुनुपर्छ ।’ तीन बर्ष अघि गुल्मी उद्योग बाणिज्य संघले १७ लाख ५० हजारको लागतमा सिढी निर्माण कार्य सुरु गरेको थियो ।
त्यसपछि ०७५/७६ सम्म लुम्बिनी प्रदेशको पर्यटन मन्त्रालयबाट पटक–पटक गरी ९५ लाख विनियोजन भयो । भने गत आर्थिक बर्षमा पनि ८० लाख विनियोजन भएको थियो । सरकारी इस्टिमेटअनुसार उक्त सिढीको कुल लागत दुई करोड ५० लाख हो । तर उपभोक्ता समितिमार्फत काम गर्दा कुल एक करोड ९२ लाख ५० हजारमा काम सकिएको निर्माण समितिका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend