logo
  • सोमबार, असोज १२ २०८३

जोखिमबीच खुले विद्यालय


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कार्तिक १९, वीरगन्ज — जाडोयाममा कोरोना संक्रमण फैलिन सक्ने भएकाले विशेष सावधानी अपनाउन विज्ञहरूले जोड दिइरहेका बेला वीरगन्जमा भने निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आउन थालेका छन् । यहाँका केही निजी विद्यालयले सादा पोसाक र केहीले स्कुल पोसाकमै विद्यार्थी बोलाएर पठनपाठन सुरु गरेका हुन् ।

विद्यालयले बस सेवा भने सुरु गरेका छैनन् । केहीले मूल गेटमा तापक्रम जाँच्ने र विद्यार्थीको शरीरमा औषधि छर्केर निर्मलीकरण गर्ने गरेका छन् ।

विद्यालय सञ्चालनमा आउन थालेपछि विद्यार्थीको स्वास्थ्यसँग खेलबाड भएको अभिभावकले आरोप लगाएका छन् । वीरगन्ज पानीट्यांकी निवासी रोशन लामिछानेले निजी विद्यालयले कक्षा सञ्चालनमा हतार गरेको बताए । ठाकुरराम बहुमुखी क्याम्पसका उपप्रध्यापकसमेत रहेका लामिछानेले कोरोना महामारीका बीच विद्यालय सञ्चालन गर्ने सञ्चालकमाथि सम्बन्धित निकायको ध्यानाकर्षण र कारबाहीको मागसमेत गरे । ‘पहिलेदेखि नै विद्यालय खोल्ने कुरा चलिरहेको थियो, यहाँका अधिकांश स्कुलमा नेताहरूकै लगानी र संरक्षण छ,’ उनले भने, ‘बच्चालाई केही भयो भने त्यसको जिम्मेवारी कसले लिन्छ ?’ अभिभावक पनि सचेत र सतर्क हुन आवश्यक रहेको उनको भनाइ छ ।

जनस्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुर भौतिक रूपमा विद्यार्थीलाई स्कुल नबोलाई कम्तीमा एक महिना अझै वैकल्पिक शिक्षा प्रणाली अपनाउनुपर्नेमा जोड दिन्छन् । ‘अहिले नै स्कुल खोल्न हतार गर्नु हुँदैन,’ उनले भने, ‘सुस्त रहेको संक्रमण चाडपर्व र जाडोयाममा वृद्धि हुने सम्भावना छ ।’ उनका अनुसार विद्यालय सञ्चालनमा ल्याउनु अगाडि संक्रमितका लागि सरकारी आइसोलेसन सेन्टर र निःशुल्क कोरोना परीक्षणको व्यवस्था मिलाउन आवश्यक छ ।

नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. निरजकुमार सिंहले महामारी नियन्त्रण र व्यवस्थापनको कुनै व्यवस्था नै नगरी स्कुल सञ्चालनको निर्णय गलत भएको बताए । ‘रुघा, खोकी र ज्वरो लागेर उपचारका लागि आउनेहरूमध्ये ४/५ जनामा दैनिक संक्रमण देखिरहेको छ,’ डा.सिंहले भने, ‘यस्तो बेला संक्रमितको व्यवस्थापन नगरी स्कुल खोल्नु हुँदैन ।’

गत आइतबार वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आगामी कात्तिक २३ भित्र सामुदायिक विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको छ । यसका लागि अभिभावकको अनुमति अनिवार्य गरिएको छ । साथै सामुदायिक विद्यालयको हकमा आवश्यक पर्ने मास्क, साबुन र थर्मोगन महानगरले व्यवस्था गर्ने तर सो प्राप्त नहुन्जेल विद्यालयले नै तयारी गर्ने निर्णय भएको छ ।

सरकारले रेडियो, टीभी, अनलाइन र अफलाइन जस्ता वैकल्पिक विधिबाट पठनपाठन सञ्चालन गर्न सिकाइ सहजीकरण निर्देशिका जारी गरे पनि वीरगन्जमा कार्यान्वयन हुन सकेको छैन । गत असोज पहिलो साता सामुदायिक विद्यालयले निर्देशिकाबमोजिम स्रोत साधनमा पहुँचको अवस्थाका आधारमा विद्यार्थीको पहिचान गरी वर्गीकरण गरेका थिए ।

‘सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी समूह, रेडियो, एफएम रेडियोमा पहुँच भएका, टेलिभिजनमा पहुँच भएका, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका, इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी समूहको वर्गीकरण गरी विद्यालयमार्फत स्थानीय तहलाई पठाइएको थियो,’ एक शिक्षकले भने, ‘निर्देशिकाबमोजिम कसरी विद्यार्थीको सिकाइ सहजीकरण गर्न सकिन्छ भनेर एक साता छलफल पनि भएको थियो, तर १० दिनभन्दा बढी कार्यान्वयन भएन ।’

महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले निर्देशिकाबमोजिम पठनपाठन जारी नै रहेको दाबी गरे । ‘स्कुल खोल्नेभन्दा पनि कक्षा ८ देखि नयाँ मोडालिटी लागू भएको हो, ट्रायलका लागि,’ उनले भने । कर्णका अनुसार अभिभावकले बच्चालाई स्कुल पठाउन नचाहेमा विद्यालयले घरमै पढाउने व्यवस्था गर्नुपर्नेछ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सरकारले भेला हुने गरी कुनै पनि गतिविधि नगर्न निर्णय गरेको बताए । ‘भौतिक रूपमै विद्यालयमा बोलाएर पठनपाठन गर्न पाइँदैन,’ उनले भने, ‘सरकारको जे निर्णय छ, त्यो कार्यान्वयन गराउँछौं ।’

साभार कान्तिपुर

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend