साझा नेटवर्क
साझा नेटवर्क,बुटवल असोज २० ।
प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव प्रदेश सभाको दुई तिहाइ बहुमतले पारित भएको छ ।
मंगलबार प्रदेशसभा बैठकले मतदान प्रक्रियामार्फत् नाम र राजधानी टुंगो लगाएको हो। प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेश राजधानी दाङको देउखुरीक्षेत्रको भालुवाङ बजार र नाम ‘लुम्बिनी’ बहुमतले पारित भएको हो।
प्रदेशको राजधानी देउखुरी तोक्ने प्रस्तावको पक्षमा ६९ मत परेको छ भने विपक्षमा १३ मत परेको छ। प्रदेशसभाका ८७ मध्ये बैठकमा मंगलबार ८२ सांसदमात्र सहभागी थिए। त्यसैगरी प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत र विपक्षमा चार मत परेको छ।
पदेश ५ को सरकारले दाङको देउखुरीको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जाडेर स्थायी राजधानी बनाउने र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव असोज १६ गते प्रदेशसभामा पेश गरेको थियो।
राजधानी कायम गर्न ८७ सांसदमध्ये ५८ जना भए मात्रै पुग्छ। प्रदेशसभामा उपस्थित ८३ सांसदमध्ये १३ जनाले मात्रै विपक्षमा मत दिए। जनमोर्चाले मत दिएको छैन्। नेपाली कांग्रेसका लुम्बिनी क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदले विपक्षमा मतदान गरे। पार्टीको ह्वीप उलंघन गर्दै राप्ती पारिका चार सांसदले पक्षमा मत दिएका हुन्।
समाजवादी पार्टीले राजधानीको पक्षमा मत दिएको छ। प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावसमेत पारित भएको छ। लुम्बिनीको पक्षमा ७९ मत परेको छ। विपक्षमा ४ मत मात्रै परेको छ।
जनता समाजवादी पार्टीले अवध–थारुवान–मतरात नामको पक्षमा मत दिने गरी संशोधन दर्ता गराए पनि लुम्बिनी क्षेत्रका दुई सांसदले लुम्बिनी नाममा मत दिएका हुन्।
सरकारले प्रदेशको राजधानी दाङको राप्ती र गडवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाले चर्चेको राप्ती किनारको समथर क्षेत्र (देउखुरी उपत्यका)लाई बनाउने प्रस्ताव गरेको थियो। यो क्षेत्रलाई भालुवाङका नामले चिनिन्छ।
प्रदेशको नाम भने बुद्ध जन्मस्थल लुम्बिनीबाट राखिएको छ। प्रदेश सरकार स्थापनाको पौने तीन वर्षपछि सरकारले राजधानी तोकेको हो। लुम्बिनी क्षेत्रका सडकमा आन्दोलन, निषेधाज्ञा र कडा सुरक्षा तैनाथीकाबीच प्रदेशले राजधानी र नाम पाएको छ।
यही विवादले प्रदेशसभाको सोमबारको बैठकमा वितण्डा मच्चिएको थियो । विपक्षी दल कांग्रेसका सांसदले कुर्सी तोडफोड गरेका थिए।
मंगलबारको बैठकमा मत विभाजनअघि बोल्दै प्रतिपक्षी दलका नेता विरेन्द्र कनौडियाले प्रदेशसभामा हिजो भएको घटनाप्रति दुःख व्यक्त गर्दै अब लोकतान्त्रिक प्रक्रियाबाट अघि बढ्नुपर्ने बताए। मन्त्री र कांग्रेका केही सांसदको आवेगले त्यो परिणाम आएको उनको भनाइ थियो।
नेता कनौडियाले राजधानीको विषय छापामार शैलीमा ल्याउनु नै गलत भएको बताए। यति महत्वपूर्ण विषयलाई साझा एजेण्डाका रुपमा ल्याउन सकिने सम्भावना हुँदाहुँदै सरकारले बहुमतको आधारमा पेलेर जाने नीति लिएको उनले बताए।
दाङ, कपिलवस्तु र रुपन्देही राजधानीका लागि उपयुक्त रहेको भन्दै यी तिनै क्षेत्रको विकासमा ध्यान दिनुपर्ने उनले बताए।
बैठकमा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले अखण्ड लुम्बिनीको आन्दोलनमा बुटवलले महत्वपूर्ण योगदान गरेको भन्दै अब बृहत्त लुम्बिनी बनाउन १२ जिल्ला जोडिने बताए।
सरकारले विशेष समितिको प्रतिवेदन अनुसार नै राजधानी प्रस्ताव गरिएको जिकिर उनले गरे। समितिले पहिलो दाङ, दोस्रोमा रुपन्देही र तेस्रोमा कपिलवस्तु राजधानी राख्न प्रस्ताव गरिएको उनले बताए। कुनै एक क्षेत्रको प्रतिनिधित्व गरेर अघि बढ्दा समृद्धि हासिल नहुने भन्दै १२ जिल्लाको समृद्धिका लागि सरकारले यो प्रस्ताव ल्याएको उनले बताए।
राजधानी र नामाकरण तय भएसँगै प्रदेशसभाका हिउदे अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख धर्मनाथ यादवले पठाएको पत्र सभामुख पूर्णबहादुर घर्तीले पढेर सुनाएका हुन्।
कूल ८७ सदस्य रहेको प्रदेश सभामा ८२ मत खसेको थियो ।तीमध्ये पक्षमा ६९ मत खसेको थियो भने विपक्षमा १३ मत खसेको थियो । जनता समाजवादी पार्टी नेपालका दुई र राष्ट्रिय जनमोर्चाका एक जनाले मतदानमा भाग लिएनन् । -अन्नपूर्ण पोष्ट
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend