साझा नेटवर्क
हुमाकान्त पोखरेल,गुल्मी भदौ १९ ।
गुल्मीको इस्मा गाउँपालिका र मुसिकोट नगरपालिकाका पहिरो पीडित परिवारलाई राहत प्रदान गरिएको छ ।
एकीकृत ग्रामीण विकास समाज गुल्मीको संयोजन तथा केयर नेपालको सहयोगमा बुधबार इस्माका ६० परिवार र बिहिबार मुसिकोटका १५ परिवारलाई राहत प्रदान गरिएको हो । सबै परिवारलाई त्रिपाल सहितको सेल्टर किट, म्याट्रिस, महिला तथा किशोरीहरुलाई आवश्यक सामग्रीसहितको डिगनिटी किट र कम्बल सहितको हाइजिन किट प्रदान गरिएको हो । जसअन्तरगत इस्मामा ३६ घर पूर्ण क्षति भएका, २१ जना हजार दिने आमा र तीनजना उच्च जोखिमका घरधुरीलाई राहत प्रदान गरिएको एकीकृत ग्रामीण विकास समाजअन्तरगत रहेको सु–आहारा गुल्मीका फिल्ड संयोजक राजेन्द्र विश्वकर्माले जानकारी दिए ।
गत असार १८ गते र साउन ६ गते गएको पहिरोले इस्मा गाउँपालिका वडा नम्बर १ मा ३३, वडा नम्बर २ मा तीन, वडा नम्बर ४ मा २२ तथा वडा नम्बर ६ मा दुई घर विस्थापित भएका थिए । विस्थापित परिवार कोहि अरुको घरमा, कोहि विद्यालय तथा कोहि अन्यत्रै अन्य ठाउँमा अस्थायी बसोबासको प्रबन्ध मिलाएका छन् । सोहि समयमा गएको पहिरोबाट प्रभावित बनेका मुसिकोट नगरपालिका १ का पाचँ र २ का १० घरलाई पनि राहत प्रदान गरिएको छ । जसअन्तरगत वडा नम्बर १ मा एकजना हजार दिने आमाको परिवार तथा चार घर उच्च जोखिममा रहेका छन् । भने वडा नम्बर २ मा चार घर हजार दिने आमाको परिवार, चार घर पूर्ण क्षति तथा दुई घर उच्च जोखिममा रहेका परिवारले राहत सामग्री पाएका छन् । सँस्थाले प्रत्येक परिवारलाई १० हजारका दरले इस्मामा ६ लाख र मुसिकोटमा एक लाख ५० हजार गरी कुल सात लाख ५० हजार बराबरको सामग्री प्रदान गरेको संस्थाका कार्यकारी निर्देशक कृष्ण विश्वकर्माले जानकारी दिए । राहत वितरण कार्यक्रममा बोल्दै एकीकृत ग्रामीण विकास समाजका अध्यक्ष हिरा एसीले सबैको सामुहिक प्रयासबाट इस्माको एकीकृत बस्ति र दीगो पुर्नवासको सम्भव भएकोले यस कार्यमा सबैले सहजिकरण गर्नुपर्ने बताए ।
इस्मा गाउँपालिका अध्यक्ष लक्षमण विष्टले राहत सामग्री प्रदान गरेकोमा संस्थालाई धन्यवाद् दिए । त्यसका साथै उनले गाउँपालिकाले पहिरो प्रभावितको लागि प्रदेश र संघीय सरकारसँग समन्वय गरिरहेकोले अबको केहि महिनाभित्रै दीगो पुर्नवासको लागि घर निर्माणको काम सुरु गरिने उनले प्रतिवद्धता जनाए । राहत वितरण कार्यक्रममा, इस्मा गाउँपालिका उपाध्यक्ष बिमला खत्री जिल्ला समन्वय समिति गुल्मीका सदस्य राममल्ल ठकुरी, पत्रकार हुमाकान्त पोखरेल, टोपलाल अर्याल, सम्बन्धित वडाका वडाध्यक्ष तथा वडासचिव, विभिन्न कर्मचारी, सरोकारवाला लगायतको उपस्थिति रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend