साझा नेटवर्क
काठमाडाैं – आन्तरिक विवाद समाधानका शक्ति बाँडफाँटको तयारी भैरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा अहिले मन्त्री हेरफेरको चर्चा चलेको छ।

विवाद समाधानका लागि गत शुक्रबार गठन भएको कार्यदलले प्रतिवेदन तयार पार्दै गर्दा संघदेखि प्रदेशसम्मका मन्त्री हेरफेरको तयारी चलिरहेको बताइएको छ ।
नेकपा प्रदेश ३ की इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई त शीर्ष तहबाटै फोन गरेर मन्त्रीका लागि तयार रहन भनिएको विषय समेत सार्वजनिक भएको छ ।
नेकपाभित्र जिम्मेवारी हेरफेर गरेर सन्तुलन मिलाउन समेत मन्त्रिमण्डल पुनर्गठन हुने बताइएको छ । त्यसका लागि २ वर्ष मन्त्री भैसकेका र राम्रो परफमेन्स देखाउन नसकेका झण्डै सातदेखि १० जना मन्त्री परिवर्तन हुने सम्भावना छ ।
अब बन्ने मन्त्रीको सूचीमा पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुषाल, देवेन्द्र पौडेल लगायत रहेको एक मन्त्रीले बताएका छन् ।
त्यसमध्ये रायमाझी चर्चा गृहमा, रावलको रक्षा, शर्माको अर्थमा दावी रहेको बताइएको छ । दुई अध्यक्षबीच असमझदारी भएको समयमा प्रधानमन्त्री केपी ओलीले एक पद छाड्नुपर्ने भन्दै नेताहरु पक्ष विपक्षमा लाग्दा पार्टी एकताको पक्षमा उभिएका रायमाझीको गृहमा संभावना धेरै रहेको बताइएको छ ।
नयाँ मन्त्रीमण्डलमा पूर्वउपप्रधानमन्त्रीहरु धेरै हुने सम्भावना रहेकोले सबैलाई उपप्रधान नदिने पूर्व उपप्रधानमन्त्री भइसकेका रायमाझीलाई गृह मन्त्रालय दिने सम्भावना रहेको स्रोतको दावी छ । यदी उपप्रधानमन्त्री भएको अबस्थामा भने रक्षा वा भौतिक पूर्वाधार मन्त्री हुने सम्भावना पनि रहेको बताइएको छ ।
त्यसैगरी पूर्वगृहमन्त्री रहेका शर्माको दावी यसपटक अर्थ मन्त्रीमा रहेको बताइएको छ । पार्टी एकता, विवाद समाधानमा भूमिका खेल्नुका साथै अघिल्लो सरकारमा दावी नगरेका र अहिलेको कार्यदलमा समेत रहेका शर्माको पनि अर्थमन्त्री हुने सम्भावना रहेको स्रोत बताउँछ ।
हालका मन्त्री प्रदीप ज्ञवाली, योगेश भट्टराई, घनश्याम भुषाल, वर्षमान पुन, शक्ति बस्नेत भने फेरवदलका क्रममा पनि रहिरहने सूचीमा पर्नेछन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend