साझा नेटवर्क
गुल्मी, साउन १९।
गुल्मीमा सामूहिक रक्षाबन्धन गरिएको छ । हिन्दू धर्मको संरक्षण तथा सामाजिक सद्भावका लागि सदरमुकाम तम्घासको बालमन्दिरमा सामूहिक रक्षाबन्धन गरिएको हो । दलित साझा मञ्च तथा विश्व हिन्दु महासंघ गुल्मीको आयोजनामा सामूहिक रक्षाबन्धन गरिएको थियो ।

पण्डित भीमकान्त पन्थीले पहिलो पटक रेसुङ्गा नगरपालिका निवासी ८३ वर्षकी जानकी विश्वकर्मा, ८० वर्षीय सुर्यबहादुर नेपाली र ७० वर्षीय दधिराम परियारलाई डोरो बाँधेर सामूहिक रक्षाबन्धन कार्यक्रम शुभारम्भ गरिएको थियो । त्यस अवशरमा युवा पण्डित पन्थीले दलित तथा गैरदलितलाई सामूहिकरुपमा सबैलाई डोरो बाँध्नु भएको थियो । उहाँले सामूहिक रुपमा बाँधिएको डोरोले सबै जातिलाई एकै ठाउँमा बाँध्ने काम गरेको बताउनुभयो । धर्ममा कुनै प्रकारको विभेद नरहेको बताउनुभयो ।
प्रदेश सांसद कलराज श्रेष्ठले सामाजिक कलङ्कका रुपमा रहेको जातीय विभेदको अन्त्य हुन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘हजारौँ वर्षदेखी हाम्रो समाजका मान्छेहरुलाई विभाजित ग¥र्यो । अपमान ग¥र्यो । मान्छेलाई अछुत बनायौँ ।’ जातीय विभेदको व्यवहारीक रुपमा अन्त्य गर्नु पर्ने उल्लेख गर्नुभयो । जिल्ला समन्व्य समितिका प्रमुख लक्ष्मण पराजुलीले विभेद पालेर समाज अघि बढ्न नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो ‘कुनै बेला यो विभेदलाई चुनाव जित्ने माध्यम पनि बनाईयो । बोलिमा एउटा र व्यवहारमा अर्को देखाएर हुँदैन् ।’ अब सुधार व्यक्ति–व्यक्तिबाट आवश्यक रहेको उल्लेख गर्नुभयो ।प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले परापूर्वकाल देखि राजारजौताहरुले शुरु गरेको प्रचलनका कारण सामाजिक विभेद्को रुपमा यसलाई लिएको बताउनुभयो । मुलुकी ऐनले पनि जातीय विभेदलाई गैरकानुनी मानी सकेको बताउँदै व्यवहारीक रुपमा यसको अन्त्यका लागि आवश्यक रहेको उल्लेख गर्नुभयो ।
नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले देशमा ठुला राजनैतिक परिवर्तन भएपनि जातीय विभेदको अन्त्य हुन नसकिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो ‘१०४ वर्षिय राणाशासनको अन्त्य ग¥र्योँ । २०४ वर्षे जरा गाडेर बसेको राजतन्त्रलाई अन्त्य ग¥र्योँ ।३० वर्षे पञ्चायतलाई ध्वस्त पा¥र्योँ । त्यो केवल राजनैतिक परिवर्तन थियो ।’ तर समाजमा सबैभन्दा ठुलो समस्यामा रहेको जातीय विभेदको नि अन्त्य गर्न सकेनौँ भन्दै प्रश्न समेत गर्नुभयो । समाज पछाडि परेको कारण नै जातीय विभेद हेको बताउनुभयो ।
सबै जातजाती, समुदायबीच सामाजिक सद्भावका लागि सामूहिक रक्षा बन्धनको आयोजना गरिएको विश्व हिन्दु महासंघ गुल्मीका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयो । विभेद् पालेर सामजिक सद्भाव र एकता कायम हुन नसक्ने अध्यक्ष भुसालले बताउनुभयो । एउटै धर्म अवलम्बन गर्दै आएका दलित समुदाय त्यही धर्म मान्ने गैर दलितबाट जातीय विभेद्मा परेकाले अर्को धर्ममा पलायन भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
भुसालले जातीय विभेदको अन्त्य र सामाजिक सद्भावका लागि एकता आवश्यक रहेको समेत बताउनुभयो । दलित साझा मञ्च गुल्मीका अध्यक्ष गणेश विश्वकर्माले हिन्दु धर्मको संरक्षण प्रवर्धन र सामाजिक सद्भावका लागि यस्ता प्रकारका सामाजिक कार्यले अन्तरघुलनलाई मद्दत पुराउने बताउनुभयो । नेपालीे समाजमा हजारौँ वर्षदेखि सामाजिक समस्याको रुपमा विभिन्न प्रकारका विभेदकारी प्रथा परम्परा संस्कार, संस्कृतिका प्रचलनहरु रहेका छन् ।
यस्ता विभेदकारी प्रचलनहरुको अन्त्यको लागि विगत लामो समयदेखि शिक्षा र चेतनाको जागरणसंगै विभिन्न अभियानहरु संचालन हुँदै आए । नेपालको विभिन्न कालखण्डमा नागरिक स्वतन्त्रता, समानता र मानव अधिकारका लागि भएका आन्दोलनको परिणाम स्वरुप राजनीतिक परिवर्तन पश्चात जातीय विभेद अन्त्यको लागि संविधान, ऐन कानूनमा विशेष व्यवस्था गरियो । नेपालमा कानूनतःजातीय विभेदको अन्त्य भइसक्यो ।
तर पनि विभेदकारी प्रचलनका अवशेषहरु व्यवहारिक रुपमा अन्त्य भइरहेका छैनन् ।सार्वजनिक सरोकारका क्षेत्रका रुपमा रहेका विभिन्न धार्मिक तथा साँस्कृतिक कार्यहरुमा समानता कायम हुन सकीरहेको छैन् । सामुहिक रक्षाबन्धन कार्यक्रमले साम्प्रदायिक एकतालाई समेत बल पुग्ने विश्वास व्यक्त गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend