logo
  • सोमबार, असोज १२ २०८३

शङकरनगर दुर्गादत्त माविको घुम्ती कक्षा


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कृष्ण पन्थी, बुटवल साउन १४ ।
सरकारले कोरोना भाइरसको संक्रमणको महामारी फैलिन नदिन भन्दै चैत्र ११ गतेदेखि देशभर लकडाउन घोषणा गर्नु पुर्व नै विद्यालयहरु बन्द गरिएका थिए । त्यसो त लकडाउनकै समयमै परीक्षाको नतिजा सार्वजनिक गरेपनि नयाँ शैक्षिक सत्रको लागि विद्यार्थीहरु विद्यालय आउने अवस्था भने भएन ।
कतिपय क्षेत्रमा सामुदायिक विद्यालमै क्वारेन्टाइन बनेपछि पठनपाठन सुरु हुने समय पनि अनिश्चित बनेको अवस्थामा विद्यार्थीहरुलाई अध्ययन गर्ने बानी नहटोस् भनेर विद्यालयले असार महिना देखि घुम्ती कक्षा शुरु गरेको श्री शङकरनगर दुर्गादत्त माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्डी प्रसाद पान्डेयले बताउनु भयो । चार महिना बितिसक्दा पनि कोरोनाको महामारी यथावत रहेपछि विद्यार्थीहरुको घर नजिकै पुगेर भएपनि पढाउनुपर्छ भनेर घुम्ती कक्षा संचालन गरेको विद्यालयले जनाएको छ।

हाल विद्यालयका ३० जना बढी शिक्षकहरु पालैपालो विभिन्न टोलमा पुगेर विद्यार्थीहरुलाई अध्यापन गराउँदै आएका छन् । देशभर कोरोनाका कारण सामुदायिक मात्रै होइन संस्थागत विद्यालयमा पनि तत्काल पठनपाठन गराउन सक्ने अवस्था छैन । केही संस्थागत विद्यालयहरुले अनलाइनमा कक्षा संचालन गरेको भएपनि सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई अनलाइन कक्षा प्रभावकारी नहुने देखिएपछि अनलाइन कक्षा भन्दा विद्यार्थीहरुलाई पायक पर्ने स्थानमा शिक्षकहरु आफै पुगेर अध्यापन गर्न शुरु गरिएको विद्यालयका प्रधानाध्यापक चण्डीप्रसाद पान्डेयले बताउनु भयो ।

कक्षा १ देखि १० सम्म अध्ययनरत करिब ९०० सय विद्यार्थीलाई बुद्धविहार, क्लबका भवन, मन्दिर, चौपारी, खुल्ला चौर, व्यक्तिका घरका आँगन लगायतमा दुरी कायम गरी पढाउने गरिएको शिक्षक कृष्ण पन्थीले बताउनु भयो । हरेक सोमबार, बुधबार र शुक्रबार गरी दुई-दुई दिनको अन्तरमा घुम्ती कक्षा संचालन भएपछि विद्यार्थीहरु आफूलाई पायक पर्ने स्थानमा आउन थालेका छन्। शिक्षक पन्थीले करिव ८० प्रतिशत विद्यार्थी कक्षामा सहभागी हुने गरेको बताउनु भयो।

विद्यालय जान नपाएपनि घरको नजिक र सिमित संख्यामा दुरी कायम गरेर पढाउँदा उनीहरु पनि खुसी भएको अर्का शिक्षक हरि बस्याल बताउनु हुन्छ। विद्यालयमा कार्यरत ३० जना शिक्षकहरु समूहमा विभाजन भई नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषय पढाइ हुदै आइरहेको छ।यसरि घुम्ती कक्षा शुरु भएपछि विद्यार्थीहरुमा पढ्नु पर्छ भन्ने धारणा बिकास भएको र विद्यार्थीहरु निकै जागरुक भएको शिक्षक प्रकाश लाल श्रेष्ठ बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend