logo
  • सोमबार, असोज १२ २०८३

वाणगंगाका ई-रिक्साहरु लकडाउनमा पनि निरन्तर संचालनमा


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सिर्जना आचार्य, कपिलवस्तु साउन ३ ।
लामो समय देखिको लकडाउनले गर्दा घरमै थन्किएका सार्वजनिक सवारी साधनहरु अहिले पनि संचालनमा आउन सकिरहेका छैनन् । तर कपिलवस्तुको वाणगंगा नगरपालिका भित्र संचालन हुने ई-रिक्साहरु लकडाउनका बिचमै पछिल्लो एक महिनादेखि निरन्तर संचालनमा आएका छन् ।

गत वर्षको चैत्र ११ देखि घरमा थन्किएका ई-रिक्साहरु लकडाउन सुरु भएको झण्डै ढाई महिनापछि यात्रु बोक्न थालेका थिए । तर तत्कालिन भाडा दर भन्दा अहिले तेब्बर रकम यात्रुबाट असुलीरहेका छन् । तर ई-रिक्सा व्यवसायी तथा चालकहरुको नगर समितिले ई-रिक्सा संचालनका लागि कुनै निर्देशन भने दिएको छैन ।

लकडाउन अघि ५० रुपैयाँमा सवारी बोक्ने सवारीधनीले अहिले एक जनाको तीन सय रुपैया सम्म असुल्ने गरेको स्वयम चालकहरु बताउँछन् । अनि लकडाउन यता वाणगंगा नगरपालिकामा ई-रिक्सा चालक तथा सवारी धनीले आफ्नै मनोमानी तवरले चलाईरहको वाणगंगा ई रिक्सा व्यवसायी समितिका अध्यक्ष केशव आचार्यले बताउनुभयो । यात्रुसँग चर्काे मुल्य असुलेको विषयमा समेत आफु जानकार नरहेको उहाँको भनाई छ ।

वातावरण मैत्री साधनको रुपमा मानिने ई-रिक्साहरु वाणगंगा नगरपालिमा करिब ५० देखि ६० को संख्यामा गुड्ने गर्दछन् । चार नम्बर जितपुर देखि गजेहडा, पिपरा, बोडगाउँ, त्यस्तै बनगाई देखि भलवाड, कोपवा, धैरेनीडाँडा लगाएतका मुख्य राजमार्ग देखि विभिन्न गाउँमा यात्रु बोक्ने गर्दछन् । तर सबिकको भाडा दर भन्दा दुई गुणा बढि रकम असुलेको नागरिकहरुको गुनासो छ ।

केही समय अघि वाणगंगा नगरपालिकाले नगरका ई-रिक्साहरुको व्यवस्थापन र भाडा दरमा एकरुपता ल्याउन भन्दै एक समिति समेत बनाएको थियो । तर सो समितिले समेत भाडा दर कायम गर्न नसकेको व्यवासायी समितिका अध्यक्ष आचार्यले बताउनुभयो । नगरपालिका पनि अहिले लकडाउनका बेला चलिरहेका ई-रिक्साका बारेमा बेखबर छ ।

नगरपालिकाले ई-रिक्साको भाडा दर कायम गर्ने भनिएपनि सो दर कायम हुन नसेकेका कारण व्यवसायीहरुले आफ्नै तवरले यात्रुबाट भाडा असुलिरहेको वाणगंगा ई-रिक्सा समितिका अध्यक्ष केशव आचार्यले बताउनुभयो । उता सरकारले अहिले पनि कोरोनाको जोखिम कायमै रहेको बताईरहेका बेला कपिलवस्तुमा पनि कोरोनाका बिरामी थपिरहेका छन् तर ई रिक्सामा यात्रुहरु खचाखच भई यात्रा गरिरहेका छन् ।

अर्काे तर्फ निजि सवारी साधन हुनेहरु आफ्नै साधनमा यात्रा गरिरहेको भए पनि निजि साधन नहुनेहरुका लागि चर्काे भाडा र ई-रिक्साको यात्रा बाध्यता पनि बनेको छ । ठूला सार्वजनिक सवारी साधन नचलिरहेका बेला वाणगंगामा ई रिक्साको यात्रा सुखद देखिए पनि चर्काे भाडादर प्रति कुनै पनि निकायको ध्यान जान नसकेको देखिएको छ ।

व्यवसायी समितिका अध्यक्ष आचार्यका अनुसार अहिले लकडाउन र कोभिड १९ को जोखिमका बिचमा केही ई-रिक्सा चालकहरु घरमै थन्किएका छन भने केहीले जोखिम मोलेरै भए पनि सवारी बोकीरहेका छन् । न व्यवासायी समितिले भाड दर कायम गरेको छ न नगरपालिकाले । अहिले ई रिक्सा चालकहरुले आफ्नै किसिमले भाडा असुलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend