साझा नेटवर्क
साझा नेटवर्क,पोखरा असार २३ ।
प्रजातन्त्र सेनानी स्व नारायणदत्त रानाभाटकी धर्मपत्नी, नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवम् पूर्वसभामुख तारानाथ रानाभाट र कास्की कांग्रेस सचिव देवेन्द्र रानाभाटलाई मातृशोक परेको छ ।
लामो समयदेखि बिरामी रहेकी एक सय वर्षीय खिमकुमारी रानाभाटको आज बिहान पोखरा महानगरपालिका–२६ स्थित आफ्नै निवासमा निधन भएको हो । उनका चार छोरा र दुई छोरी छन् ।
स्व. रानाभाटको आजै सेती नदी किनारमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमाथि गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, कास्की कांग्रेसका सभापति कृष्ण केसी, पूर्वमन्त्री यज्ञबहादुर थापा, नेता सोभियतबहादुर अधिकारी, महासमिति सदस्य गिरिराज गौतम लगायतले नेपाली कांग्रेसको झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गरेका थिए ।
यसैबीच नेपाली कांग्रेस कास्कीले शोक विज्ञप्ति प्रकाशित गरी रानाभाटको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टीका जिल्ला सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ । रासस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend