साझा नेटवर्क
काठमाडौं, असार २२ ।
नेपाली कांग्रेसले केन्द्रीय महाधिवेशन पूर्व निर्धारित समयमै गर्नेगरी महाधिवेशनको नयाँ तालिका बनाएको छ। केन्द्रीय समितिको बैठकले पूर्वघोषित फागुन ७ देखि १० सम्म महाधिवेशन गर्ने निर्णयलाई कायम राख्दै तल्लो तहको अधिवेशन कार्यतालिका परिवर्तन गरेको छ। संघीय संरचनाअनुसारको संगठन निर्माणको कार्य अन्तिम रुपमा पुर्याउन नसकेको निर्वाचन समितिलाई समायोजनको कार्य सक्न साउन १० सम्मको समय दिइएको छ।

यसअघि उक्त समितिलाई समायोजनको लागि अन्तिम समय असार मसान्तसम्म तोकिएको थियो । केन्द्रीय समितिको बैठकले कोभिड १९ ले प्रभावित बनाएको कार्यतालिकालाई परिवर्तन गरेको हो। फागुन १६ देखि कार्यान्वयन हुनेगरी क्रियाशील सदस्यता वितरण र नवीकरणको समय तोकिएको थियो।
उक्त कार्यतालिका परिवर्तन गरी साउन १० पछि क्रियाशील सदस्यता नवीकरण र वितरण गर्ने केन्द्रीय सदस्य डीला संग्रौलाले जानकारी गराइन् । वडा, स्थानीय तह, जिल्ला, प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रको अधिवेशन पुस महिनाभर सक्ने जनाइएको छ। पुस ७ मा देशभरका वडा अधिवेशन, स्थानीय तहका गाउँ/नगरको पुस ८ मा अधिवेशन हुने भएको छ।
प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रको पुस ११ मा, प्रतिनिधि सभा सदस्य एक निर्वाचन क्षेत्र रहेका जिल्लामा पुस १३ मा अधिवेशन गर्ने कार्यतालिका बनाइएको छ। एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा निर्वाचन क्षेत्रमा पुस १६ मा अधिवेशन हुने भएको छ । प्रादेशिक अधिवेशन माघ ६ मा हुनेगरी कार्यतालिका बनाइएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend