logo
  • शुक्रबार, असोज ९ २०८३

प्रधानमन्त्रीको प्रस्तावलाई कांग्रेसले रमाइलोको रुपमा हेर्दै


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाण्डाै, असार २२।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै पनि परिस्थितिमा यो कार्यकालमा सरकारमा सहभागी नहुने प्रष्ट पारेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद र प्रतिपक्षी दलका नेताहरुसँग बाक्लिएको भेटघाटको सन्दर्भमा कांग्रेसले कुनै पनि हालतमा अहिले सरकारमा सहभागी नहुने प्रष्ट पारेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेकपाका अन्य नेता र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटपछि भइरहेका अड्कलबाजीका बीच कांग्रेसले कुनै पनि हालतमा सरकारमा सहभागी नहुने प्रष्ट पारेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यो या त्यो परिस्थिति उत्पन्न भए पनि अहिलेको कार्यकाल चलाउने मानसिकताले कांग्रेस सिंहदरबार नछिर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सभापति देउवासँगको भेटमा विभिन्न ‘अफर’ गरेको भन्ने सन्दर्भमा उहाँले भन्नुभयो, ‘यो या त्यो परिस्थिति उत्पन्न भए पनि यो कार्यकाल माग राखेर सिंहदरबार जाने कुरा बेग्लै छ । तर मन्त्रालय चलाउने मानसिकताले जाने छैनौँ । उहाँले अगाडि भन्नुभयो, ‘प्रधानमन्त्रीका राम्रा प्रस्तावलाई हामीले रमाइलोका रुपमा हेरिरहेका छौँ ।

प्रधानमन्त्रीले देउवा नै कांग्रेसको अन्तिम प्रधानमन्त्री हुन्, कांग्रेसका दिन अब गए भनेर दिएका अलोकतान्त्रिक अभिव्यक्ति पनि छन् तर त्यसमा पनि हामीले कुनै कडा प्रतिक्रिया दिएनौँ । तर अहिले गुलियो प्रस्ताव आए पनि हामी लहसिने अवस्थामा छैनौँ किनकि जनताले हामीलाई पाँच वर्ष प्रतिपक्षमा बस्न म्याण्डेट दिएका छन् ।’

कांग्रेस सरकारमा जान लाग्यो कि भन्ने आशङ्कामा नरहन उहाँले पार्टीका कार्यकर्ताहरुलाई समेत आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओली र सुवास नेम्वाङले मात्रै नभएर नेकपाका अन्य नेताहरुले पनि देउवासँग भेटघाट गरे पनि पार्टीभित्रको आन्तरिक द्वन्द्वमा कांग्रेस यो वा त्यो पक्षमा उभिन लाग्यो कि भन्ने खालको आफ्नो नेतृत्वबाट आएको विषयलाई भ्रमका रुपमा नलिन नेकपा नेताहरुलाई उहाँले आग्रह गर्नुभयो ।

प्रवक्ता शर्माले नेपाली कांग्रेसले छिमेकीको धुरी टुटेर आफ्नो पर्खाल अग्लो होस् भन्ने मान्यता नराख्ने पनि बताउनुभयो । जनताले पाँच वर्षका लागि दिएको म्याण्डेटलाई जिम्मेवार प्रतिपक्षको रुपमा घनिभूत ढङ्गले निर्वाह गर्ने उहाँले बताउनुभयो । सरकारले गरेका राम्रा कामहरुको समर्थन र कमजोरी गर्दा औँला उठाउनुपर्छ भन्ने मान्यता कांग्रेसले राख्ने उहाँले बताउनुभयो ।

संसद् अधिवेशन अन्त्य हुनुभन्दा एकदिन अगाडि सभापति देउवासँग भेट भए पनि त्यो विषयमा कुनै पूर्वसूचना प्रधानमन्त्रीले नदिएको उहाँले बताउनुभयो । विधि र प्रचलित मान्यताअनुसार अधिवेशन अन्त्यको जानकारी प्रतिपक्षी दल, सभामुख राष्ट्रिय सभाका अध्यक्षलाई हुनुपर्ने भए पनि त्यस्तो नभएको उहाँले बताउनुभयो । उहाँले राष्ट्रपतिलाई संस्थाहरुको रुपमा नभएर व्यक्तिको रुपमा लिएर त्यसको गरिमा गिराउने काम भइरहेको बताउनुभयो ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीका नेताहरुले महाधिवेशनको कार्यतालिकालगायत पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा पनि आफ्ना विचारहरु राखिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend