logo
  • सोमबार, असोज १२ २०८३

तिलोत्तमामा थप एक हजार स्टोनियाका विरुवा रोपिए


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

 

रुपन्देही, असार २१ । तिलोत्तमा नगरपालिकाले वडा नं. ११ र १२ मा पर्ने भूपू सैनिक–कान्छीबजार सडकको दुवैतर्फ आइतबार वृक्षारोपण गरेको छ । विश्व वातावरण दिवस–२०७७ तथा तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिले ३ वर्ष कार्यकाल पुरा गरेको अवसरमा वृक्षारोपण गरिएको हो ।

२०७४ को स्थानीय तह निर्वाचनबाट निर्वाचित तिलोत्तमाका जनप्रतिनिधिहरुले २०७४ असार २१ गते पदबहाली गर्नु भएको थियो । सोही दिनको अवसर पारेर नगरपालिकाका जनप्रतिनिधिहरुले हरेक वर्ष वृक्षारोपण गर्दै आउनु भएको छ ।

आइतबार तिलोत्तमा वडा नं. ११ को रोहिणी पुलदेखि वडा नंं १२ को मोहनाजोतसम्मको पक्की सडकको दुबैतर्फ स्टोनिया जातका झण्डै एक हजार बिरुवा रोपिएको हो । युएनडिपी, नमूना एकीकृत विकास परिषद्, र जनउत्थान साकोससँगको सहकार्यमा गरिएको वृक्षरोपण कार्यक्रममा जनप्रतिनिधिका साथै राजनीतिक दल, विभिन्न संघ–संस्था, टोल विकास संस्था, क्लव, आमा समूहका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

वृक्षारोपण सुभारम्भ गर्दै नगरप्रमुख बासुदेव घिमिरेले तिलोत्तमाले नगरलाई हरियालीयुक्त, स्वच्छ र हराभरा बनाउने उद्देश्यले ’ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा’ नारा अंगिकार गरेर बृक्षारोपण र हरियाली प्रवद्र्धनलाई प्राथमिकता दिएको बताउनुभयो ।

उहाँले रोपिएको बिरुवा हुर्काउन स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने बताउँदै रोपिएका बिरुवाको भविष्यमा गर्नुपर्ने हेरचाहमा समेतमा सबैको ध्यान पुग्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो घरआँगन, खाली भू–भाग तथा उपयुक्त स्थानमा फलफूल तथा वनस्पतिका बिरुवा रोप्न नगरका बासिन्दालाई आग्रह समेत गर्नुभयो ।

नगर उपप्रमुख जगेश्वरीदेवी चौधरीले वातावरण संरक्षणका लागि नगरपालिकाले वृक्षारोपणलाई हरेक वर्ष प्राथमिकतामा राखेको उल्लेख गर्दै नगरबासीलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा पनि वितरण गर्ने गरेको जानकारी दिनुभयो । वृक्षारोपणसँगै बिरुवाको संरक्षण महत्वपूर्ण हुने भएकाले हरेक घर र समुदायले बिरुवाको संरक्षणमा चासो दिनुपर्ने उहाँको भनाइ छ ।

यूएनडीपीका प्रतिनिधि सुदिप अर्यालले तिलोत्तमाले वातावरण संरक्षणका क्षेत्रमा गरेको काम सराहनीय रहेकाले बृक्षारोपण कार्यक्रममा नगरपालिकासँग सहकार्य गरेको स्पष्ट पार्नुभयो । सो अवसरमा नेकपा तिलोत्तमा नगर सचिव लक्ष्मण खनाल, नेपाली काँग्रेस नगर सभापति हरिलाल पाण्डे, नमूना एकीकृत विकास परिषद् तथा जनउत्थान सहकारीकी अध्यक्ष ज्ञानु पौड्याल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले जलवायू परिवर्तनका असर कम गर्न वातावरण संरक्षणका लागि वृक्षारोपणलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

नियमित सरसफाइ र हरियाली प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्दै आएको तिलोत्तमा नगरपालिकाले बुद्ध सर्किट र सिक्सलेन सडकमा समेत स्टोनियाका विरुवा रोपेको छ । नगरपालिकाले जन्मदिनमा कम्तीमा एउटा बिरुवा रोपौं भन्ने अभियानसमेत सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend