logo
  • सोमबार, असोज १२ २०८३

हजारौं साथीसङ्गी र थुप्रै आफन्तलाई रुवाएर गयौ छबि तिमी….


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

झमक्क साँझ परेको थियो, म बुटवलबाट फकेर मेरो डेराबाहिरको पिंडीमा बसेर पसिना पुछ्दै थिए । मोबाईलमा म्यासेजको घण्टी बज्यो । त्यो म्यासेज फेसबुक म्यासेन्जरबाट आएको थियो । म्यासेज पठाउने व्यक्ति वैदेशिक रोजगारीमा रहेका मित्र सुरज थापा थिए । जुन म्यासेजमा तिम्रो सुन्दर फोटोमा ओभरराईट गरि हार्दिक श्रदान्जली लेखिएको थियो । म एकछिन हेरेको हेरै भए । मैले म्यासेजको रिप्पाई गर्दै साँचो हो त यो खबर ? भनेर सोधें प्रति उत्तरमा ति मित्रले हो रहेछ भने । मलाई विश्वास लागेन, अरु साथीहरुसँग सोधें फेसबुकमा सबैले राखेका छन् भने । फेसबुक खोलेर हेरें, अर्घाखाँचीको एउटा अनलाईनले अपत्यारिलो हेडलाइन राखेको रहेछ ।
जसमा लेखिएको थियो “कोरोनाको कारणले अस्ताए अर्घाखाँचीका एक युवा”, म स्तब्ध भएँ । आँखा रसाए, गला अवरुद्ध भयो । त्यो क्षणमा डेढ दशक लामो यात्रा आँधीबेहरी सरह भएर मेरो मानस पटलमा तिब्ररुपमा घुम्यो।

एकछिन पछि मलाई म गहिरो निद्रामा छु जस्तो लाग्यो । यताउता नियाँलें नराम्रो सपना देखेंकि जस्तो लाग्यो, भयंकर डरलाग्दो सपना जस्तो पनि, विउँझिंदा त्यस्तो नहोला भन्ठानें । तर अध्यारो झन गाढाहुँदै गयो । झसङ्ग भएँ । त्यहीं पिंडीमा राति एघार बजेसम्म टोलाएर बसेछु । सहनै नसकेर अलिकति आँसु पोखें अनि फेसबुकमा दुइवटा स्टाटस पोष्ट गरें । मेरो च्याटबक्समा थुप्रै तिमीलाई मायाँगर्नेहरुले सोधपुछ गर्न म्यासेज पठाइरहेका थिए तर म रिप्लाई गर्न सकिन, म कसरी तिमीलाई गुमाएको स्वीकार गर्न सक्थेंर ? अँह म विश्वास गर्न तयारनै थिएन ।

फेसबुकका भिक्ताहरु तिम्र्रै बलिष्ठ र सुन्दर तस्वीरहरुले भरिएका थिए तर ति तस्वीरमाथि हार्दिक श्रदान्जली लेखिएको थियो ।
भाई तिमीलाई म फेसबुकको भित्तामा भरिएको सफलताको उचाँई छोएपछि देख्न चाहन्थें यस्तो अवस्थामा हैन ।
तिम्रोबारे कति समाचार बनाएँ, उदयीमान मोडल, कलाकार र सर्जकको रुपमा तर आज तिम्रो मृत्युबारे लेख्न बस्दा अत्यन्तै कष्टकर मोडमा उभिएको पाएको छु आफुलाई किबोर्डमा औंला सरसरती चल्न सकेका छैनन्, आँखाका डिल भरिएकाछन् । एउटा मानवजातिको दुष्मनको रुपमा संसार भर आतंक मच्चाएर अदृष्यरुपमा फैलिएको ज्यानमारा भाइरसले तिमीमाथि घात ग¥यो भन्दा विश्वास गर्न सकेको छैन । तिमीजस्तो मानसिक र शारिरिकरुपमा बलिष्ठ युवालाई कसरी त्यति सानो भाईरसले जित्न सक्थ्यो र ? कतै तिम्रो सफलता देख्न नसकेर कसैले षड्यन्त्र गरी तिम्रो हत्या ग¥यो कि ? मैले तिमीसँग सहकार्य गर्दै आएका सँग स्पष्टीकरण माग्न बाँकी छ ।

 

पछिल्लो समय मेरो कार्यव्यस्तताले तिमीसँग कुरागर्न सकेको थिईन, रोग लाग्दा वा समस्या पर्दा विगतमा जस्तै मलाई भनेको भए आफुसक्दो गर्थे नीं । मैले त्यहाँ रहको दुतावास र अन्य सामाजिक संस्थासँग कुरा गरेर बचाउँथे नि तिमीलाई । म पनि कार्यव्यस्त भनेर उम्किन खोज्दा आज असल र आज्ञाकारी भाई गुमाएँ । अत्यन्तै पिंडा भएको छ भाई मलाई अझ तिम्रो जीवन संगीनी तिम्री प्राणप्यारी छोरीलाई कस्तो भयो होला ? तिमी विदेश गएपछि जन्मेको छोरालाई प्रत्यक्ष देख्न पाएनौं तिम्रो नाबालक छोरा टुहुरो भयो । एउटी असल जीवन संगीनीको सिउँदो पुछियो, बिच बाटोमै छोड्न बाध्य भयौ है ? सपरिवार लाई साथीसंगीलाई गहिरो घाउ बनाएर गयौं । मृत्यु जीवनको अन्तिम सत्य रहेछ कि अब तिमी हामी माझ रहनौं भन्ने स्वीकार्न बाध्य छौं ।

आज अतितका ति दिनहरु सम्झेर अत्यन्तै नमजा लागेको छ छबि । भारतको मथुरा नजिकै रहेको रिसर्टमा कामगर्दाका ती दिन कति रमाइला थिए है ? दिल्ली बसाई अझ बढी अविस्मरणीय थियो । हामीदुवैका सपरिवार अक्षरधाम मन्दिर घुम्नजादा आफ्नै स्कर्पियोमा लगेर गएका थियौं । ति सबै अब सम्झनामा मात्रेै रहने भए । तिमी बहुप्रतिभाशाली थियौं । घडि रेडियो मर्मतमा सिपालु, म बाट प्रेरित भएर कम्प्युटर सिक्यौ, ड्राइभिङ सिक्यौ,कुकिङ सिक्यौ, लोकदोहरी क्षेत्रमा राम्रो प्रगति हुँदै थियो । गित रचना गर्न अत्यन्तै सिपालु थियौं , गित लेखे पछि मलाइ पहिला पठाएर मात्रै रेकर्डको लागि पठाउने गर्दथ्योै ।

मैले तिम्रो सृजनाले बजार तताओस् भनेर अनलाईन र पत्रपत्रिकामा प्रकाशित गरिदिन्थें । अब लोकदोहोरी क्षेत्र , मोडलिङ , शव्दसंकलन तर्फको यात्रा पनि रोकियो । तिमीले बनाएका सबै योजना र देखेका सबै सपना वायुमण्डलमै बिलाए । तिमीले परिवार र आफन्तलाई दिएका बाचाहरु, देखाएका सपनाहरु सबै चक्नाचुर भए ।

 

तिमीले “दाई कुबेत आउने भए भिसा लगाईदिन्छु तपाईले त राम्रो कमाउन सक्नुहुन्छ” भन्थ्यौं म पनि नेपालमा खासै राम्रो गर्न नसकेकोले उतै आउने योजना बनाउँदै थिएँ । अब मैले पनि बैदेशिक रोजगारीमा कहिल्यै नजाने प्रण गर्दै बिट मारेर बस्नेछु । तिमीजस्तै हरेक बलिष्ठ युवाले दैनिक ज्यान गुमाएका छन् । तर तिम्रो मृत्यु अकल्पनीय भयो । न साथ पायौ, नकाध पायौ न त देशको माटोनै पायौ । देशकै माटोमा मर्ने बाचा सहितका गीतहरु (मेरी आमालगायतका) र टिकटक (दाई घर कहिले आउनुहुन्छ ? खै नानी सरकारले नेपाल नआइज भन्छ, कम्पनीले ड्युटी नआईज भन्छ, परिवारले घर आउनुस भन्छ…….)हरु हेर्दा आशु रोक्न सकिन छबि मैले । तिम्रो मृत्युको खबरले पुरै अर्घाखाँची नुवाकोट शोकमा डुबेको छ ।

वैदेशिक रोजगारीले हामी नेपालीलाई सुख र खुसी भन्दा पनि सकस या बाकस दियो तिमीलाई त त्यो पनि सम्भव भएन । मरुभूमीमा तिम्रो भौतिक शरिर र सपना गाडिए पनि तिम्रो आत्मा यही नेपाली आकाशमा घुमिरहेको छ । तिम्रो त्यो खुबसुरत अनुहार बलिष्ठ शरिर ,सालिनता, इमान्दारिता र आज्ञाकारीता तिम्रा आफन्त, साथीसङ्गी, शुभचिन्तक सबैले सदैव सम्झिरहने छन् । तिम्रा अपुरा सपनाहरु तिम्रा अभागी जीवन संगिनी र छोराछोरीले पुरा गर्नेछन् । अलविदा प्यारो भाई छविलाल पाण्डे ।

उही तिम्रो दाजु हिमशिखर
गुल्मी पिपलधारा

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend