साझा नेटवर्क
तिलोत्तमा, असार ९ । तिलोत्तमा नगरपालिकासँगको सहकार्यमा रोटरी क्लब अफ रुपन्देहीले वडा नं. १० सेमरा स्थित सेमराबजार स्वास्थ्यचौकीमा १ करोड १८ लाख ४७ हजार बराबरका स्वास्थ्य उपकरण प्रदान गरेको छ । रोटरी इन्टरनेशनलको ग्लोबल ग्राण्ट प्रोजेक्ट अन्तर्गत् स्वास्थ्य चौकीमा प्रसुति गृह सञ्चालनको लागि क्लवले मेडिकल उपकरण सहयोग हो । चिकित्सकीय सेवा प्रदान हुँदै आएको सेमराबजार स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर समेत सञ्चालनमा छ ।

रोटरीले प्रदान गरेको मेडिकल सामग्रीमा यु.एस.जी., एक्स–रे लगायतका शल्यक्रियासँग सम्बन्धित सामाग्रीहरु समेत छन् । नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरीको उपस्थितिमा क्लवका अध्यक्ष सुरज खत्रीले स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष व्यासमुुन थारुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा नगर प्रमुख घिमिरेले रोटरीबाट प्राप्त स्वास्थ्य उपकरणले स्वास्थ्य चौकीबाट प्रदान हुने सेवालाई थप गुणस्तरीय बनाउने बताउनुभयो । सेमराबजार स्वास्थ्य चौकीलाई १५ शैंयाको अस्पतालमा रुपान्तरण गर्ने नगरपालिकाको योजना रहेको बताउँदैे उहाँले रोटरीबाट प्राप्त सहयोगले आफूहरुमा उत्साह थपेको बताउनुभयो
। रोटरीबाट एक करोड बढीका मेडिकल सामग्री आउनु निकै महत्वपूर्ण उपलब्धी भएको बताउँदै उहाँले सेवा प्रवाहको लागि नगरपालिकाले आवश्यक जनशक्तिलगायतको व्यवस्थापन गर्ने बताउनुभयो । त्यसैगरी नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले क्लबले गरेको सहयोगबाट नगरको दक्षिणी क्षेत्रका बासिन्दा सबैभन्दा बढी लाभान्वित हुने बताउनुभयो । क्लवका अध्यक्ष सुरज प्रसाद खत्रीले रोटरीका ६ वटा क्षेत्र अन्तर्गत् स्वास्थ्यमा सहयोग पुुर्याउने उद्देश्यले गुुणस्तरीय स्वास्थ्य सेवाका लागि टाढा जानुपर्ने तिलोत्तमाको दक्षिणी क्षेत्रका बासिन्दाको बाध्यता अन्त्य गर्न स्वास्थ्य चौकीलाई उपकरणहरु सहयोग गरिएको बताउनुभयो ।
कार्यक्रममा रोटरी क्लब अफ रुपन्देही वर्ष २०२०–२१ का अध्यक्ष गौतम भुसालले ८ वर्षदेअघि तिलोत्तमालाई कार्यक्षेत्र बनाएर स्थापित क्लबले विभिन्न सामाजिक क्रियाकलाप गर्दै आइरहेकोमा आगामी वर्ष स्वास्थ्य चौकीमैं सर्पदंश उपचार केन्द्र निर्माण गर्ने योजना रहेको बताउनुभयो । कार्यक्रममा वडाध्यक्ष व्यासमुन थारु, स्थानीय समाजसेवी कृष्ण पौडेल, रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ जोन १६ का एसिस्टेन्ट गर्भनर इन्द्र रिसाल र क्लवका पूर्वअध्यक्ष गोपालप्रसाद न्यौपानेलगायतले आफ्ना भनाइ राख्नुभएको थियो । कोभिड–१९ का कारण कार्यक्रममा उपस्थित हुन असमर्थ रोटरी डिस्ट्रिक्ट अवार्ड एण्ड रिकन्लाइजेशन कमिटी चेयर नुगल आनन्द वैद्य, रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ डिस्ट्रिक्ट गर्भनर किरणलाल श्रेष्ठ र डिस्ट्रिक्ट रोटरी फाउण्डेशन कमिटी चेयर एम. के. झाले मोबाई फोनमार्फत आफ्ना भनाइ राख्नुभएको थियो । कार्यक्रममा ग्रेस फार्मेसीका मोहन चौधरीले स्वास्थ्य चौकीलाई मास्क, सेनिटाइजर र साबुन हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रम क्लबका सचिव सुुवोध भट्टराईको सञ्चालन भएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend