साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असार ६ ।
गुल्मी दरवार गाउँपालिकामा सुत्केरीमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ । शुक्रबार २१ बर्षकी महिला लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा सुत्केरी भएकी छन् । उनका श्रीमान भारतबाट जेठ ११ गते गाउँ आएका थिए । १४ दिन क्वारेन्टीनमा बसेपछि जेठ २७ गते आरडिटी नेगेटिभ आएकाले घर पठाइएको गुल्मी दरवार गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिए ।
तर श्रीमानको आरडिटी नेगेटिभ आएको ११ दिनपछि श्रीमतिमा संक्रमण देखिएकोले कन्ट्रायाक ट्रेसिङ्गका आधार परिवारका अन्य सदस्यको पिसिआर गरिने अर्यालले बताए । गर्भवति ती महिलालाई आरडिटी पोजेटिभ देखिएपछि दुई दिन अघि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा रिफर गरिएको थियो ।
लुम्बिनी मेडिकल कलेज प्रभासबाट स्वाब संकलन गरेर भैरहवा पठाएकोमा शनिबार पिसिआर रिर्पोट पोजेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । अहिलेसम्म गुल्मी दरवार गाउँपालिकामा २१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
४२ जनामा आरडिटी पोजेटिभ देखिएको छ । भने ४९ जनाको पिसिआर रिर्पोट आउन बाँकी रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले बताए । गुल्मीमा आजसम्म एक सय ७४ जनाको कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend