साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी असार २ ।
नेपाली काङ्ग्रेस इस्मा गाउँपालिकाका सभापति रामप्रसाद पन्थ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । बुधबार एक कार्यक्रमका बीच पन्थ नेकपामा प्रवेश गरेका हुन् । उनलाई नेपाल कम्युनिष्ट पार्टी गुल्मी जिल्ला कार्यालय सदस्य हिरा एसी, जिल्ला नेता गणेश श्रीपाली, इस्मा गाउँपालिका अध्यक्ष तथा नेकपाका जिल्ला सदस्य लक्षमण विष्ट, इस्मा गाउँपालिकाका उपाध्यक्ष तथा नेकपाका जिल्ला सदस्य बिमला खत्री लगायतले टिका लगाइदिएर नेकपामा प्रवेश गराएका हुन् ।

नेकपा प्रवेशपछि कार्यक्रममा बोल्दै पन्थले नेपाली काङ्ग्रेसले जनताका साना–साना समस्या पनि समाधान नगरेकोले आफुले पार्टी परिवर्तन गरेको बताए । गाउँदेखि केन्द्रसम्म काङ्ग्रेस कमजोर भएको, पार्टीभन्दा व्यक्ति बढी हावि भएको तथा नागरिकका समस्याप्रति काङ्ग्रेस उत्तरदायि नभएकोले आफुले काङ्ग्रेस पार्टी त्यागेको प्रतिक्रिया दिए ।
तर आफु कुनै व्यक्तिगत स्वार्थका लागि नभई सामाजिक हितका लागि नेकपामा प्रवेश गरेको बताए । नेपाल कम्युनिष्ट पार्टीको नीति, सिद्धान्त तथा कार्यशैलिबाट आफु प्रभावित भएको उनले बताए । नेकपाका जिल्ला कार्यालय सदस्य एसीले समृद्ध समाज निर्माणका लागि सबै नागरिक नेकपामा गोलबन्द हुनुपर्ने बताए ।
अर्का नेता श्रीपालीले समाजका अन्य युवा तथा बुद्धिजिविहरु नेकपामा प्रवेश भई समाज रुपान्तरणको अभियानमा सरिक हुनुपर्ने बताए । त्यसका साथै उनले नेपाल कम्युनिष्ट पार्टीले गरेका कामहरुलाई पनि प्रष्ट पारेका थिए । गाउँपालिका अध्यक्ष लक्षमण विष्टले गाउँपालिकाले गरेका कामबारे व्याख्या गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend