साझा नेटवर्क
अर्घाखाँची, जेष्ठ २० ।
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा कपिवस्तुबाट ल्याईएको तरकारी नष्ट गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल किसान महासंघ जिल्ला कमिटी अर्घाखाँचीले दोषीलाइ कारबाही र पीडितलाई क्षतिपूर्ति दिन माग गरेको छ । जिल्ला प्रशासनको निर्देशन बमाेजिम प्रहरीको संलग्नतामा किसानले उत्पादन गरेकाे तरकारी नष्ट गरेकाे भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल किसान महासंघ जिल्ला कमिटी अर्घाखाँचीबाट निन्दा एवम् भ्रत्सना गर्दै दोषी माथी कार्बाही र पीडितलाई क्षतिपूर्ति दिन माग गरेको हो ।

यस्तै कृषि मन्त्री घनश्याम भुसालले पनि जिल्ला प्रशासन कार्यालयले गरेको कार्य प्रति आपत्ति जनाएका छन् । जिल्ला सदरमुकाम सन्धिखर्कमा कोरोना संक्रमित जिल्ला कपिवस्तुबाट ल्याईएको तरकारी नष्ट गरेपछि प्रहरी प्रशासनको चर्को आलोचना तथा कपिलबस्तुका जनप्रतिनिधि र किसानहरु आक्रोशित भएका छन् ।

कोरोना संक्रमित जिल्ला कपिवस्तुबाट ल्याईएको तरकारी सदरमुकाम सन्धिखर्कको डम्पिङ साइड आटिकापाटा र फुदवाङको बिचमा पर्ने अउलाखोलामा प्रहरी टोलीले नष्ट गरेपछि प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीसँग स्पष्टीकरण मागेका छन् ।
प्रमुख जिल्ला अधिकारी पौडेलले प्रहरीले मनोमानी रुपमा नष्ट गरेपछि स्पष्टीकरण मागेका हुन् । प्रहरीले आफु खुसि गरेकाले तत्काल स्पष्टीकरण मागिएको पौडेलले बताए । कपिवस्तुबाट ल्याईएको तरकारी नष्ट गरेको समाचार मिडियामा प्रकासित भएलगतै प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले बाहिर जिल्लाबाट तरकारी ल्याउन राेकिएको र ल्याइएकाे तरकारी नष्ट नगरी जस्तो थियोे त्यस्तै फिर्ता गर्न आग्रह गरेको बताउनुभएको थियो ।
तरकारी नष्ट गरेपछि सामाजिक संजालमा प्रमुख जिल्ला अधिकारीको चर्को आलोचना भएको छ । भने कपिलबस्तुका जनप्रतिनिधी, किसानहरु आक्रोशित भएका छन् । उनिहरुले अर्घाखाँचीमा निर्यात बन्द गर्ने समेत चेतावनी दिएका छन् ।
सन्धिखर्कमा बिगत लामो समय देखि खाद्यान्न तथा तरकारी फलफूलहरु बिक्रीवितरण गर्दै आइरहेको पुस्पा स्टोरका संचालक किशोर बानियाँले छिमेकी जिल्ला कपिलवस्तुको बुद्धभुमी नगरपालिका वार्ड न. १० बाट बिक्रीवितरणको लागि ल्याइएको ५० हजार मुल्य बराबरको हरियो तरकारीहरु कोरोना संक्रमण हुन सक्ने भन्दै आईतबार दिउसो नस्ट गरिएको थियो ।
कपिलवस्तुबाट बिक्रीवितरणको लागि ल्याइएको करेला ५० किलो, खुर्सानी ५० किलो, बोडी ५० किलो, लौका १०० किलो, टमाटर ३०० किलो, घिरौला ५० किलो, भेन्डी ५० किलो प्रशासनको इजाजत बिना ल्याइएको र हरियो तरकारीमा कोरोना संक्रमण हुन सक्छ भन्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको निर्देशनमा खटिएको प्रहरी टोलीले सदरमुकामको डम्पिङ साइड लगेर नस्ट गरेको थियो । यसअघि जिल्लामा बसेको सर्वदलिय सर्बपक्षिय बैठकले कोरोना संक्रमित जिल्लाबाट तरकारी ल्याउँन नपाईने निर्णय गरिएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend