logo
  • मंगलबार, असोज १३ २०८३

अढाई सय राेपनी बाँझाे जग्गा खनेर कृषि कार्य गरिने


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

हुमाकान्त पाेखरेल,गुल्मी वैशाख ३१ ।

गुल्मीको धुर्कोट गाउँपालिकामा अढाई सय राेपनी बाँझाे जग्गा खनेर कृषि कार्य गरिने भएकाे छ । वडा नम्बर २ पिपलधारास्थित सिकर्मी डकर्मी बहुउद्देश्यीय सहकारी सँस्थाले २६० राेपनी बाँझो जग्गा खनेर कृषि कार्य गर्न लागेकाे हाे । उक्त जग्गालाई १५ वर्ष लिजमा लिएर खेती गर्न सुरु गरिएको छ ।

जसमध्ये दुई सय रोपनीमा ६ हजार कागती लगाउने, ३० रोपनीमा तरकारी र मसलेदार खेती, ३० रोपनीमा ओखर खेती गर्ने सहकारीले जनाएकाे छ । त्यस्तै ४ रोपनी जग्गामा गोठ तथा खोरको फर्म निर्माण गरि ५ भैसीँ र ६० बाख्राकाे व्यवसायीक पालन पालन सुरू गरिएको छ । फर्ममा १० भैसीँ र एक सय बाख्रा पुर्याउने लक्ष्य रहेको सहकारीका अध्यक्ष ज्ञान बहादुर विश्वकर्माले बताउनुभयो ।

गत पाैष महिनामा धुर्कोट गाउँपालिकामा दर्ता भएको पिपलधारा सिकर्मी डकर्मी बहुउद्धेश्य सहकारी संस्थामा ४२ जना सेयर सदस्य रहेको छन । बाँझो जग्गामा खेती गर्नका लागि सहकरीमा ५ जना व्यक्तिले ५० लाख बराबरको लगानी गरेका छन् । ६ हजार कागती खेती गर्नका लागि सहकारीले एक सय भन्दा बढी व्यक्तिहरुलाई दैनिक पाँच सय देखि एक हजार सम्मको ज्याला दिने गरि काम समेत दिइएको छ । खेतीयोग्य उक्त जग्गा विगत १० वर्ष देखि बाँझो रहेको थियाे ।

गाँउपालिकाकाे अनुदानले कृषि कर्ममा प्रेरणा

केही दिनअघि धुर्काेट गाउँपालिकाले दुई बर्षदेखि बाँझो रहेकाे जग्गा खनि खेती गरेमा अनुदान दिने निर्णय गरेकाे थियाे । उक्त निर्णयसँगै गाउँपालिकाका विभिन्न वडाहरूमा बाँझो जग्गा खन्ने कार्य भइरहेकाे छ । कृषि ज्ञान केन्द्र गुल्मीबाट अनुदान पाएको सहकारीले बाँझो जग्गामा खेती गरे वापत गाउँपालिकाको निर्णय अनुसार सुन्तला, कागती लगायतका अन्य फलफुलको खेती गरेवापत प्रति रोपनी ३ हजार र अन्नवाली, तरकारीवाली तथा मसलेदार खेती गरेमा ४ हजार दिइनेछ ।

सहकारीका अध्यक्ष विश्वकर्माले गाउँपालिकाकाे अनुदानले अाफुहरूलाई काममा थप हाैसला मिलेकाे बताउनुभयाे । गाउँपालिका अध्यक्ष भुपाल पाेखरेलले गाउँपालिकालाई खाध्य संकटबाट जाेगाउन बाँझाे जग्गा खन्नेलाई अनुदान दिने निर्णय गरिएकाे बताउनुभयाे । गाउँपालिकाले अनुदान दिने भएपछी बाँझो जग्गामा कागती, सुन्तला तथा बाख्रापालन, भैँसीपालन लगायतका अन्य कृषि कार्य तर्फ मानिसहरु उत्प्रेरित वनेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend