logo
  • मंगलबार, असोज १३ २०८३

ओझेलमा परेका प्रधान दाइ , खुला आकाशमुनी बित्छ रात ।


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

हिम शिखर ,  गुल्मी बैशाख ६ ।
हातमा बाँसुरी,कम्मरमा खुरपेटो अनि कोखिलामा रेडियो, पिठ्यँुमा छाता उनको प्रमुख विशेषता हो । प्रधान दाइको नामले परिचित उनलाई नचिन्ने त्यो भेगमा विरलै मान्छे होलान् । उनीहुन् गुल्मी जिल्ला धुर्कोट गाउँपालिका वडा नं २ पिपलधारा साविकको वडा नं ६ का हिराबहादुर वि.क ।
रनबन डुल्ने , गाईबस्तु चराउदै बासुरीको धुनले सारा बनपाखानै गुञ्जयमान बनाउने उनको दैनिकी हो । उनी स्वाभीमानी छन् । कसैसित हात थाप्दैनन् । कसैको मन दुखाउने काम आज सम्म गरेका छैनन् । मिहिनेत गरेरै आज सम्म गुजारा चलाए । हात पाखुरा बलिया छँदा विभिन्न काम गरे ।

कसैको खेतबारी बाँझो राख्न दिएनन् । गाईबाख्रा भोका राख्न दिएनन् । बलिया पाखुरा छँदा सबैले सोधे खोजे , आफ्ना बाँकी रहेका काम जती सखार पारे । ‘ प्रधान दाई आज हाम्रोमा काम छ आउनु है ’ , भन्दा कसैलाई टारेनन् , कसैलाई ढाटेनन् । इमान र इमान्दारीताका साथ काम गरे तर पाउनुपर्ने इनाम भने पाएनन् । आज उनलाई बासुरी बजाउनुस् न दाई भनेर देखे जति र भेटेजतिका केटाकेटी देखी बुढापाँकाले सम्म भन्छन् तर खाना खायौं कि नाई भनेर कसैले सोध्दैनन् । उनी घरबार विहीन एकल यात्रीहुन् । नत श्रीमती नत छोराछोरी , उनको सहरा भनेको नै बासुरी र रेडियो हुन् ।


तिनबिसे आठको वसन्त पार गरेका उनी उमेर छँदा भालेको डाँकोमा कहिले सुफल खोला, कहिले भेडाबारी ,बाझखेत ,कहिले खुर्पा खोला, कहिले उदीनाखोला भेटिने प्रधानदाई लाई भेई नभेई थियो । आजभोली दिनचर्या फेरिएका छन् तर विशेषता फेरिएको छैन । उही बासुरी, उही रेडियो अनि उही खुर्पेटो ।

देख्दा खाईलाग्दा, हेर्दा हसिला तर मनभित्र थुप्रै दुःख–कष्ट पिंडा र कुण्ठाले भरिएका भएपनि कसैसँग खुुलाएर पोख्दैनन् ।
उमेर पनि घर्कियो आजभोली उनलाई साह्रै समस्या परेको छ रे । उनको बारेमा वैदेशिक रोजगारीबाट फर्कनुभएका समाजसेवी दाजु गोविन्द सुनार ले फोन गरेर उनको समस्या बारे बताउदा मन छोयो । उनको बस्ने बास पहिले देखिनै थिएन , भाइ अंशमा पाएको सानो बारीको टुक्रा छ । जहाँ कामगर्न जान्थे सोही घरमा बास बस्थे । पछिल्लो समय कामगर्न छोडेपछि कसैले ओत तथा बास दिंदैनन् ।

विश्वभर महामारीको रुपमा फैलिएको क्रोरोना भाईरस र लकडाउन हुुनुभन्दा पहिला उनी छिमेकी दाईको गोठको तलामाथि रात कटाउँथे । खानभने उनले कहाँ बनाउछन् , कहाँ खान्छन् गाउँलेहरुलाई प्रायः थाहा हुँदैन । आफुसँग भएको त्यही बारीको टुक्रामा ७२ सालको भुकम्प भन्दा पहिले आफ्नै बलबुतामा सानो छाप्रो बनाएर छिमेकीहरुले पाल्न गाह्रो भएर दिएका एकदुई ओटा गाई पाल्ने गरेका थिए तर त्यो पनि हावाहुरी र वर्षाको पानीले भत्काइदिएपछि जिर्ण बनेको छ ।

सरकार द्धारा वितरण गरिने वृद्धभत्ता बाहेक अन्य सुविधा बाट बेलाबेला बन्चित हुँदैआएका छन् । भुकम्प पछि थुप्रै टाँठा बाठाले घर बनाए , भुक्तानी पाए । तर उनको बासस्थान बारे नत स्थानीय वासिन्दाको ध्यान गयो नत सरोकारवालाको, उनी ओझेलमा परे । अहिले लकडाउन भएपछि उनलाई कसैको घरमा जान बन्देज छ । बस्न पाउने त कुरै भएन । आजभोली उनको रात त्यही जिर्ण बनेको छाप्रोमा वित्ने गरेको कारुणिक अवस्था छ । वर्षा लाग्न थाल्यो , अब उनले त्यो खुला आकासमा कसरी रात कटाउलान् ? स्थानीय सरकारले अलिकति जस्तापाता र आवश्यक सहयोग गरिदिनेहो भने गाउँलेहरुको श्रमदानबाट उनलाई बस्ने बास बनाउन सकिन्थ्यो । बाँकी त हालको विषम परिस्थिति सामान्य भएपछि गासको जोहो आफैगर्थे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend