साझा नेटवर्क
टोपलाल अर्याल,गुल्मी बैशाख २ ।
गुल्मीमा नयाँ बर्षकै दिन बृद्ध दम्पतिले आत्महत्या गरेका छन् । त्यो पनि एउटै पासोमा । कालिगण्डकी गाउँपालिका ५ फोक्सिङ्गका ७० बर्षीय ओम बहादुर र उनकी श्रीमति ६९ की खिमकला सार्कीले सोमबार आत्महत्या गरेका हुन् । घर नजिकैको खनियाँको रुखमा ओम बहादुरले प्रयोग गर्ने गलबन्दीमा झुण्डिएको अवस्थामा दिउँसो फेला परेको वडाध्यक्ष थम्मनसिंह आलेले जानकारी दिए ।
दम्पतिको एक छोरा र तीन छोरी छन् । छोरा केहि दिन अघि मात्रै कुवेत गएका थिए । बुहारी र नातिनातिकना घरमै छन् । तर के कारण दुवै जनाले आत्महत्या गरे भन्ने कुरा केहि पत्ता नलागेको वडाध्यक्ष आलेले बताए । ‘नयाँ बर्षको लागि घरमै मासु काटेका छन्, दुवै जना मजदुर गर्ने मान्छे हुन,’ आलेले भने,‘ ७० बर्षको मान्छे किन झुण्डिए अचम्म परेका छौ ।’ यो घटनाले नयाँ बर्षकै दिन छिमेकनै शोकमा परेको स्थानीय खुम बहादुर परियारले बताए । उनले कहिलेकाँही दम्पतिमा मनमुटाब हुने सामान्य कुरा भए पनि घाँस काट्न गएका बुढाबुढीनै झुण्डिएपछि परिवारमा संन्नटा छाएको बताए ।
दम्पतिलेनै आत्म हत्या गरेको खबर पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरिक्षक चुरामणी पुनको नेतृत्वमा प्रहरी घटनास्थल पुगेको थियो । घटनाको मुचुल्का गरेर शब पोष्टमार्टमको लागि जुहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख राजेन्द्रसिंह खड्काले बताए । स्थानीयका अनुसार पहिलेबाट दम्पतिले पालैपाले आत्महत्या गर्ने कुरा गरिरहने गरेको खड्काले बताए । शबको पोष्टमार्टमपछि परिवारले दाहासंस्कार गर्ने उनले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend