साझा नेटवर्क
साझा नेटवर्क, धरान मंसिर १६ ।
निरन्तर मतान्तर बढाउँदै लगेपछि धरानमा कांग्रेसका कार्यकर्ताहरुले जुलुस नै निकाल्न थालेका छन्। ‘लालकिल्ला तोडियो, लोकतान्त्रिक शक्ति जिन्दावाद’ भन्दै कांग्रेस कार्यकर्ताहरु आधा मतगणना हुँदै गर्दा मतगणनास्थल अगाडि खुसियाली मनाउन थालिरहेका छन्।
५५ हजार ११ मतदान भएको धरानमा आधा मत गन्दै विजयत्सव मनाउन थालेका हुन्। २८ हजार ३ सय ४६ मत गणना हुँदा कांग्रेस उम्मेदवार तिलक राई ७ सय ५२ मतले अगाडि छन् ।
तिलक राईको १३ हजार ४ सय ४३ मत छ भने नेकपा उम्मेदवार प्रकाश राईले १२ हजार ६ सय ९१ मत पाएका छन्। वामपन्थीको पकड इलाका मानिएको धरानमा यो पटक कांग्रेसले निरन्तर मतान्तर बढाउन थालेपछि कार्यकर्ताहरु उत्साहित भएका छन्।
नेकपा कार्यकर्ताहरु निराश हुँदै गर्दा कांग्रेसका कार्यकर्ता भने मतगणनास्थलमा बढ्दै गएको देखिन्छ । तिलकको मत सुनाउँदा ताली पड्काउने र सिट्ठी बजाउनेको सङ्ख्या बढ्न थालेको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend