logo
  • शुक्रबार, असोज ९ २०८३

आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

०७२ असोज ३ गते संविधानसभाले तयार पारेको संविधान जारी गर्दै तत्कालीन राष्ट्रपति रामवरण यादव ।

काठमाडौं, असोज ३ ।
संविधानसभाबाट संविधान जारी भएको ४ वर्ष पूरा भएको छ । संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । दिवसका अवसरमा शुक्रबार संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ ।


२०७२ असोज ३ गते संविधानसभाले तयार पारेको संविधान जारी गर्दै तत्कालीन राष्ट्रपति रामवरण यादव ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ ।

समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने मूल समारोह समितिले जनाएको छ । त्यस्तै, सरकारी तथा निजी क्षेत्रहरूले पनि विभिन्न कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाउने तयारी गरेका छन् । ४ वर्षअघि ०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो ।

यद्यपि, जारी संविधान सर्वस्वीकार्य हुन सकेको छैन । सुरुदेखि नै संविधान विभेदकारी भएको भन्दै मधेसवादी, आदिवासी जनजाति लगायत रुष्ट छन् । यसका कतिपय प्रावधान विभेदकारी भएकाले संशोधन गर्न उनीहरूले माग गरेका छन् ।

तथापि, केही मधेसवादी दलमा भने विरोधाभाष देखिएको छ । संविधानको विरोध गरिरहेका उनीहरू यही संविधान कार्यान्वयनका लागि सरकारमा सहभागी भइरहेका छन् ।

सरकारले भव्य ढंगले संविधान दिवस मनाउने तयारी गरिरहँदा असन्तुष्ट समूह भने यसको विरोधमा देखिएका छन् । मधेसी दल तथा केही संगठनहरूले यसलाई कालो दिनका रूपमा मनाउने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend