साझा नेटवर्क
साझा नेटवर्क, बुटवल भदौ २२ ।
यस वर्षको सृजनशिल पत्रकारिता पुरस्कार २०७६ बागलुङमा रहेर सक्रिय पत्रकारिता गर्दे आउनुभएका रासस कर्मी राम थापा अविरललाई प्रदान गरिएको छ ।
बागलुङका पत्रकारद्वय सन्तोष क्षत्री र सिर्जना पन्तले आफ्नो विवाहमा हुने खर्च कटाएर आदर्श सञ्चार सहकारी संस्था बागलुङमा स्थापना गरेको सो कोषबाट राष्ट्रिय समाचार समितिका धौलागिरि संयोजक तथा नेपाल पत्रकार महासंघ बागलुङका सचिव राम थापा अविरललाई पुरस्कृत गरिएको हो । आदर्श सञ्चार सहकारीको १३ औ वार्षिक साधारणसभामा निःवर्तमान अध्यक्ष तथा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा तथा संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी अन्जुले पत्रकार अविरललाई लाई नगद पाँच हजार सहित दोसल्ला ओढाएर सम्मान प्रदान गर्नुभएको थियो ।
क्रियाशिलता, सिर्जनशिलता तथा निरन्तरता लगाएका आधारमा पुरस्कार छनोट समितिले यस बर्षको लागि करिब एक दशक देखि पत्रकारितामा सक्रिय अविरललार्ई प्रदान गर्ने निर्णय गरेको संस्थापक एवं नेपाल पत्रकार महासंघ बागलुङ शाखा कार्यसमिति सदस्य सिर्जना पन्तले बताउनुभयो । पुरस्कार ग्रहणपछि अविरलले पत्रकारिता क्षेत्रमा थप उत्साह र जिम्मेबारीबोध भएको बताउनुभयो ।
पत्रकार क्षत्री र पन्तले बिहेमा भोजभतेर नगरी आदर्श सञ्चार सहकारीको संयोजन औपचारिक कार्यक्रमका बीच २०७१ साल बैशाख १९ गते प्रगतिशिल विवाह गरेका थिए । २०७१ सालमा स्थापना गरिएको कोषबाट प्रत्येक बर्ष धौलागिरि अञ्चलमा कार्यरत एक पत्रकारलाई नगद सहित सम्मान गरिदै आएको छ ।
यस अगाडि दिल श्रीस (बागलुङ) , सन्तोष थापा (पर्वत) , सन्तोष गौतम (म्याग्दी ) र संगम घर्ती मगर ( बागलुङ) पुरस्कृत भै सक्नुभएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend