साझा नेटवर्क
महेश कार्की, बाजुरा भदौ १४ ।
बाजुराको जगन्नाथ गाउँपालिका वडा नं ५ की पशुपति साहिलाई प्रशुती बेथा शुरु भए पछि बुधवार प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी पुगिन । बुधवार प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी पुगेकी शाहीको प्रसुती बेथा शुरु भएको २४ घण्टा भन्दा बढी भए पनि प्रसुती प्रक्रिया भने शुरु भै सकेको थिएन ।

प्रसुती हुनु अघि हुने प्रक्रिया (सानो सुतक झरेको) भएको झण्डै १२÷१३ घण्टा हुदा सम्म पनि उनको यौनी खुलेको थिएन र बच्चा निश्कीन सकिरहेको थिएन । प्राथमिक स्वास्थ्य केन्द्रमा औजार उपकरण पनि नभएको र डाक्टर पनि नभएकाले प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख सन्तोष कुमार पण्डितले जोखिम मोल्न चाहेनन् र शाहीलाई नेपालगंज रिफर गरे ।
शाहीे पहिलो पटकको गर्भवति भएको र स्वास्थ्य केन्द्रमा औजार उपकरण पनि थिएन र आफन्त पनि आत्तिएकाले हामीले नेपालगंज लैजान भन्यौ र उहाँहरुले त्यहि अनुसार तयारी गर्नुभयो, निमित्त प्रमुख पण्डितले बताए । उनले प्रसुतीको अप्रेसन गर्नु पर्ने अवस्थामा झन जोखिम हुने भन्दै रिफर गरेको बताए ।
प्राथमिक स्वास्थ्य केन्द्रले उनलाई रिफर गरे पछि छटपटिएका आफन्तले जहाज वा हेलिकप्टरको जोहो गर्नु पर्ने भयो । उनीहरुले तत्काल पहलका लागि सुदुरपश्चिम प्रदेश सरकार संग गुहार मागे भने अर्का तिर जहाँज समेत कुरिरहे ।
हेलिकप्टर चार्टरका लागि प्रक्रिया हुदै गर्दा भाग्य बस समिट यएरको जहाँज आयो र शाही बच्चा जन्माउनलागि नेपालगंज उडिन । त्यस्तै गत चैत्र १८ गते बाजुराको बुढीनन्दा नगरपालिका वडा नं तीन की सेतु लुवारलाई पनि जटिल प्रकारको प्रशुती बेथालागे पछि हवाई जहाँज चाटर गरेर उद्धार गरियो ।
आठ महिनाकी गर्भवति लुवारलाई जटिल प्रकारको स्वास्थ्य समस्या देखिए पछि सुदुरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जहाँज चाटर गरेर उनको उद्धार गरेको थियो । गर्भवती अवस्थाकी लुहारलाई प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार हुन नसकेपछि प्राथमिक स्वास्थ्य केन्द्रले रिफर गरेको थियो ।
गत फागुन २३ गते पनि बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं तीन जुकोटकी इन्द्रा कामीले प्रसुती गराउन जहाँज चढ्नु पर्ने वाध्यता आयो । ग्रामिण अल्ट्रा साउन्ड शिविरमा परीक्षण गराउदा कामीको गर्भमा दुईवटा बच्चा भएको पुष्टि भयो । उनको एउटा बच्चा सूल्टो र एउटा बच्चा उल्टो थियो, साल एउटा मात्र थियो ।
उनको प्रसुती गराउनका लागि अप्रेसन नै गराउनु पर्ने डाक्टरहरुको सुझाव थियो । केहि दिन देखि उनलाई असजिलो महशुस भए पछि परिवारले प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याए तर प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले यो जटिल प्रकारको समस्या भएको भन्दै उनलाई जिल्ला सदरमुकाम मार्तडी वा नेपालगंज लैजान भनेको थियो ।
सदरमुकाम जाने बाटो हिमपातले अवरुद्ध भए पछि कामी परिवार हवाई जहाजको महंगो भाडा तिरेर नेपालगंज लिन तयार भए र विहिवार अपरान्न समिट एयरको विमानमार्फत कामीलाई नेपालगंज लगियो र प्रसुती गराइयो । यी प्रतिनिधि घटना मात्र हुन । बाजुराको सवैभन्दा ठुलो अस्पताल जिल्ला अस्पताल हो ।
जिल्ला अस्पतालमा सामान्य अप्रेसन सम्मको उपचार सेवा उपलब्ध छ । तर जिल्लाका सवै नागरिकको पहुचमा जिल्ला अस्पताल नहुदा स्थानियले समस्या भोग्दै आएका छन । जिल्लाका दुर्गम गाउपालिका सम्म सडक सञ्जाल पुगेको छैन । पुगेका स्थानमा पनि बर्षायाममा यातायात चल्दैन । दुर्गम ठाउँबाट हिडेर जिल्ला अस्पताल सम्म पुग्दा कम्तीमा तीन-चार दिन लाग्छ ।
बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जटिल प्रकारको प्रसुती गराउनका लागि शल्यक्रिया द्वारा गरिने आकस्मीक प्रसुती सिइवएनसि सेवा शुरु नभएकाले समस्या भै रहेको स्वास्थ्यकर्मीले बताउने गरेका छन । स्वास्थ्यकर्मी लोकेन्द्र न्यौपानेले सिइवएनसि सेवा गरी नियमित रुपमा डाक्टरहरु उपलब्ध हुन सकेको खण्डमा बाजुराको कोल्टीबाट रिफर हुने घटनालाई ८० प्रतिशत कम गर्न सकिने बताए ।
सल्यक्रिया द्धारा गरिने आकस्मीक प्रसुती (सिइवएनसी) सेवा सुचारु भएको भए अप्रेसन गरेर बच्चा जन्माउन सकिन्थ्यो त्यो पनि छैन समस्या भै रहेको छ अहेव न्यौपानेको भनाई छ । परिवार कल्याण महाँसाखाले गत आर्थिक बर्षको असार देखि नै कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सिइवएनसी सेवाको सुरुवात गर्ने भनेको भए पनि हाल सम्म शुरु हुन सकिरहेको छैन ।
बुढीनन्दा नगरपालिकाका स्वास्थ्य संयोजक जसी विकले सिइवएनसी सेवाका लागि गत आर्थिक बर्षका लागि डक्टर नपाइएकाले समस्या भै रहेको बताएका छन । यस आर्थिक बर्षका लागि सो कार्यक्रम के हुन्छ भन्ने बारे हाल सम्म कुनै जानकारी नआएको उनले बताए ।
गत आर्थिक बर्षमा बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा प्रशुती हुन आएका २६९ जना आमाहरु मध्य १५ जनालाई जटिल अवस्था देखिएपछि स्वाथ्य केन्द्रले रिफर गरेको थियो । जसमध्य २ जनाले ज्यान समेत गुमाउनु परेको थियो ।
गत आर्थिक बर्ष देखि हाल सम्म करिव ६ जनालाई त सुदुरपश्चिम प्रदेश सरकारको सहयोगमा जहाँज र हेलिकप्टर चार्टर गरी उपचार गराइएको छ । बाजुरा लगायत हुम्ला र मुगु जिल्लाका स्थानियको समेत पाइक पर्ने भए पछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा विरामीको संख्या बर्षेनी बढ्ने गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend