साझा नेटवर्क
टोपलाल अर्याल, साउन २९ ।
केहि बर्ष पहिलेसम्म पानी परे अधिकांश गाउँमा गाडी पुग्दैनथे । कक्षा १० उर्तिण भएपछि सदरमुकाम नपुग्नुको बिकल्प थिएन् । धेरै गाउँ टुकीकै शाहारामा थिए ।
गाउँमा टाउको दुखे सिटामोल बाहेक अरु उपचार पाइदैन्थ्यो । अहिले हरेक गाउँमा बस कुद्छन् । बिजुली नपुगेका बस्ती कम छन् । बिशेषज्ञ सहितका स्वास्थ्य शिविर घर छेउँमै हुन्छन्। खानेपानीका कारण काकाकुल गाउँहरुमा एक घर एक धारा संचालन भइरहेका छन् । अंग्रेजी माध्यममा धेरै बिद्यालयले अध्ययन गराउँदै आएका छन् । तर गाउँबाट शहर झर्नेहरु घटेका छैनन् ।
सुविधा र अवसरको खोजीमा बसाइसराइँ बढेपछि पहाडी गाउँ बस्तीहरु एक्लिदै गएका छन् । पहाडी दुर्गम क्षेत्रसंगै मुख्य शहरबाट समेत तराईमा बसाइँ सर्ने क्रम बढेको छ । पहाडी क्षेत्रका गाउँमा सडक पूर्वाधारदेखि अन्य विकास निर्माण भइरहे पनि बसाइसराइँ रोकिएको छैन । गाउँमा रात र काल कुरिरहेका बृद्धबृद्धा छन् । बारीमा दुम्पाती उम्रिएको छ । गुल्मीबाट अधिकांश बसाई सरेर वुटवल जान्छन् ।
बस्नेभन्दा नबस्ने घर धेरै
गुल्मीको सत्यवति गाउँपालिका ८ भार्से धेरै चर्चित नाम हो । परम्परागत कलात्मक शैलीमा निर्माण गरिएका घर अहिले खण्डहरमा परिणत हुने क्रम छ । गाउँमै चार तल्ले आरसीसी पक्की घर । अहिले रित्तो छ । शिव भारी अहिले वुटवलमा व्यावसाय गर्छन् । डिल्लीराज र नवराजको खैरेनीमा फेन्सी र फर्निचर उद्योग छ । बुबा आमा पनि अहिले वुटवलमै झरेका छन् । ‘अहिले सिंङ्गो घरमा ताल्चा ठोकिएको छ, कहिलेकाहिँ दशैमा आउँछन्,’छिमेकी टीका श्रीसले भनिन्, आँखै अगाडी गाउँ रित्तियो ।’ अहिले भार्सेमा मान्छे बस्ने घरभन्दा खाली घर धेरै भइरहेका छन् । मुसिकोट नगरपालिका ६ कुर्घाको स्वाँरा गाउँमा दुई÷बर्ष अघिसम्म ७० घर गुरुङ्ग समुदाय थिए । अहिले आँखा अगाडीनै गाउँ रित्तिएको स्थानीय धनु गुरुङ्गले बताइन । गाउँमा अहिले ३१ घर मात्रै छन् ।
जग्गा बेच्नै पाइदैन
भार्सेमा बसाइसराइँ अत्यधिक छ । तर घर जग्गा बिक्री हुँदैन । बसाइसराइँ गर्नेहरु आफु पनि नफर्कने र घर जग्गा पनि बिक्री नगर्दा समस्या भएको वडाध्यक्ष सन्त बहादुर थापाले बताए । उनीहरुको कारण भार्सेमा बसाइसराइँ गरेर आउन मुस्किल परेको छ । ‘घर ढल्न थाले खेतबारी बाँझिए तर कसैले घर जग्गा बेच्दैनन, त्यस्ता व्यक्ति भार्सेको समृद्धिका बाधक हुन,’ थापाले भने,‘ उनीहरुलाई सरकारले करको दायरामा ल्याउनुपर्छ ।’ यो बिषयमा गम्भिर रुपमा गाउँपालिकामा छलफल भएकाले छिट्टै केहि न केहि निर्णय गरिने वडाध्यक्ष थापाले बताए ।
सुविधा र रोजिरोटीकै लागि गाउँ छाड्दै
जिल्लाको अवस्थामा विशेष गरी दुई स्तरका मानिसहरू बढी बसाइसराइँ गरिरहेका छन् । आर्थिक रुपमा सम्पन्न मानिस थप सुविधाका लागि र बिपन्न व्यक्ती रोजीरोटीकै लागि बसाइसराइँ गर्छन् । शिक्षा र स्वास्थ्य पनि बसाइसराइँको अर्को प्रमुख कारण रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा समाजशास्त्र अध्यापन गराइरहनु भएका प्रध्यापक गुणानिधी शर्माले बताए । उनले कृषि क्षेत्रमा लगानी अनुसारको प्रतिफल प्राप्त नहुनु, गुणस्तरीय उच्च शिक्षा हासिल गर्न गाउँमा शैक्षिक संस्था नहुनु, स्वास्थ्य उपचारका लागि सुविधा नहुनु जस्ता कारणले मानिसहरू बसाइसराइँ गर्ने गरेको शर्माको भनाई छ । घर जग्गानै छोडेर जाने एउटा समस्या गाउँमा छ । ‘छोरो कमाउन परदेश बुहारी छोराछोरी पढाउन शहर । गाउँमा बृद्धबुद्धा, यो अर्को समस्या हो,’उनले भने,‘ गाउँ बेहाल छन् ।’
बर्षेनी १५ देखि एक सय परिवार गाउँ छोड्दै
हरेक स्थानीय तहबाट बर्षेनी १५ देखि एक सयसम्म बसाई सर्ने गरेका छन् । धुर्कोट गाउँपालिकाबाट गत बैशाखदेखि चैत्र मसान्तसम्म ८४ जना बसाई सरेका छन् । गाउँपालिकाको वडा नं ५ बस्तुबाटै यो बर्ष १९ र वडा नं ७ बाट १७ परिवार बसाईसराई गरेका छन् । त्यस्तै मालिका गाउँपालिकाबाट ५८ घर परिवार जिल्ला बाहिर बसाई सरेका छन् । रुरु गाउँपालिका गएका ६४ परिवार । छत्रकोट बाट ७८ परिवार बसाई सरेर गए । सवैभन्दा बढि वडा नं ५ बाट १८ घरपरिवार बसाई सरेको सुचना प्रविधी अधिकृत भुषण भुसालले बताए । रेसुंगा नगरपालिकाबाट ५४ जना । इस्मा गाउँपालिकाबाट ५९ घर परिवार बसाई सरे । जसमा वडा नं ४ बाट १५, वडा नं ५ बाट ११ र वडा नं ६ बाट ११ घर परिवार छन् । गुल्मी दरवार गाउँपालिकाबाट गत बर्ष ६५ घर परिवार बसाईसरेका छन् ।
स्थानीय सरकारसंग बसाईसराई रोक्ने योजना छैन
गुल्मीका सवै स्थानीय तहमा गरेर बर्षेनी झण्डै साढे तीन अर्ब बजेट आउँछ । त्यो रकम गाउँमै खर्च भएको छ । स्थानीय सरकारका विभिन्न खाले योजनाहरु छन् । तर उनीहरुसंग बसाईसराईनै रोक्ने कुनै दिर्घकालिन योजना र लक्ष्य छैन् । जसका कारण नागरिकहरु बसाईसराइँ गर्ने क्रम बढिरहेको छ । बर्षेनी हुने बसाईसराई रोक्न स्थानीय सरकारले मात्रै सम्भव छैन । गाउँ–गाउँमा विकासको लहर चलेपनि बसाईसराई आफुहरुको पहिलो चुनौति रहेको धुर्कोट उँपालिका प्रमुख भुपाल पोख्रेलले बताए । उनले संख्या बढ्ने क्रममनै भएकाले तीन तहका सरकारनै योजनाबद्ध रुपमा लाग्नु पर्नेमा जोड दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend