साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी, साउन १३ ।
एक सातादेखि बाटो अवरुद्ध हुँदा पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टर मार्फत राहत पुराउन थालिएको छ ।
सत्यवती गाउँपालिका वडा न ३ ठुलोलुम्पेकमा पहिरोले झण्डै चार सय परिवार बिस्थापित भएका छन् । बाटो अवरुद्ध भएपछि बिस्थापित परिवारलाई खाद्यान्य अभाव देखिएपछि हेलिकप्टर मार्फत राहत पुराउन थालिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेले बताए ।
उनले बाटो बनाउँदा अझै केहि समय लाग्ने भएकाले खाद्यन्य, लत्ताकपडा र औषधी उपचारका सहित २३ क्विन्टल सामग्री प्रभावित क्षेत्रमा पुराइएको पौडेलले जानकारी दिए । राहतसंगै प्रभावित परिवारको अस्थायी बासस्थान निर्माणको काम गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली प्रभावित क्षेत्र लुम्पेक पुगेको जानकारी दिए ।
उद्योग बाणिज्यसंघ र रेडक्रसको सहयोग
हेलिकप्टर मार्फत उद्योग बाणिज्य संघले उपलब्ध गराएको एक हजार किलो चामल, एक सय केजी दाल, ६० लिटर खानेतेल, ५० किलो नुन, १० किलो सोयबिन, ९३ किलो चिउरा, एक सय किलो चिनी र सुत्केरीको लागि एक कार्टुन ल्याक्टोजिन प्रभावित क्षेत्रमा पुराइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिपक कुमार बस्नेतले बताए ।
त्यस्तै काठमाडौबाट ल्याएको दुई सय ७० ब्लाङ्केट, तीन सय १० थान हुट र रेडक्रस मार्फत प्राप्त ५० थान त्रिपाल, जिल्ला प्रशासन कार्यालय मार्फत कपडा सात बोरा, फलामको काटी दुई किलो, हेम्बर एक किलो, पिलास एक किलो र तार तीन किलो ठुलोलुम्पेकमा लगिएको बस्नेतले जानकारी दिए । त्यस्तै बस्नेतका अनुसार गुल्मी अस्पतालबाट जीवनजल, गज, सिटामोल, ग्लोब र अन्य औषधि गरेर २३ क्विन्टल राहतका सामग्री हेलिकप्टर मार्फत प्रभावित क्षेत्रमा पुराइएको छ ।
हेलिकप्टरबाट पनि राहतमा चुनौति
लामो समय बाटो अवरुद्ध भएका कारण हेलिकप्टर मार्फत राहत पुराउन थालेपनि मौषमको चुनौति रहेको वीर भद्र जंग गुल्मका गुल्मपति सेनानी रबिन्द्र महर्जनले बताए । उनले प्रभावित क्षेत्र पहाडको टुप्पामा भएकाले हुस्सुका कारण सुरुमा करिव १५/२० मिनेट हेलिकप्टर आकाशमै उडेको बताए । उनले ठुलो बिस्थापित परिवार भएको ठाउँमा समस्या भएपछि लुम्पेककै क्वाङदीमा गएर हेलिकप्टरले राहत झारेको जानकारी दिए । उनले मौषमलाई ध्यानमा राखेर राहत रकम बिस्थापित नजिकनै पुराउने योजना रहेको बताए ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend