साझा नेटवर्क
-कुसुम नेपाली ।
कहिलेकाही एक्लै बसेका बेला मनमा विभिन्न तर्क बितर्कहरुले मन मनै बहस गर्छन् । यस्तो प्रायः सबैमा हुन्छ । यस्तो हुनु स्वभाविक नै हो । तर कहिलेकाही जब साथी सर्कलका बिचमा हुन्छु । जब कहि कतै भिडमा हुन्छु । त्यतिबेला हुने संवाद , र देखिने अनि सुनिने धेरै कुराले मेरो मनलाई नमिठो बनाइदिन्छन् ।

मुटु पिरो बनाईदिन्छ्न् । र एकाएक मनले मनसँग बहस गर्न थाल्छ । यो लेख लेख्दै गर्दा मैले भन्नै पर्छ । म पुरुष बिरोधि होइन । असल पुरुषलाई सम्मान गर्छु । २१औँ शताब्दीका आधुनिक मान्छे हामी आवरणमा आधुनिकता देखाउन खोज्यौँ ।
आवरण भित्रका हिस्साहरु सँधै छोप्ने प्रयास मात्रै गर्यौँ भनौँ कि के भनौं ? हामी समाजलाई परिवर्तन गराउन मात्रै खोज्यौँ तर केही हदसम्म आफुलाई परिबर्तन गर्न सकेनौँ होला । किन भने यस्का उदाहरणहरु मैले थुप्रै देखेकी छु । सुनेकि छु र आफैले पनि केही हदसम्म महशुस गरेकी छु भन्दा फरक नपर्ला ।
पिंजडामा थुनिएको सुगाको उद्देश्य जहिले पनि बाहिर निस्किनु हुन्छ । एक छिन झुक्किएर कोठामा कसैले चुकुल लगाइदियो र तपाईं थुनिनु भयो भने, तपाईंको मन कत्ति अतालिन्छ? मनले बाहिर जानू बाहेक अरु कुरा सोंच्दै सोँच्दैन । कहिलेकाही नारीको जिन्दगी पनि थुनिएको सुगा जस्तै लाग्छ । कोठामा थुनिएको मान्छे जस्तै लाग्छ ।
केही वर्ष अगाडीको कुरा हो । शनिबारको दिन थियो । हाट बजारबाट तरकारी किनेर रूम फर्किदै थिँयौ । साथीको बोईफेन्डको फोन आयो । साथीले हेलो भनेर नसक्दै उता बाट उस्ले भन्यो । “यो ब्याक्टोन अहिले नै डिलिट गर । अनि त्यसपछी बल्ल फोन गर्छु ।
“साथीले प्रश्न गरिन “किन डिलिट गर्नु ? मलाई मन पर्ने गित हो त्यसैले राखेकी। ” प्रती उत्तरमा फेरि उस्ले भन्यो “मैले भने पछि डिलिट गर न किन किचकिच गरेको ? ”
साथीले फोन राखिन र तुरुन्तै फेरि ब्याकटोन परिवर्तन गरिन् । मैले सोधेँ उस्ले भने पछि तिम्ले जे कुरा पनि मान्नै पर्ने ? जवाफमा साथीले भनिन् उस्ले भनेको भएन भने रिसाउँछ झगडा हुन्छ ।
“त्यसैले उस्ले भनेको मान्यो भने झगडा कम हुन्छ ” एक हिसाबले साथीको कुरा ठिकै थियो । सम्बन्धमा सुमधुरता रहिरहोस भन्नका निम्ति उनले चुपचाप चुपचाप उस्का कुराहरुलाई मानिदिन्थिन । तर आफ्ना बिचार , रहर र चाहनाहरुलाई कुल्चेर । निमोठेर ।
गाउँ गएको बेला मैले फेसबूक चलाँउदै थिँए । छिमेकी भाउजूले भन्नू भयो ” नानी मलाइ पनि देखाउनु न फेसबूक चलाएको । ” मैले दाईको अर्थात् भाउजूको श्रीमानको प्रोफाईल खोलेर फोटोहरु देखाईदिएँ । भाउजू दंग हुँदै दाईका फोटोहरु हेर्दै मुस्कुराउनु भयो ।
भाउजुको उज्यालो अनुहार क्रमशः अँध्यारो हुँदै गयो र गुनासाका पोकाहरु फुकाउन थाल्नु भयो । मैले पनि फेसबूक खोल्छु भनेको दाईले दिनु भएन । फेसबूक खोल्यो भने बिग्रीन्छु रे । यस्तै यस्तै थुप्रै गुनासो पोख्नु भयो ।
फेसबूक , भाईवर , इमो , इन्स्टाग्राम चलाउने दाईले आईडी बनाँउदा भाउजूसँग एक पटक पनि सोधे कि सोधेनन् कुन्नि ? मैले भाईवर , इमो , इन्स्टाग्रामको अकाउन्ट् खोल्छु है ? भनेर ।
भाउजुको कुराले मन चस्स बिझायो । प्रश्नका हुलहरुले बहेलि खेल्न थाले । साना भन्दा साना कुराहरुमा दाईको अनुमती लिनु पर्छ भाउजुले । उहाँको कुरा सुन्दा लाग्छ बिहे पछाडिका दिनहरुमा एक दिन पनि यस्तो छैन होला जुन दिन आफ्नो निर्णय आफैले गर्नु भएको छ । हुन त हरेक कुरामा सल्लाह लिनु पर्छ । सबैको कुरा सुन्नु पर्छ र सहि निर्णय लिनु पर्छ । तर कुनै कुनै कुराहरु यस्ता हुन्छन् जस्लाई स्वयमले भन्दा अरुले बुझ्दैन र बुझ्न सक्दैन ।
कहिलेकाही एक्लै बसेर यस्ता थुप्रै कुराहरु माथी तौलेर बिचार गर्छु । परिवारले छोरा र छोरीमा गर्ने व्यबहारका बिच तुलना गर्छु । छोरा र बुहारी बिच गर्ने व्यबहारका बिच तुलना गर्छु। श्रीमान र श्रीमती बिचको एक अर्कालाई गर्ने व्यबहारको तुलना गर्छु । र गहिराई सम्म पुग्दा फराकिलो भन्दा फराकिलो फरक पाँउछु ।
छोरी जब गर्भमा बस्छे उस्ले संसार देख्न पाउनु र नपाउनुमा उस्को आमा बुवाको निर्णयमा भर पर्छ । यस्तो लाग्छ उ जन्म लिनका निम्ति पनि स्वतन्त्र छैने । अब सोँच्नुस अरु कुरामा झन उ कसरी स्वतन्त्र हुन सक्छे ? जब उ जन्मिन्छे । हुर्किँदै जाने क्रममा उस्लाई खान बनाउन, कसेर लगाउन , भाँडा माझ्न , घर पोत्न सिकाईन्छ ।
व्यक्ति अनुसार स्वाभाव र चाहानाहरु फरक फरक हुन्छन् । कसैलाई घरका काममा कुनै इनट्रेस्ट नै हुँदैन । घरको काममा अल्छी गर्यो भने आमाले सम्झाउनु हुन्छ । भोलि अर्काको घरमा गए पछि गाह्रो हुन्छ नानी । अहिले नै सिक्नु पर्छ । घरको काम धन्दामा पोख्त हुनु पर्छ ।
भोलि बुहारी भएपछि घर सम्हाल्नु पर्छ । यी कुराहरुले यस्तो लाग्छ परिवारको जिम्मेवारी आमाको जिम्मेवारी छोरीलाई भोलीको बुहारीका निम्ति पुर्णरुपमा तयार गराउनु मात्रै हो । यो बुझ्नु जरुरी छ कि छोरीलाई भोलिका बुहारीका लागी मात्रै पुर्णरुपमा तयार गर्नु होइन ।
न कि एउटी सक्षम छोरी बनाउनु होईन । घर भित्रको काममा मात्रै होइन , बाहिर निस्केर बोल्न सक्ने, नेतृत्व गर्न सक्ने तहसम्मको क्षमतामा वृद्धि गर्नका निम्ति पनि परिवारको ठूलो हात हुन्छ ।
उ हुर्किँदै यस्तो वातावरणमा हुर्किन्छे । जस्ले घर भित्रको काम छोरीले नै गर्नु पर्छ । छोरा भनेको बाहिर जाने जागिर खाने मान्छे हो भन्ने छाप बसेको हुन्छ । अझै पनि गाँउका दुरदराजका थुप्रै छोरीहरु छन् जस्ले चुलो चौकाको काम र बिबाह भन्दा अरु कुरा सोँचेका छैनन् । परिवारले, समाजले त्यो भन्दा अरु कुरामा सोच्न सिकाएकै छैन ।
आफ्ना चाहना र निर्णयहरुलाई पैतालाले कुल्चेर सँधै अरुको निर्णय र चाहनामा हिँडिरहेकी नारी मनमा गुनासा र निरासाका थैला बोकेर निरन्तर हिँडिरहन बाध्य छिन् । बुवा , दाइ भाइ, बोइफ्रेण्ड , श्रीमानका चाहाना र निर्णयहरुमा हिँडिरहेकी नारी आफ्ना रहर चाहनाहरुलाई बिर्सेर बाँच्छिन् ।
नारी आफ्नो चाहना अनुसार आफ्नो थर लेख्न सक्दिनन् । आफ्नो पहिचान आफै स्थापित गर्नका निम्ति कयौं कयौं लडाइँ लडनु पर्छ यो समाजसँग । जुध्नु पर्छ परिवारका बिचार र निर्णयसँग । नारी आफ्नो चाहना अनुसारको कपडा लगाउन सक्दिनन् ।
चाहना अनुसारको श्रृङ्गार गर्न सक्दिनन् । यदि गरि हाल्यो भने पनि दाईले के भन्ला ? श्रीमानले के भन्ला? मनमा डर र प्रश्नहरु बोकेर हिँड्नु पर्छ । अझै भनौ चाहना अनुसारको जिन्दगी जिउन सक्दिनन् । उनको आफ्नो शरीरमा आफ्नो अधिकार चल्दैन । आफ्नो जिन्दगी आफुले चाहे जसरी जिउन सक्दिनन् ।
म आफै पनि एउटी साधारण नारी हुँ । नेपाली समाजका राम्रा संस्कारहरुलाई मन पराउने , अनुसरण गर्ने मान्छे भित्र म पनि पर्छु । मैले अघि पनि उल्लेख गरीसकेकि छु ।व्यक्ति अनुसारका चाहानाहरु फरक फरक हुन्छन भनेर । हाम्रो समाजमा बिबाह पछि सिन्दुर , पोते र चुरा लगाउनु अपरिहार्य हो । तर कसैलाई यी सब चिजहरु मन पर्दैन ।
सिउँदोमा श्रीमानको नामको सिन्दुर , हातमा उस्कै नामका चुरा र गलामा पनि उस्कै नामको पोते पहिरिएर हिँडेकी नारी खोइ त आफ्नो लागि उस्ले के बोकेर हिँडी ?
र उस्का लागि उस्को नाममा श्रीमानले खोइ के लगाएर हिँड्यो ?
प्रायः हरेक श्रीमानले आफ्नी श्रीमतीको सिउँदोमा आफ्नो नामको सिन्दुर हेर्ने चाहना राख्छ । चुरा र पोते पहिरिएको हेर्ने चाहना राख्छ । श्रीमतीको चाहना के छ ? उस्ले सोँच्दैन । यी सब लगाउन उस्ले चाहन्छे चाहदिनेँ बिचार गर्दैन । आफ्ना चाहनाहरुलाई श्रीमती माथी हाबी गरिदिन्छ ।
यसो भन्दैमा मैले सिन्दुर ,पोते र चुरा लगाउनु गलत हो भन्न खोजेकी होइन । कुरा नारीका आफ्नो चाहनाको गर्दै छु । स्वतन्त्रताको गर्दै छु । हरेक श्रीमानले आफ्नो अधिकार श्रीमतीको सिँउदोमा खोज्नु भन्दा मुटुमा बस्न सक्नु पर्छ । उस्का हरेक सुख दु:खमा साथ दिन सक्नु पर्छ ।
मुटुमा बस्न नसकेको मान्छेले सिउँदोमा मात्रै बसेर खास जिन्दगीमा कति महत्त्व दिन्छ ? बिचार गर्ने जिम्मेवारी तपाईँलाई नै छोँडे । नारी आफ्नो लागि कम र अरुको लागि बढी बाँच्छिन् । आफ्नो खुसिको लागि भन्दा अरुको खुसिको लागि सोँच्छिन ।
प्रकृतीले पनि नारीमा कति धेरै सहनशीलता दिएको होला? कहिलेकाही सोँचेर आफै अचम्म पर्छु । कहिलेसम्म छोरी अरुको लागि खुसी भएको नाटक गर्नु ? आफ्ना रहर , चाहनाहरुलाई कुल्चेर अरुका चाहना बमोजिम कहिले सम्म बाँच्नु ?
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend