साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी असार १० ।
मदाने गाउँपालिकाले ४० करोड ६६ लाख ७० हजारको बजेट पास गरेको छ । गाउँपालिका उपाध्यक्ष सरिता खड्काले गाउँसभामा पेश गरेको बजेट गाउँसभाले सर्वसम्मतले पास गरेको हो ।
गाउँपालिकाले कृषि विकास कार्यक्रममा ५६ लाख, पशु विकास कार्यक्रममा ८५ लाख ५५ हजार, सहकारी क्षेत्रको विकासको लागि दुई लाख, स्वास्थ्य क्षेत्रमा २८ लाख ६८ हजार विनियोजन गरेको छ । त्यस्तै शिक्षा क्षेत्रमा एक करोड १७ लाख, खानेपानी तथा सरसफाईमा एक करोड ८९ लाख ५० हजार विनियोजन गरेको छ ।
खेलकुद तथा मनोरञ्जनमा १८ लाख, दलित उथ्थान कार्यक्रममा चार लाख, जनजाति लक्षित कार्यक्रममा तीन लाख, अपाङ्ग लक्षित कार्यक्रम नौ लाख, महिला लक्षित कार्यक्रमअन्तरगत ११ लाख ९१ हजार विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष खड्काले बताइन् ।
ज्येष्ठ नागरिक चार लाख, लैङ्गिक तथा सामाजिक शशक्तिकरणको लागि ४० लाख ३६ हजार, भौतिक पूर्वाधार विकासतर्फ दुई करोड ८१ लाख ९५ हजार, समपुरक कोषतर्फ दुई करोड ६९ लाख ५० हजार विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।
वातावरण तथा विपद् व्यवस्थापनतर्फ १७ लाख, सँस्थागत विकास, सेवा प्रवाह तथा सुशासनतर्फ ८६ लाख ७० हजार, सिँचाईतर्फ १८ लाख २५ हजार विनियोजन गरिएको उपाध्यक्ष खड्काले पेश गरेको बजेटमा उल्लेख गरिएको छ ।
भवन निर्माणतर्फ ५० लाख ५० हजार, पर्यटनतर्फ ३८ लाख ८० हजार, संघ शसर्ततर्फ १५ करोड ५८ लाख तथा सामाजिक सुरक्षातर्फ छ करोड ७५ लाख विनियोजन गरिएको छ । चालु खर्च चार करोड ५० लाख, विशेष अनुदानतर्फ ५२ लाख विनियोजन गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend