साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी जेठ ३० ।
धुर्कोट गाउँपालिका ५ वस्तुमा ज्येष्ठ नागरिक दिवासेन्द्र संचालनमा आएपछि ज्येष्ठ नागरिक खुसि भएका छन् । ५ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालय र धुर्कोट गाउँपालिकाको आर्थिक सहयोग तथा जनविकास केन्द्रको समन्वयमा सेवाकेन्द्र संचालनमा आएपछि स्थानीय ज्येष्ठ नागरिकको मुहारमा खुसि छाएको हो ।

केन्द्रमा अहिले ज्येष्ठ नागरिकहरुले नाच्ने, गाउने, भजन–कृतन गर्ने लगायतका क्रियाकलाप गर्दै आएका छन् । जसले गर्दा दिवा सेवा केन्द्र ज्येष्ठ नागरिकका लागि दिन काट्ने सजिलो माध्यम बन्दै आएको छ । ‘भएका छोरा देशबाहिर छन्, घरमा एक्लै छु ।’
केन्द्रमा आएकी ७६ बर्षिय कुवारी सुनारले भनिन्, ‘घरमा दिन कटाउन गाहे पर्छ, यहाँ आएपछि भजन–कृतन गर्न पाइन्छ ।’ केन्द्रमा नाच्ने, गाउने आफुजस्ता धेरै भएको तथा दुखसुख साटासाट गर्न पाउनुले पनि उनलाई खुसि लाग्छ । स्थानीय ८६ बर्षिया देविराम भण्डारी नियमित केन्द्रमा जान थालेको एक महिना भयो । घरमा बस्दा अल्छिपना बढ्ने तथा दिक्क लाग्ने उनलाई सेवा केन्द्र समय कटाउने माध्यम बनेको छ ।
आफुलाई गाउन–बजाउन नआए पनि अरुले गाए÷बजाएको देख्दा र सुन्दा उनलाई निकै आनन्द महसुस हुने गरेको छ । अर्की स्थानीय झविकला भण्डारी पनि उमेरले ८१ बर्ष पुगिन् । घरमा छोरी र ज्वाँईमात्र छन् । दिउसोमा घरमा बस्दा झन्झट लाग्ने भएपछि उनी पनि दिवा सेवा केन्द्रमा जान थालिन् ।
उनी केन्द्रमा पुगेपछि दिएका फलफुल खाने तथा भजन कृतन गाउँदैमा दिन बितेको पत्दै पाउँदिनन् । ‘घरमा धेरै दिक्क लाग्छ, तर यहाँ हरेराम भन्न पाइन्छ ।’ उनले भने, ‘म जस्ता बुढाबुढीलाई दिन बितेको पत्तै हुँदैन् ।’ सेवा केन्द्र संचालनमा आएपछि सरकारप्रति थप विश्वास पलाएको उनले बताइन् ।
समाजमा अझै जातिय विभेद कायम छ । कतिपय शिक्षित र पढेलेखेका मानिसहरुले समेत छुवाछुतलाई अझै प्रचलनमा ल्याएको पाइन्छ । तर ६० भन्दा बढी उमेरका बृद्धाबृद्धा बस्ने दिवा सेवा केन्द्र जातिय विभेद मुक्त छ ।
दिनहुँजसो केन्द्रमा पुग्ने मैती सुनारले आफुहरुले कहिल्लै पनि जातिय भोदभावको महसुस नभएको बताए । ‘कहिल्लै कसैले छुवाछुत गरेजस्तो वा तर्कन खोज्नुभएको छैन ।’ उनले भने, ‘यहाँ जातिय समानता छ ।’
दिवा सेवा केन्द्र उपभोक्ता समितिमार्फत जेठ र असार गरी दुई महिनासम्म संचालन हुनेछ । उक्त स्थानमा २०७३ सालदेखि नै औसीँका दिन मात्र भजन कृतन हुने गरेपनि जेठ १ गतेबाट दैनिक भजन कृतन सुरु भएको हो ।
अहिले दैनिक २० देखि ३० जनासम्म ज्येष्ठ नागरिकहरु दिवा सेवा केन्द्रमा आउने गरेको उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष माधव भण्डारीले जानकारी दिए । बृद्धबृद्धाहरुलाई केरा, स्याउ, मिठाई लगायतका दैनिक फरक–फरक नास्ता प्रदान गर्ने पनि भण्डारीले जानकारी दिए । तर यो कार्यक्रमलाई दुई महिनासम्म मात्र सिमित नराखी सधैभरी संचालन गर्नुपर्नेमा उनले जोड दिए ।
५ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको चार लाख र गाउँपालिकाको पाचँ लाख गरी कुल नौ लाखमा केन्द्र नियमित रुपमा संचालनमा आएको हो । केन्द्रमा भजन–कृतनमा आवश्यक सामाग्रीहरु उपलब्ध गराउने, खाजाको लागि आवश्यक समन्वय गर्ने लगायतका कामहरु जनविकास केन्द्रले गरिरहेको केन्द्रका कार्यक्रम अधिकृत हरी मरासिनीले बताए ।
धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले बृद्धबृद्धाहरुलाई समय कटाउन सजिलो होस् भन्ने उदेश्यले दिवा सेवा केन्द्र संचालन गरिएको बताए । ‘दिउसोमा परिवारका सदस्य काममा हुन्छन्, ज्येष्ठ नागरिहरुलाई एक्लै घरमा बस्न दिक्क लाग्ने हुन्छ ।
उनले भने, ‘उनीहरुका मुहारमा खुसि ल्याउन दिवा सेवा केन्द्र संचालनमा ल्याइएको हो ।’ त्यसका साथै उनले उक्त सेवा केन्द्रलाई दीगो संचालनको लागि गाउँपालिकाले योजना बनाएको पनि जानकारी दिए ।








© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend