logo
  • सोमबार, असोज १२ २०८३

गुल्मी दरबार गाउँपालिका सुरक्षित महिनावारीयुक्त विद्यालय घोषणा


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी वैशाख १७ ।
नेपालमै तेस्रो गाउँपालिकाको रुपमा गुल्मीदरबार गाउँपालिकालाई ‘महिनावारीका लागि सुरक्षित सामाग्रीयुक्त विद्यालय’ घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष अशोक कुमार थापाले व्यानर पढेर सुरक्षित सामाग्रीयुक्त विद्यालय घोषणा गरेका हुन् । गाउँपालिकामा रहेका सबै १६ वटा विद्यालयहरुमा घोषणाका लागि आवश्यक चरणहरु पुरा गरेपछि समग्र गाउँपालिकालाई नै सुरक्षित सामाग्रीयुक्त विद्यालय घोषणा गरिएको हो ।

अहिले सबै विद्यालयहरुमा सेनेटरी प्याड र प्याड फ्याँक्ने तथा जलाउने इन्सिनेटरको व्यवस्था गरिएको छ । त्यस्तै सबै विद्यालयहरुमा महिनावारीका लागि एकजना महिला शिक्षकालाई फोकल पर्सनको जिम्मेवारी दिइएको छ । छात्राहरुले कुनै समस्या परे फोकल पर्सनमार्फत समाधान खोज्न सक्नेगरी व्यवस्था मिलाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिए ।

घोषणापश्चात सबै विद्यालयहरुलाई महिनावारीका लागि सुरक्षित सामाग्रीयुक्त विद्यालय भएको प्रमाण पत्र समेत प्रदान गरिएको छ । घोषणा सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष अशोक कुमार थापाले घोषणा गर्नुमात्र नभई यसलाई दीगो रुपमा संचालन गर्नु आवश्यक रहेको बताए । ‘धेरै ठाउँमा कुनै पनि कार्यक्रम सम्पन्न भएको घोषणा हुन्छ तर कार्यान्वयनको चरणमा जटिलता आएको देखिन्छ ।’

उनले भने, ‘दीगो रुपमा संचालनको लागि आगामी आर्थिक बर्षको लागि पनि गाउँपालिकाले बजेट विनियोजन गर्छ ।’ त्यसका साथै उनले विद्यालयहरुको गुणस्तर बृद्धिमा गाउँपालिकाले सहयोग गर्ने बताए । ‘गुणस्तरिय शिक्षा सबैको अधिकार हो, यसबाट कोहि पनि छुट्नु हुँदैन ।’ उनले भने, ‘शैक्षिक गुणस्तर सुधारको लागि गाउँपालिकाले काम गरिरहेको छ ।

गाउँपालिका उपप्रमुख मिना भण्डारीले विद्यालय जाने उमेरका छात्रा सुरक्षित र शिक्षित नभएसम्म समाजको उन्नती हुन नसक्ने भएकोले यो अभियान सुरु गरेको बताइन् । ‘मैले त धेरै दुःख भोगे, तर आगामी पुस्तालाई सहज होस भनेर अभियान संचालन गरेका हौँ ।’ उनले भनिन्, ‘अब कुनै पनि छात्राले महिनावारीकै कारणले विद्यालय छोड्नु पर्दैन ।

त्यसका साथै उनले सेनेटरी प्याड लगायतका सुरक्षित महिनावारीका सबै सामाग्री किन्ने खर्च गाउँपालिकाले नै व्यहोर्ने समेत जानकारी दिइन् । सुरक्षित महिनावारी अभियान चलाएको सँस्था सेवा सञ्चार गुल्मीकी अध्यक्ष गगां खड्काले महिनावारीलाई लुकाएर नभई वरदानको रुपमा लिनुपर्ने बताइन् । कुनै पनि नारीमा महिनावारी चक्र नभईकन सृष्टि चल्न नसक्ने भएकोले महिनावारीलाई उत्सवको रुपमा लिन सबैलाई आग्रह गरिन् ।

सुरक्षित महिनावारी किन ?

महिनावारी हुँदा महिलाहरुलाई घर भित्र जान नदिने, छोएको पानी नचल्ने जस्ता कुरीतिहरु समाजमा अझै पनि विद्यमान छन् । जसले गर्दा उनीहरुले शरिरको सर–सफाई गर्न पाउँदैनन । त्यसको परिणामस्वरुप उनीरुमा विभिन्न रोगहरुले संक्रमण गर्ने सम्भावना हुन्छ ।

सुरक्षित महिनावारी नभएको खण्डमा पाठेघरबाट सेतो पानी बग्ने, पाठेघर खस्ने तथा चाहेको समयमा बच्चा जन्माउन नसक्ने समस्या देखा पर्ने दरबारदेविस्थान स्वास्थ्य चौकिकी अनमी सुमन पन्थीले बताइन् । ‘गाउँमा संचालन हुने स्वास्थ्य शिविरमा अधिकाशं पाठेघर खस्ने तथा सेतो पानी बग्ने महिलाहरु भेटिन्छन् ।

उनले भनिन्, ‘यसको कारण सुरक्षित महिनावारी नहुँनु हो ।’ त्यसका साथै उनले गाउँपालिकाका सबै स्वास्थ्य चौैकी पनि सुरक्षित महिनावारीयुक्त बनाउने उदेश्य रहेको जानकारी दिइन् ।

छात्राको उपस्थिति दरमा बृद्धि

गगां आधारभुत विद्यालयकी शिक्षिका राधा भुसालले विद्यालयमा सेनेटरी प्याड भएपछि छात्राहरुको उपस्थिति दरमा बृद्धि हुने गरेको बताइन् । ‘विद्यालमा प्याड नहुँदासम्म सबैजसो छात्राहरु महिनावारीको समयमा घर नआउने तथा विद्यायमा महिनावारी भएपनि बिदा मागेर घर जाने गर्दथे ।

भुसालले भनिन्, ‘तर अहिले ढुक्कसँग हामिसँग प्याड मागेर प्रयोग गर्छन ।’ सुरक्षित महिनावारी विद्यालय अभियानले छात्राहरुलाई विशेष कक्षामार्फत सेनेटरी प्याडको प्रयोग गर्नतर्फ उत्साहित गरेको उनले बताइन् ।

नेपालमा तीन स्थानीय तह सुरक्षित महिनावारीयुक्त विद्यालय घोषणा

हालसम्म गुल्मीबाहेक नेपालका कुनै पनि स्थानीय तह सुरक्षित महिनावारीयुक्त विद्यालय बन्न सकेका छैनन् । तर गुल्मीमा तीनओटा स्थानीय तह सुरक्षित महिनावारीयुक्त विद्यालय घोषणा भइसकेका छन् ।

नेपालमै प्रथम पटक जिल्लाको इस्मा गाउँपालिका सुरक्षित महिनावारीयुक्त गाउँपालिका घोषणा भयो । दोस्रो पटक मदाने गाउँपालिका र तेस्रो पटक गुल्मीदरबार गाउँपालिका सुरक्षित महिनावारीयुक्त गाउँपालिका घोषणा भएको सेवा सञ्चार गुल्मीकी अध्यक्ष खड्काले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend