साझा नेटवर्क
काठमाडौं, आषाढ ३०।
सरकार ढल्ने भएपछि राजनीतिक सम्भावनाका अनेक खेल र रणनीति सार्वजनिक भैरहेका बेला प्रचण्डको बाटो छेक्न एमालेले रामचन्द्रलाई प्रधानमन्त्री बनाउने सम्भावना समेत बढेको छ । माओवादी केन्द्रले एकाएक सरकार छाडेर नेपाली कांग्रेससंग मिलेर सरकार बनाउने तयारी गरेपछि त्यसलाई रोक्ने तयारी एमालेले थालेको छ ।

एमालेका केही नेताहरुले कांग्रेसले सरकारको नेतृत्व गरे आफूहरुले समर्थन गर्ने समेत बताइसकेका छन् । एमालेले प्रधानमन्त्रीको निर्वाचन भएमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेर कांग्रेसी सांसदहरुलाई नैतिक दवाव दिने तयारी थालेको समाचारहरु सार्वजनिक हुन थालेका छन् ।
सरकारको विरोधमा बुधबार दर्ता भएको अविश्वासको प्रस्ताव परिपक्क हुन संसद नियमावली अनुसार एक साता लाग्नेछ । नियमावलीको नियम १६० अनुसारको प्रयोग गर्ने सन्दर्भमा सभामुखले आफ्नो तजविजीमा सो प्रस्ताव एक साताभित्र छलफलको प्रक्रिया अघि बढाउने र अविश्वासको प्रस्ताव पारित भएमा नयाँ सरकार बन्ने बाटो खुल्नेछ ।
त्यसपछि राष्ट्रपति विद्या भण्डारीले सहमतीय सरकार गठनका लागि दलहरुलाई एक हप्ताको समय दिने र त्यो अवधिमा सहमति नभए फेरि बहुमतीय सरकार गठनका लागि आह्वान गर्नुहुनेछ । त्यस्तो स्थिति आएमा नेकपा एमालेले यसअघि सत्र पटक प्रधानमन्त्रीको निर्वाचनमा पराजित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्नेछ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली निकट नेताका अनुसार एमालेले संसदको सवैभन्दा ठूलो दलका नेतालाई दोस्रो ठूलो दलले प्रधानमन्त्रीमा प्रस्ताव गरेपछि कांग्रेसलाई ठूलो नैतिक दवाव पर्नेछ । त्यस्तो अवस्थामा आगामी प्रधानमन्त्री प्रचण्ड नभएर पौडेल हुने सम्भावना उत्तिकै छ । कांग्रेसभित्र प्रचण्डलाई हैन, आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने आवाज उठाउने नेताहरु प्रशस्तै रहेका कारण एमाले र माओवादीबीचको टक्करले रामचन्द्र पौडेल प्रधानमन्त्री बनेमा पनि आश्चर्य हुने छैन ।
यसैबीच अर्कोतिर सरकारले बुधबार मन्त्रीहरुको कार्यबोझ थपेको छ । माओवादीका ८ जना मन्त्रीले राजीनामा दिएपछि प्रधानमन्त्री ओली स्वयंले सामान्य प्रशासन मन्त्रालयको पनि जिम्मेवारी पनि सम्हाल्नुभएको छ भने उपप्रधानमन्त्री बिजयकुमार गच्छादारलाई बन तथा भुसंरक्षणको जिम्मेवारी थपिएको छ ।
उता उपप्रधानमन्त्री भीम रावललाई रक्षासँगै गृृह मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ भने अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले उर्जा मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । त्यस्तै श्रममन्त्री दिपक बोहोरालाई आपूर्ती मन्त्रालय, कानुन मन्त्री अग्निप्रसाद खरेललाई शिक्षा मन्त्रालय, स्थानीय विकास मन्त्री रामकुमार सुब्बालाई सिंचाई मन्त्रालय र पशु विकास मन्त्री शान्ता मानवीलाई कृषि मन्त्रीको पनि जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्रीको सचिवालय स्रोतले दिएको जानकारी अनुसार नेपालको संविधानको धारा २९८ बमोजिम मौजुदा मन्त्रिपरिषदमा ८ जना मन्त्रीहरुले राजिनामा दिई रिक्त हुन आएकोले थप कार्यभार दिइएको पत्रमा उल्लेख छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend