साझा नेटवर्क
विमल खड्का, बाग्लुङ आषाढ २९।
बाग्लुङको बुर्तिबाङ स्थित प्राथमिक स्वास्थ्य चौकी नजिकैको ठाडो खोलाको वर्षे भेलबाट झण्डै २५ घरका बासिन्दाहरु प्रभावित भएका छन् । वर्षायाम सुरु भएसंगै उक्त ठाडो खोलाबाट मुल फुटेर अत्यधिक पानी बग्दा ढल कटान नभएपछि बुर्तिबाङ बजारका हस्पिटल लाइन, फूलबारी टोल, पेट्रोल पम्प आसपास र सिमसार टोलका बस्तीलाई प्रभाव परेपछि टोलबासीहरुले ढल कटानका लागि बुर्तिबाङ नगर विकास समिति र इलाका प्रहरी कार्यालय बुर्तिबाङमा समेत पटक पटक माग राख्दै आएका छन् ।
आफ्नो घर दैलोभित्र पानी पस्ने र खुल्ला ढलको पानी कटान हुन नसक्दा अधिकांश क्षेत्र जलमग्न हुदै गएपछि स्थानीय बासीले सम्बन्धित निकायको चासो र ध्यान नगएको साथै नगर विकास समिति समेत मुखदर्शक बनेको भन्दै एक हप्ता देखि आवाज उठाउँदै आइरहेका छन् । उक्त खोलाको ढल र पानीले हरेक वर्ष वर्षायाममा अधिकांश क्षति पुराउँदै आएको छ ।
बुर्तिबाङ बजारको केही क्षेत्रमा ढलको व्यवस्था भएपनि बुर्तिबाङ नगर विकास समितिले उक्त ढल ब्यवस्थापनका लागि अहिलेसम्म बजेट विनियोजन र कार्ययोजना समेत बनाउन सकेको छैन । अर्काेतर्फ नगर विकास समितिले गर्नुपर्ने विकास निमार्णका कामहरु अलपत्रै पर्दा र विनियोजित बजेट समेत फ्रिज हुँदा स्थानीय बासीहरुबाट समिति पटकपटक आलोचित बन्दै आएको छ ।
बुर्तिबाङ नगर विकास समितिका प्रतिनिधि तथा प्रहरी प्रशासन र स्थानीय बुद्धिजीवी तथा टोलबासीको पटक पटकको छलफलबाट तत्काल ढल कटान गर्नुको कुनै विकल्प नरहेको ठहर गर्दै आजको पुनः छलफलबाट उक्त ढलको पानी सुरक्षित रुपमा कटान गर्ने कुरामा सहमती बनेको बताइएको छ ।
हलका लागि नगर विकास समितिको छुट्टै बजेट छैन र समितिका अध्यक्ष समेत यहाँ नभएकाले स्थानीयबासीकै खर्चमा ढलको पानी कटान गरिने सहमती भएको नगर विकास समितिका सदस्य शालिकराम शर्माले जनाकारी दिनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend