साझा नेटवर्क
-देवेन्द्र केसी ।
‘आरा’ जिवनको वहुउपयोगी सरल यन्त्र,सुकेको काठलाई आफ्नो रुप,रंग र ढंङ्गमा काट्न प्रयोग हुने औजार । आरा आवश्यक्ता अनुसार हाते, दुई जनाले प्रयोग गर्ने ठुलो र आजकल त बिजुली बाट चल्ने आराहरु पनि बजारमा छ्याप्छ्याप्ति छन । तर मेरो बिषयबस्तु अलिकति ‘कन्जस्टर्ड’जमनाको भएकोले यहाँ हाते आरा र दुई जनाले लाउन मिल्ने ठुलो आराको प्रसंग कोट्याउदै छु ।

आराले मेरो ‘पारा’ कहाँ पुर्याईदियो र मेरो ईज्जत, हुर्मत, बालापन र गास देखि बास कसरी सम्हालिदियो ? आराकै पौरखबाट दुई अक्षर चिनेको ‘म’ आज आरा र आरा चालक कै गुणगानको लागि दुई अक्षरहरु बुनिरहेछु।
आरा को स्वर आफैमा कोकिलकण्ठी हुँदैन। घना जङ्गलमा ‘घ्यार्र,घ्यार्र’ गर्ने आरा शान्त जंङ्गलको मौनता भङ्ग गर्ने र बन्यजन्तुलाई पनि तर्साउने खालको हुन्छ। तर त्यहि आराको कठोर स्वर मलाई भने औधी प्यारो लाग्छ। जव आराको घ्यार,घ्यार मेरो कानमा ठोकिन्छ अनि म हर्ष र उत्कण्ठाले प्वलित हुन्छु ।
मेरो नाकले सकुनको स्वास फेर्छ, नयनहरुबाट हस्राश्रुहरु बगिदिन्छ । अनि मेरो बालापन र मेरा अबोध ‘बा’ लाई मुटुभरि सम्झिन्छु, नजिकमा भए मेरा बा को काखमा पल्टिएर धित मरुन्जेल रुने थिँए तर म नौडाँडा पारिको बिरान मुलुकमा कलम र क्यामेरा संग पौठेजोरी खेलिरहेछु। ‘कंक्रिटको जंङ्गल’ यो महानगरमा त्यो ‘आरा चालक’ मेरा बा को चरम अभाव खेपिरहेछु।
ख्याउटो ज्यान, नखौरिएका दाह्री, पट्पटी फुटेका पैतला, पिडाले च्यापिएको छाती तर अदृश्य मनोबल र मलाई ‘कलमबिर’ बनाउने अघोषित शर्तहरु… घना जङ्गलमा काठका केस्राहरु केलाउदै आरा लगाउदा निस्कने धुलोमा लट्पटिएको बा को दिनचर्यामा मेरो भविश्यको सुनौलो ‘सपना’ले ढाडस दिलाउथ्यो।
कतिखेर घरधनी ले पानी र नास्ता ल्याउछ भन्दै प्याक प्याक्ति मुख बाउदै ‘आरा चालक’ मेरा बा ले कयौ काठका केस्रा बनाउनुभयो होला तर बा का दुखले पछ्याउन छोडेनन।
दिनभरी को थकान भुलाउने खरको त्यो झुपडी बर्षातको पानी झेल्ने अवस्थामा थिएन। बा काठको धुलोमा नखेलेसम्म मुखमा माड जाँदैन्थ्यो । बा ले जगका काठ फेर्नुभयो, गाँउका भत्केका घर चिटिक्क पार्नुभयो, पैसावालाका पलङ्ग बने तर हाम्रो झुपडी त्यस्तै रहयो, छानामा खरले छोडेन तल चुहिन छोडेन।
बा ले भनेको, म जन्मिँदा करानथाना हजुरआमाले खुसी भएर एक रुपैया बक्सिस दिएकी रे ! कुलको जेठो छोरो ‘म’ जन्मिँदा “बा”लाई हजुरआमाले रुँदै भन्नुभएछ “लौ तेरो अघि पछि गर्ने साथी जन्मियो म अव मरे पनि धोको रहने छैन”।
वर्षातमा ओडिने सेउमा मलाई सुताएर ‘धोद्रा’को पखेरामा गाई बस्तु चराउने मेरी हजुर आमाले कहिले यो “बबुरो” ठुलो होला र बा को अघि पछि गर्ला भनेर मलाई नियालिरहनु हुन्थ्यो रे ! म पछि भाई जन्मियो,बहिनी जन्मिई खुसी थपिदै गयो तर बा ले आराको धुलो खाने क्रम रोकिएन बरु थपिदै गयो।
म सानो थिँए तर हरेक कुराले मलाई पिरोलिरहन्थ्यो । मैले खस खस लागेपछि बा लाई सोधेर हैरान पार्थें । “बा सबैका घर ढुङ्गा का छन तर हाम्रो मात्रै खरको घर किन नि”सबै भन्दा बढि यहि प्रश्न गर्थेँ म । “बाबु,ढुङ्गा मुनी बस्ने त मरेपछि हो ज्युँदै कहाँ ढुङ्गामुनी बस्नु भनेर मैले ढुँङ्गेघर बनाएको छैन बुझिस” भनेर बा ले सम्झाउदा म बा लाई अघोरै बुद्धिमानी र अन्य गाँउलेहरुलाई बुद्धिहिन सम्झिन्थेँ ।
आज बल्ल थाहा भयो ढुङ्गेघर बनाउने पैसा नभएर पो बा ले मलाई यो ढाडस दिनुभएको रैछ। बा ले कसै को कुभलो सोच्नुभएन,कसैको दुई पैसा खानुभएन । बरु बाटो लामो होस घुमेरै घर आउने तर सर्टकटको लागि कसैको आँगनबाट हिँड्नुभएन ।
ऋण काढेर तामझाम देखाउन हुन्न भन्दै मलाई सम्झाउनुहुन्थ्यो “बाबु कसै संग ऋण काढेर चप्पल लगाई अव माग्न आउने बेला भयो भन्दै बारी, बारी चप्पल लगाई भाग्नु भन्दा बरु खाली खुट्टा नै गाँउको बाटो सबैले देख्नेगरि हिँड्दा केहि लाज हुँदैन” त्यसैले त मेरा बा अभागी भएर पनि लक्षिणका हुनुहुन्छ।
मन भरि ब्यथा,दिमाग भरि टेन्सन,एकोहोरो आरा कै हुटहुटीमा शरिर लखतरान भएपनि बिचमा हँसाएर माहोल हल्का बनाउने र पिडा भुलाउने बा लाई ‘गड गिफ्टेड’ बानी थियो। म छ कक्षामा पढ्थें एक दिन शक्करखण्ड खन्न आमा,बा र म तल बारीमा गयौ ।
शक्करखण्ड खन्दा खन्दै आमाले बालाई सोध्नुभयो “एता त स-साना खुजुरा शक्करखण्ड रैछ ,हजुरको तिर कत्रा निस्किए” बा ले मुसुक्क हाँसेर भन्नुभयो “यता नि त्यै बाबुको ढुकुर जत्रै निस्किएका छन” आमा त्यो बेलामा लजाउनु भयो तर म बुझिन आज म सम्झिएर लाज मानिरहेको छु।
बा लाई बाल्यकालमा खान,लाउन अभाव थिएन ।हजुरबा गाँउका थरी भएकोले प्रसस्त खेत बारी थियो। पढाई पनि अव्वल बा ले त्यति बेला पनि सात क्लास पढ्नुभएको थियो। पढेर मास्टर बन्ने या लाहुरे बन्ने बा को जोस नचलेको पनि होईन तर हजुर आमाले हकार्नु भएछ “तँ पढेर मास्टर बन्नी अनि तेरो एत्रो सम्पति चाँहि कल्ले हेरिदिने ?
बुकी फुल्न दिन त भएन नि ,लाहुरे बनिस भने मलाई यहाँ एक्लै छोडेर जान्छस” बा ले न त हजुरआमा लाई छोडेर लाहुर नै जान सक्नुभयो नत पढेर मास्टर बन्न नै ,बन्नुभयो त आरा का कुशल चालक ..
बा को जिवनमा बज्रपातको कहानी कम कहाली लाग्दो छैन । एउटी दिदी हुनुहुन्थ्यो ।भर्भराउदो जवानी ,बिस बर्षमा भर्खर टेक्नुभएको ! घरमा बिहेको कुरा चल्दै थियो। एकदिन को कुरा हो हजुर बा गाँउका कोहि बृद्ध को अन्तिम सस्कारमा ‘घुमाउने घाट’ जानुभएको थियो।
हजुरआमा ले दिउसो छोरीलाई घाँस र दाउरा लिन ‘केराउछरे’पठाउनु भएछ।दिउसो घाँस काट्न गएकी छोरी साँझ सम्म नआएपछि खोजबिन सुरु भयो । बा पनि एउटा हातले कट्टु समाउदै र अर्को हातले सिँगान पुछ्दै हजुर बाको पछि लागेर ‘केराउछरे’ पुग्नुभएछ। त्यहाँ को कारुणिक दृष्य देखेर हजुर बा ढल्नुभएछ।
“बा” एकोहोरो चिच्चाउनु भएछ। दिउसो कोरिबाटी गरी चिटिक्क परेर आएकी छोरी खोलाको दुई ढुङ्गा बिचको कापमा मृत अवस्थामा फेला पर्नुभयो। हत्या थिएन र आत्महत्या पनि थिएन बस भबित्व्य थियो । डोकाभरि घाँस र डोको माथि दाउरा बनाएर बोक्न खोज्दा घोप्टिएर डोकैसित खोलामा लडेकी थिईन दिदी।
“बा” को एकमात्र सुभचिन्तक दिदी जग नै अध्यारो बनाएर अल्पायु मै गईन। बा लेकहानी सुनाउदै जानुभयो,आशुँधारा ले गला अबरुद्ध पार्यो म पनि सम्हालिन सकेन गहभरी आँशु भयो । आफ्नी फुल जस्ति छोरीलाई अल्पायु मै गुमाएपछि हजुरबा कैयन दिन अचेत बन्नुभयो।छोरी पन्चतत्वमा बिलिन भईन,क्रियाक्रम सकियो तर हजुरबा को चेत खुलेन ।
बर्बराउदा बर्बराउदै अर्धपागल जस्तै हुनुभएछ । यता हजुरआमालाई छोरीको मृत मुख सम्म हेर्न नदिएर घरमै ढोका थुनेर राखिएछ।मिलेको घर,सम्हालिएको परिवार सबै लथालिङ्ग भयो,भताभुङ्ग भयो। शोकै शोक मा ओछ्यान नै नछोडेर हजुरबा पनि स्वर्गबासी हुनुभयो।
बा को एकमात्र आस्थाको किल्ला ढल्यो । अव आफु बाँचेर पनि के नै हुन्छ र ? भन्ने सम्ममा बा पुग्नुभएछ तर हजुरआमाको लागि भएपनि बाँच्ने भनेर हजुर आमा कै अगि पछि गर्न थाल्नु भएछ । बा ले जिवनको अतित कोट्याउदै जानुभयो म सुन्दै गएँ, रुँदै गएँ ।
छलीले छल पठाएर बा लाई छल गरिसकेको थियो । हजुरआमा र बा टुहुरा जस्ता भए । हजुर आमा डाँको छोडेर रुँदा ‘नरोउ आमा म ज्यँदै छु‘ भनेर बा ले ढाडस दिनुन्थ्यो रे ! ‘बाघ जस्ता तेरा बा र उडेको चरो छोप्ने तेरी दिदी गैहाली तँ बबुरोले खै के गर्लास र ’ हजुर आमा भाग्य भएकी अभागी हुनुभएको थियो ।
अझै पनि बा को जिवनमा बज्रपात रोकिएन। हजुर आमा बारीको काँल्लाबाट खस्नुभएछ। एउटा हात भाँच्चियो। हजुरआमा घाईते बन्नुभयो, बा खाएको भातको गासपनि घाँटीबाट तल झरेको देखिने पातलो हुनुहुन्थ्यो रे ! हजुरबा ले छोडेर गएको सम्पति बाहेक अरु केहि थिएन बा को जिवनमा। त्यहि सम्पतिको किचलो झिकेर आफन्तिहरुले सताउनु सम्म सताएछन।
घर फोरिदिने,कुखुरा मारिदिने गरेर आमा,छोरालाई त्यो समाजबाटै खेदाउदा केहि बुद्धिजिवी न्वारन देखिको बल लगाएर लागेछन । बा उमेर नभईकन परिस्थितिले परिपक्क बन्नुभएको थियो। पढाईमा अब्बल भएकोले मास्टर बन्ने या लाहुरे बन्ने ईच्छा भएपनि हजुरआमाको मुख हेरेर आफ्ना ईच्छाहरुलाई रहरमै मार्नु भएको थियो बा ले ।
“सबै कुरा छोड बाबै, एउटी लिखौटी बिहे गर कमसेकम तँलाई मन बुझाउने बाटो हुन्छ”भनेर बारम्बार हजुरआमाले सुनाएपछि सत्र बर्षको उमेरमा बा ले घरजम जोड्नुभएछ। बा बिस बर्षको हुँदा आमा जम्मा पन्ध्र बर्षकी हुनुन्थ्यो ।
म जन्मिएछु त्यो फुटेको भाग्य, टुटेको मुटु, लथालिङ्ग र भताभुङ्ग परिवारमा आशाको दियो, बा को साथी, बुढेसकालको साहारा, हजुर आमाको असिम माया बनेंर म ‘बबुरो’ उदाएको छु। म जन्मेपछि मेरो सलामतीको कामनागर्दै सिमे, भुमे, कुलदेवता, जलदेवता भाक्नुपर्ने भाक्नुभयो, मिठो, मसिनो खुवाउनु भयो।
सम्पतिमा आफन्तकै बक्रदृष्टी परिसकेको थियो। बा ले पढाई छोडिसक्नुभएको थियो।मेरो सुन्दर भविश्यको कल्पनामा बा को सहारा ‘आरा’बनिसकेको थियो। एउटा सिकारु केटा पोख्त ‘आरा चालक’ बनिसकेको थियो। बिधीको बिधानले लथालिङ्ग पारेको हाम्रो घरलाई ‘आरा’ले ट्रयाकमा ल्याउदै थियो।
बा आफु सुत्नुभएन तर हामीहरु मस्त संग सुत्यौ, बा ले खानुभएन हामीहरु टन्न खायौ।त्यो आराको कमाईले बा ले पाँच छोराछोरी हुर्काउनु भयो, पढाउनु भयो र बढाउनु भयो। “त्यो सत्रबर्षे उमेरमा तेरी आमा नभेट्टिएको भए र यो आरा नभएको भए म आज ज्यँदो कहाँ रहने थिँए र, बा ले आजकल कहनु हुन्छ।
‘मलाई बिबसताले बाँच्न सिकायो र परिस्थितिले हाँस्न बा ले मनको कुरा पोख्नुहुन्छ । बा ले पिर, दुख, विवशता र निरासा पचाउने हिम्मत राख्नु भयो । बा विवशताले खारिनु भयो र परिस्थितिले तिखारिनु भयो। आजकल मेरा बा बहुमखी प्रतिभाका धनी बन्नुभएको छ।
आरा देखि ल्याप्टप सम्म हात अजमाउनु भएको छ । परिवार देखि समाजको पनि नेतृत्व गर्नु भएको छ । पहाडदेखि तराईसम्म सम्पतिको मालिक बन्नु भएको छ । छोराछोरीहरुको प्रगतिमा मख्ख बन्नु भएको छ । नाति, नातिनीहरुको प्यार बन्नु भएको छ । तरपनि बा ले आफ्नो धरातल बिर्सनु भएको छैन ।
आरा प्रतिको मोह हटेको छैन । आराको ‘ध्यार-ध्यार’ आवाजले मोहनी लाएको छ रे ! आरा बा को अर्की दुलही रे ! आरा सुख र दुखको साथी रे ! मुखमा माड पुर्याउने भर्याङ्ग रे ! मलाई पनि कुनै शंङ्का छैन मेरो ईज्जत, हुर्मत, शिक्षा, पहुँच सबैमा आराको कमाई मिसिएको छ ।
आराको ‘घ्यार-घ्यार’को आवाज र बा को पसिना सिँचिएको छ । म शहरमा ‘स्टर्गल’ गरिरहेछु तर आरा र आरा चालकले गाँउबाट मलाई धरातल नबिर्सिन खबरदारी गरिरहेछ।म सिडियो स्टेसन देखि रेडियो स्टेसन सम्म पुग्छु, गोल्ड स्टार देखि फाईभ स्टारको दुरी तय गरें, बाँसको चेपबाट निस्किएर समाचारको खेप बनाँए तर आराले के पायो ?
आरा चालकलाई कहिलेसम्म धुलो मै रोम्लिईरहन भन्ने ? मैले सोँचे अव शहरबाट गाँउ जाँदैछु बा लाई मिठो, मसिनो केहि लगिदिनुपर्छ । म मोबाईल सोझ्याँए, बा लाई तार हाँने बा, म आउदै छु के ल्याईदिँउ?
“बा” ले कुसल मंगल सोध्नुभयो, नाति र बुहारीको सलामति सोध्नुभयो, म मुन्टो हल्लाँए अनि भन्नुभयो “बाबु अरु के ल्याउछस र, एउटा राम्रो कम्पनीको आरा लिएर आईज है ।
लेखक : नेपाल पत्रकार महासंघ, भारत शाखाका प्रवक्ता हुन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend