साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी फागुन १६।
ताप्लेजुङमा हेलिकप्टर दुर्घटनापछि संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीको निधन भयो । त्यसपछि मन्त्रीपरिषद्को आकस्मिक बैठक बस्यो । बैठकले बिहिबार राष्ट्रिय शोक मनाउने निर्णय पनि ग¥र्यो । त्यसैलाई लक्षित गर्दै गुल्मीमा पनि तयारी भएका थुप्रै कार्यक्रम स्थगित भए ।

मन्त्रीपरिषद्को निर्णयलाई गृह मन्त्रालयले कार्यान्वयन गर्न भन्दै जिल्ला प्रशासनलाई निर्देशन समेत दियो । तर गुल्मीमा उक्त निर्देशनको उल्लघंन भएको छ । राष्ट्रिय शोककै दिन संघिय सरकारका प्रतिनिधी प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्याल सहितका कर्मचारी तथा जनप्रतिनिधी कार्यक्रममा सहभागि भएका छन् ।
सुशासन प्रवर्धनसम्बन्धी कार्यक्रममा प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका अन्य सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधीहरुको समेत उपस्थिति थियो । त्यस्तै आशा अपाङ्ग केन्द्रद्धारा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
यसरी कर्मचारी तथा जनप्रतिनिधीहरु राष्ट्रिय शोककै दिन विभिन्न कार्यक्रममा सहभागि हुनुले सरकारको निर्णय कार्यान्वयनमा नै चुनौति देखिएको छ ।
राष्ट्रिय शोककै दिन जिल्लामा सरकारी कार्यालयमै कार्यक्रम गरिएको छ । जिल्ला समन्वय समितिको हलमा सुशासनसम्बन्धी कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौड्यालसहित दर्जनबढी कर्मचारी तथा जनप्रतिनिधी समेत सहभागि भएको पाइएको छ ।
जिल्ला समन्वय अधिकारी प्रलाद पोखरेल, नापी कार्यालयका चुन्न प्रसाद ज्ञवाली, मालपोत कार्यालयका खुप बहादुर खत्री, सुरेन्द्र पाण्डे, देवराज श्रेष्ठ र दीपक भण्डारी कार्यक्रममा उपस्थिति छन् । त्यस्तै जिल्ला हुलाक कार्यालयका रुक्माङगत आचार्य, राष्ट्रिय अनुसन्धानका डोर बहादुर विश्वकर्मा, पूर्वाधार विकास कार्यालयका विनोद कुमार चौधरी तथा कोष तथा लेखा नियन्त्रक राम बहादुर खड्काको कार्यक्रममा उपस्थिति जनाएको भेटिएको छ ।
जनप्रतिनिधीतर्फ रेसुंगा नगरपालिका १ का अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डे, २ नम्बर वडाका कार्यवाहक अध्यक्ष कृष्ण बहादुर थापा र रेसुंगा नगरपालिकाका कार्यपालिका सदस्य शान्ता सुनारले पनि राष्ट्रिय शोककै दिन कार्यत्रममा उपस्थित जनाएका छन् ।
जिल्ला समन्वय समिति प्रमुख लक्षमण पराजुलीले आफूले भनेको नमानेर जिल्ला समन्वय समितिको हलमा कार्यक्रम गरेको बताए । आफूलाई पनि विशेष अतिथिको रुपमा निमन्त्रण गरेको भएपनि आफू त्यस कार्यक्रममा सहभागिता नभएको उनको भनाई छ ।
‘मलाई पनि निमन्त्रण गरिएको थियो, तर मैले शोकको दिन कार्यक्रम नगर्नुस भने, उहाँहरुले मान्नुभएन ।’ जिल्ला समन्वय समिति प्रमुख पराजुलीले भने, ‘उहाँहरुले जबरजस्ति कार्यक्रम गर्नुभयो, मैले बहिष्कार गरे ।’
प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले आफूहरुले राष्ट्रिय शोकको हेलचक्राई नगरेको प्रतिक्रिया दिए । दुवै कार्यक्रममा एक मिनेट मौन धारण गरेर मात्र कार्यक्रम सुरु गरेको उनको भनाई छ ।
‘कार्यक्रमपूर्व धेरै समिक्षा गर्यौ, अन्य ठाउँमा पनि उहाँहरुको कार्यक्रम भएकोले गर्न बाध्य भयौँ ।’ प्रजिअ पौड्यालले भने, ‘सरकारको निर्देशनबिपरित काम गरेका छैनौ ।’ कार्यक्रममा आशन ग्रहण समेत नगरी मर्यादा राखेरै कार्यक्रम गरेको उनले दाबी गरे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend