साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असोज ३१।
गुल्मीको इश्मा गाउँपालिकामा बलात्कारका घटना बढ्दै जान थालेका छन् । एक महिनाकै अवधीमा दुई मानसिक सन्तुलन गुमाएका महिला बलात्कृत भएका छन् । भदौ अन्तिम साता इश्मा गाउँपालिका ५ इश्मा रजस्थलका ५६ बर्षिय धन बहादुर चुँदाराले मानसिक सन्तुलन नभएकी ३५ बर्षिया युवतीलाई बलात्कार गरेका थिए ।
उनी केहि दिन अघि जिल्ला कारागार चलान भएका छन् । त्यसको एक महिनापछि इश्मा गाउँपालिका ३ दर्लामचौरका ३६ बर्षिय देव बहादुर सार्कीले मंगलबार मानसिक सन्तुलन गुमाएकी २० बर्षिया युवतीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपक कुमार बस्नेतले बताए ।
आरोपित सार्कीले युवतीलाई मंगलबार पैसाको प्रलोभन देखाएर छिमेकीको कोहि नबस्ने घरमा लगेर बलात्कार गरेको बस्नेतले बताए । उनले पीडित युवतीका आफन्तको उजुरीका आधारमा सार्कीलाई बुधबार बिहान पक्राउ गरि प्रहरी हिरासतमा राखेर अनुसन्धान भैरहेको जानकारी दिए ।
युवतीको आजनै जिल्ला अस्पताल तम्घासमा स्वास्थ्य परिक्षण गरिएको छ । गत असार दोस्रो साता इश्मा गाउँपालिका २ हस्तिचौरका ३९ बर्षिय प्रेम बहादुर कार्कीले ११ बर्षिया बालिकालाई बलात्कार गरेका थिए । तीनलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
गएको फागुन महिनाको अन्तिम साता पनि इश्मा दर्लाचौर ३ का १६ बर्षिया बालकले ६ बर्षिया बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । अहिले आरोपित बालक सुधारगृह भरतपुर छन् ।
बलात्कारका घटनाले आफुलाई समेत लज्जित बनाएकाले गाउँपालिका थप गम्भिर बन्नुपर्ने अवस्था आएको गाउँपालिका उपप्रमुख बिमला खत्रीले बताइन् । घटना घट्ने र घटाउनेमा धेरैजस्तो दलित र बिपन्न परिवार भएकाले उनीहरुमा आर्थिक समृद्धि र सचेतना आवश्यक रहेको खत्रीको भनाई छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend