साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी असोज २५ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लाका विभिन्न स्थानबाट म्याद सकिएका खाद्य पदार्थहरु बरामद गरेको छ । कार्यालयले असौज २२, २३ र २४ गते जिल्लाको रुरु गाउँपालिका रिडीदेखि सदरमुकाम तम्घासको बजार अनुगमन गरेको छ । कार्यालयले तीन दिनमा कुल १६९ पसलमा पहिलो चरणमा सचेतनामुलक अनुगमन गरेको हो ।
अनुगमनका क्रममा म्याद सकिएका पेय पदार्थ, बिस्कुट, मसला, दाल, मिठाई, खाद्य पदार्थ तथा पुजासामाग्रिहरु राखि विक्रि वितरण गरेको पाइएको छ । त्यसरी राखिएका तीन लाख ५० हजार भन्दा बढी मूल्यका सामाग्रीहरु प्रशासन कार्यालयले बरामद गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख प्रशासकिय अधिकृत लक्षमण प्रसाद पाण्डेले जानकारी दिए ।
अनुगमन गरेका पसलहरुमध्ये सबैभन्दा बढी कमजोरी बलेटक्सारको कपिल स्टोरमा भेटिएको छ । स्टोरले २२ र २३ गतेमात्र एक लाख बराबरको सामाग्री बेचेको कार्यालयले जनाएको छ । उक्त पसलमा सम्पूर्ण सामाग्रीहरु एकैठाउँ राखिएको, अरुमा भन्द धेरै फोहोर रहेको, अखाद्य तथा म्याद सकिएका खाद्य पदार्थहरु बढी मात्रामा राखी विक्रि गरेको पाइएको छ ।
त्यस्तै अन्य पसलहरुमा पनि म्याद सकिएका सामाग्रीहरु बढी मात्रामा बढी मात्रामा राखिएको पाइएको छ । त्यसैगरि पसलमा सफा–सुग्घर नभएको, सबै सामानाहरु एकैठाउँ राखिएको, ब्यापारीहरुले मूल्य सूचि नराखेको, कर दर्ताको कागजपत्र नभएको, वैधानिक बिल नराखेको जस्ता समस्या भेटिएका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले बताए ।
‘लामो समयसम्म अनुगमन नहुँदा ब्यापारीहरुलाई जे गरेपनि हुन्छ भन्ने भएको रहेछ ।’ उनले भने, ‘त्यसको लागि प्रशासन कार्यालय कार्ययोजना बनाएर अघि बढ्छ ।’ त्यसका साथै म्याद सकिएका धेरै समान सदरमुकाम भन्दा गाउँमा बढी खपत भइरहेको नागरिक समाजका संयोजक पदम पाण्डेले बताए ।
‘गाउँमा अनुगमन धेरै कम हुन्छ, ब्यापारीहरुले सस्तोमा म्याद सकिएका सामाग्री खदिर गरी विक्रि गर्दछन् ।’ उनले भने, ‘अनुगमनलाई अझ प्रभावकारी बनाउनु जरुरी छ ।’ बुधबार साँझ प्रशासन कार्यालयमा जिल्लाका सरोकारवालाहरुका बिच बरामद गरिएको सामाग्री नष्ट गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले जिल्लाका अझै १३ स्थानमा अनुगमन गर्न बाँकि रहेको जनाएको छ । जिल्लाका सरोकारवालाहरुसँगको छलफलमा प्रमुख जिल्ला अधिकारी पौड्यालले सदरमुकामकै धेरै पसलमा अनुगमन गर्न बाँकि रहेको बताए । ‘सदरमुकाममै धेरै पसलमा म्याद सकिएका तथा अखाद्य पदार्थहरु राखिएको छ ।’
प्रजिअ पौड्यालले भने, ‘तिनीहरुको पनि क्रमैसँग अनुगमन गर्छौ ।’ नागरिकको जनधनको सुरक्षा गर्ने जिम्मा जिल्ला प्रशासन कार्यालयको रहेको भन्दै प्रमुख जिल्ला अधिकारी पौड्यालले कानुन बाहिर रही काम गर्ने जोसुकैलाई पनि कारवाहीको दायराभित्र ल्याएरै छोड्ने प्रतिवद्धता ब्यक्त गरे ।
त्यसको लागि समाजमा रहेका आमा समूह, युवा क्लव, विद्यार्थी लगायत सबैको सहयोग आवश्यक रहेको पनि उनले बताए । त्यसका साथै स्थानीय तहमा जनप्रतिनिधीकै रोहोवरमा अभियान चलाउन सके अझ प्रभावकारी बन्ने उनले बताए ।
जिल्लाभित्रका कुनै पनि बजारको अनुगमन गर्दा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लाको बाणिज्य संघ, गैर सरकारी महासंघ, पत्रकार, नागरिक समाज लगायतका सरोकारवालाहरु सदस्य रहने गरी अनुगमन समितिको ब्यवस्था गरिएको छ ।
तर अहिले चाडपर्वको समयमा जिल्ला प्रशासन कार्यालय कर्मचारी र जिल्ला प्रहरीले संयुक्तमा मात्रै गरिएको थियो । यसरी नियम नै उल्लघंन गरि गरिएको अनुगमनप्रति बाणिज्य संघले भने असन्तुष्टि जनाएको छ ।
‘अनुगमन गर्नु आफैमा नराम्रो कुरा होइन, बाणिज्य संघ पनि उपभोक्ता नै हो ।’ बाणिज्य संघका अध्यक्ष दुर्गा प्रसाद पाण्डेले भने, ‘अनुगमन जाँदा सबै पक्षलाई समेट्न सकेको भए अझ प्रभावकारी हुन्थ्यो ।’ कर्मचारी र प्रहरी एक्कासी छापामार शैलीमा अनुगमन गर्दा ब्यापारीहरुमा त्रास सिर्जना भएको बाणिज्य संघको भनाई छ ।
उपभोक्ता संरक्षण ऐनमा प्रत्येक नागरिकले स्वच्छ खाद्य पदार्थ उपभोग गर्न पाउने अधिकार छ । भने अर्कोतर्फ ब्यापारीहरुका म्याद सकिएका सामाग्रीहरु पनि कम्पनीले फिर्ता लैजाने ब्यवस्था छ ।
सम्बन्धित निकायले पनि चाहेको खण्डमा अनुगमन गरी सजिलै समाज सुधार गर्न सक्छ । तर गुल्मीमा परम्परादेखि नै चाडपर्व केन्द्रित अनुगमन हुँदै आएको छ । भने अन्य समयमा औपचारिकताका लागि मात्र अनुगमन हुने गरेको सरोकारवालाहरुको भनाई छ ।
‘प्रशासन कार्यालयले केवल औपचारिकताका लागि अनुगमन ग¥र्यो, नागरिकको पक्षमा उल्लेखनिय काम भएन ।’ रेसुङ्गा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरी बहादुर खत्रीले भने, ‘अनुगमनलाई गाउँगाउँसम्म प्रभावकारी ढङ्गले लैजानुपर्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend