साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी असोज २१।
नजिकिदै गरेको दसैँ, तिहारलाई लक्षित गर्दै गुल्मी सदरमुकाम तम्घासमा शनिबार पनि पसल खुला गर्न दिइएको छ । चाडवर्पहरु नजिकिएसँगै प्रतिपदा सुरु भएपछि अर्थात असोज नौ गतेदेखि नै बजारका पसलहरु शनिबार पनि खुलाइएको हो ।
दसैँपछाडि तिहार, छट एवम् पेन्सन वितरण अवधिभरसम्म शनिबार पनि बजारका सबैजसो पसलहरु खुला गर्न अनुमति दिइएको उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले जानकारी दिए । बाणिज्य संघले प्रत्येक बर्षको महत्वपूर्ण चाडर्व तथा पेन्सन वितरण अवधिभर तम्घासका पसलहरु खुलाई ब्यापार गर्न ब्यवसायीहरुलाई अनुमति दिन्छ ।
बजार खुलेसँगै देश तथा विदेशबाट आउने सबैलाई सुविधा भएको छ । शनिबार पनि उनिहरुले आफ्ना आवश्यकताका वस्तुहरु खरिद गर्न पाएका छन् । पछिल्लो समयमा तम्घासको ब्यापार घट्दै गएपनि शनिबार पनि ब्यापार गर्न दिनुले आफूहरुलाई पनि राहात भएको ब्यापारीको भनाई छ ।
तम्घासमा हाटबजार संचालनमा आएसँगै शनिबारदेखि फलफूल, औषधी र मासु पसलबाहेकका अन्य पसलहरु बन्द गरिदै आएको छ । पहिले–पहिले हाटबजार संचालनमा आएपनि विगत पाचँ बर्षदेखि हाटबजारको पनि कुनै अत्तोपत्तो छैन । तर सदरमुकामका पसलहरु भने बन्द गर्न छाडिएको छैन ।
रेसुङ्गा नगरपालिका वडा नम्बर ९ मा पर्ने जिल्ला समन्वय समितिको जग्गामा रेसुङ्गा नगरपालिका हाटबजार बनाउन लागेको जनाएको छ । हाटबजारको काम पनि अन्तिम चरणमा पुगेको अबको केहि महिनामै संचालनमा आउने नगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति : २१ असोज २०७५ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend