साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असोज १९ ।
गुल्मीको इस्मा गाउँपालिका मातहतका जनप्रतिनिधिहरुलाई नयाँ मुलुकी संहिता सम्बन्धि कानूनी शिक्षा प्रदान गरिएको छ । ५ नं प्रदेश सांसद खडग केसी, गाउँपालिका प्रमुख, उपप्रमुखसहित कार्यपालिका तथा वडा सदस्य एवं सरोकारवालाई नयाँ मुलुकी संहिताका बारेमा प्रशिक्षण दिइएको छ ।
जिल्ला न्यायधिवक्ता लक्ष्मण प्रसाद घिमिरेले १ भदौबाट लागु भएको नयाँ मुलुकी देवानी र मुलुकी फौजदारी संहिता २०७४ मा समावेश भएका जनसरोकारसँग प्रत्यक्ष सम्बन्धित कानुनी धारा र उपधारामा भएको व्यावस्थाको बारेमा जनप्रतिनिधिहरुलाई कानुनी शिक्षा प्रदान गरेका थिए ।
साथै अधिवक्ता हिरा एसीले नयाँ मुलुकी ऐनमा कसुरको सूचना तथा अनुसन्धान, अभियोजन तथा मुद्दाको दायरी, अदालतको अधिकार क्षेत्र, पक्राउ पुर्जी, थुनछेक, सम्बन्ध बिच्छेद, धरौटी तथा जमानत सम्वन्धि व्यवस्थामा भएका कुराहरुको बारेमा न्यायधिवक्ता घिमिरेले सहजिकरण गरेका थिए । 
सोही कार्यक्रममा व्यक्ति सम्बन्धि कानून, पारिवारिक कानून, सम्पत्ति कानून, करार तथा दायित्व सम्बन्धि व्यवस्था लगायतका बारेमा जनप्रतिनिधिहरुलाई जानकारी गराइएको थियो । नयाँ मुलुकी ऐन आएपछि सो सम्बन्धि जनप्रतिनिधिहरुलाई जानकारी गराउन सचेतना अनुरुप कानुनी शिक्षा प्रदान गरिएको न्यायधिवक्ता घिमिरेले बताए ।
सोही अवसरमा जनप्रतिनिधिहरुले पाएको अधिकार र अधिकार प्रयोग गर्दा कानून अनुसार ध्यान दिनुपर्ने कुराहरुका बारेमा विशेष छलफल भएको उनले बताए । गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले नयाँ मुलुकी देवानी र मुलुकी फौजदारी संहिता २०७४ मा जनप्रतिनिधीमा रहेको अनबिज्ञता हटाउन यो कार्यक्रम आयोजना गरिएको बताए ।
उनले जनप्रतिनिधीहरुले पनि गाउँमा स–साना न्याय सम्पादनका कार्य गर्नुपर्ने भएकाले यो प्रशिक्षण समय सान्दर्भिक भएको प्रतिक्रिया दिए । साथै गाउँपालिका उपप्रमुख तथा न्यायीयक समिति संयोजक समेत रहेकी बिमला केसीले आफुहरु पनि नयाँ मुलुकी देवानी र मुलुकी फौजदारी संहिता २०७४ का बारेमा थप प्रशिक्षित र सचेत भएकाले कार्य सम्पादनमा सहजता आउने विश्वास व्यक्त गरिन् ।
गाउँपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले यो कार्यक्रममा वडा स्तरसम्म पु¥याएर धेरै जसोलाई सचेत बनाउने आफुहरुको योजना रहेको बताए । उनले धेरै जनालाई यो बिषय नौलो भएकाले कानुनको अज्ञानताका कारण फस्सीनु पर्ने अवस्था आउन नदिन यो प्रशिक्षण समुदाय स्तरमा समेत पु¥याउनुपर्नेमा जोड दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend