साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असोज १२ ।
गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका ५ को धनार्जी गाउँ तम्घास–सिमलटारी–प्युठान सडकखण्डको छेउमा पर्छ । यहाँ करिव २५ घर परिवार बसोवास गर्छन् । ३० देखि ३५ जनाका घडेरी छन् ।
सोही स्थानका रामप्रसाद भण्डारीले २०४० सालमा स्थानीय एक व्यक्तिसंग ११ सयमा घडेरी किने । त्यो बेला उनी उमेरले २२ वर्षको थिए, अहिले ६० कटे ।
तन्नेरी हुँदा किनेको जग्गाको बुढेशकालमा समेत लालपुर्जा छैन । शिक्षण पेसा गर्ने उनी पेन्सन समेत निस्किए तर लालपुर्जा निस्कएन । उनले पटक–पटक आफुहरु बसेको जग्गाको नापी भएको भएपनि आफ्नो हातमा लालपुर्जा नआएको भन्दै दुःख व्यक्त गरे ।
उनीसहित धनार्जीको सिङ्गो गाउँ लालपुर्जाविहीन भएको चार दशक पुग्न थाल्यो । ‘सास भएसम्म आस हुने, विद्यालयको जग्गा भएकाले अझै प्रतिक्षामा छाैँ,’ उनले भने, ‘खै बाँचुञ्जेल पाए छोरा नातिलाई हुन्थ्यो ।’ उनको एक रोपनी जग्गा छ ।
केहीकोे दुई रोपनी भएपनि धेरैको एक रोपनी भित्रै जग्गा रहेको भण्डारीले बताए । तत्कालिन पञ्चायतले हिमालय प्राविलाई जग्गा दिएको थियो । विद्यालय संचालन गर्न समस्या भएपछि विद्यालयले स्थानीयलाई घडेरीहरु बिक्री वितरण गरेको सोहि स्थानका दामोदर भण्डारीले बताए ।
आफुहरुलाई जग्गा र विद्यालयलाई पैसा हुने भएकाले जग्गा किने पनि विद्यालयले लालपुर्जा दिलाउन नसकेको उनले बताए । विद्यालयको नाममा लालपुर्जा आएको भन्ने जानकारी पाए पनि आफुहरुले नपाएको उनले गुनासो गरे ।
लालपुर्जा नभएका कारण त्यस्तो जग्गाबाट धितो–जमानी राखेर वित्तीय कारोबार गर्न नमिलेको भण्डारीले बताए । साथै बिक्री वितरण गरेर अन्यत्र जान पनि साह्रै मुस्किल परेको दुखेसो पोखे ।
‘विद्यालयको विश्वासमा धेरै परिवारले ठुलो लगानीमा पेसा व्यावसाय र घर बनाएका छन्,’ उनले भने, ‘ तर तातो दुध निल्नु कि उकेल्नु भैयो ।’ लालपुर्जा नभएकै कारण १० घरपरिवारले अहिलेसम्म घर निमार्ण समेत गर्न सकेका छैनन् ।
त्यस्तै लालपुर्जा नभएकै कारण भुकम्पले क्षती पु-याए पनि क्षतीपूर्ती नपाएको लालपुर्जाविहीन परिवारले गुनासो गरे । करिव दुई रोपनी जग्गा भएका सोही स्थानका हुमा भण्डारीले आफुलाई जग्गाको लालपुर्जा आफ्नो पुस्ताको हात नपर्ने बताए ।
उनले आफु र छोराहरुले पढेको विद्यालय भएकाले लालपुर्जा नआएपनि विद्यालयलाई सहयोग गरिएछ भनेर चित्त बुझाएको प्रतिक्रिया दिए ।
हिमालय प्राविका प्रधानाध्यापक तुल्सीराम भण्डारीले विद्यालयको नाममा लालपुर्जा आएकाले धनार्जी गाउँका परिवारसम्म पु-याउन पहल भैरहेको बताए । स्थानीयवासीहरु भने विद्यालयको व्यवास्थाका कारण लालपुर्जा पाउन नसकेको बताउँछन् ।
जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले आर्थिक स्रोत नभएर विद्यालय तथा स्वास्थ्य संस्था सञ्चालन गर्न सार्वजनिक जग्गा थुप्रै ठाउँमा विक्रि भएको बताए । उनले धेरै स्थानमा यो समस्या भएकाले जग्गाको पैसा तिरेका तर लालपुर्जा नभएकाहरुलाई निकास दिनुपर्नेमा जोड दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend