logo
  • शुक्रबार, असोज ९ २०८३

स्मृतिमा : पुरानो घर र चुहिने खरको छानो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

-सज्जन ढकाल ।
गरिबिको परिधी भित्र धरातलिय स्वरुप बनी वि.स. २०३३ सालमा गुल्मी जिल्लाको भुर्तुङ छापचौर गाउँमा निर्माण गरिएको सामान्य पानी ओत्ने दुई कोठाको घर, घरको दायाँ बायाँ र पछाडि पट्टि लिपपोतको कुरै छोडौ, किनकी परिवार पाल्न र जिबिको पार्जन गर्नका लागि ज्यालादारी र मजदुरि काम गर्नु पर्थ्यो । त्यसैमाथी पन्चायतहरुको शासन दबदबा र तिनिहरुकै निर्देशमा चल्नु पर्ने बाध्यता गरिबिको रोदन साहु माहजनबाट लिइएको ऋण त्यो ऋण तिर्नका लागि उनिहरुको घरमा हलो जोत्ने हलि बनी चालिसौ वर्ष हजुर बुवाको पालादेखि जोत्दै आएको पुरानो प्रथा ।

आफ्नो सम्पत्तिको नाममा रहेको दुई डोका मकै उब्जाउ हुने बारी र एक घर सिवाय अन्य अर्थ नरहेपछि मेरो बुवा पनि उही प्रथालाई निरन्तरता दिनु भएको रहेछ । बुवा-आमा मेलापात संगै ज्यामी काम गर्ने र पाएको पारिश्रमिकबाट दैनिकि चलाउने बाध्यता हाम्रो सन्तानमा विध्यमान नै रहेछ ।

आमाको कोखबाट २०३५ सालमा जन्मिए म मेरो बाल्यकाल कष्टपुर्ण तरिकाले बितेछ। किनकि म अनुभव बटुल्ने कुरा र उमेर पनि भएन जब म ९ वर्षको भए सबै घरको अवस्था बुवा आमाको मेहनत र परिश्रम देख्न थाले त्यसैमा मलाई बुवा आमाको स्कुल पढाउने ठूलो रहर कापी कलम किन्न नसक्ने गरिबिको सङ्कट र मेरो पढ्ने ठूलो रहर ।

त्यही पढ्ने रहर पूरा गर्नका लागि जनतन सयौ ठाउँमा प्वाल परेका कपडा साथि भाइले गरिबी भएकै कारण गर्ने छि-छि को व्यवहार, खप्दै खाली खुट्टा हिडदै गर्दा त्यो कलिलो मस्तिष्कमा परेको पिडाको छाप अनुभव गर्दै काठको पाटी र लेख्ने खरी समाउदै स्कुल जाँदै कक्षा ५ सम्म जनतन पढ्ने अवसर पाए।

भनिन्छ शत्रुता लागोस दैव नलागोस तर ठिक उल्टो त्यस पश्चात् परिवारमा दिन प्रतिदिन समस्याहरु थपिदै गए । परिवारमा प्रलयका सङ्कट गहिरिदै गए, असारको महिना र खेतीपाती सँगै रोपाइको बेला थियो, बुवा साहुको घरमा हलो जोत्नको लागि जानू भएको थियो । म सानै भएपनी बाध्यता र विवसताले गर्दा साहुको मेलामा आमा संगै गएको थिए ।

केहीदिन अगाडि देखि आकासबाट निकै भारी वर्षा भैरहेको थियो । पहिरोले बगाएर देशका अन्य ठाउमा थुप्रै मानिसहरु मृत्युको सिकार बनिरहेका रेडियो नेपालको समाचारबाट थाहा हुन्थ्यो । त्यस्तै बुवा पनि साहुको घरमा अबेरसम्म रोपाइ सकेर फर्कने रातको समयमा पहिरोले बगाएको सिमलको रुखले लागि टुनिखोलाको खोल्सामा मृत्युको सिकार हुनु भएछ । हामी आमा छोरा अबेरसम्म घरमा बुवालाई पर्खिएर रातको १२ बजेसम्म नआएपछी साहुको घर बस्नु भएछ भन ठानेर सुतेका थियौ ।

बिहान पख गाउमा मृत्युको खबर गुन्जिन थाल्यो, गाउलेहरु घटना स्थल तर्फ गएछन बुवाको शव अन्तिम दाह सस्कारको लागि लैजाने कुरा गर्दै शव घरमा ल्याए आमा रुदै अचेत हुनुभयो । म पनि अचेत भए त्यति बेला गाउँका सबै मानिसहरु हाम्रो थोत्रो घरको आगनमा जम्मा भएका थिए ।

दाजु-भाई र वंशज धेरै थिएनन् हजुर बुवाको बुवा एक्लो छोरो र अन्य केही आफन्त भएका पनि निकै पत्थर हृदयका थिए । सहयोगको कुरै छोडौ निर्दयी व्यवहार गर्ने गर्थे ती वचनका टुक्राले मुटु भरी पीडा र आँखा भरी आँसु सिवाय अन्य केही दिदैनथ्यो ।

हिन्दु सस्कार मृत्यु पश्चात् काजकृया गर्नुपर्ने असार महिनाको त्यो भारी वर्षा घरमा चुहिने खरको छानो, निरन्तर आकाशबाट हुने दिनरातको भारी वर्षा घर भरी पानीको आहाल तैपनी पिडाको रोदन भित्र केही संघर्ष, थोत्रा भाडा पानी चुहिने ठाउँमा आमाले थाप्नु हुन्थ्यो ।

छिन भरमा भरिने फेरि फाल्ने यो निरन्तरता चलिरह्यो । सुत्ने बस्ने र ओडने कम्मल पनि पानीले रुजथ्यो त्यो चिसो सङग पौठे जोरि खेल्दै सकसको पीडा भुमरि भित्र चित्रित थियो । तैपनी बारम्बार बुवाको स्मृतिले मुटु भक्कानी रहन्थ्यो र काजकृया पनि जनतन सकियो ।

त्यो समय आमा गर्भवती हुनु भएको रहेछ, बुवाको मृत्यु भएको पाँच महिनापछि आमाको कोखबाट भाइको जन्म भयो । आमा सुत्केरी हुनुहुन्छ, घरमा खाने अन्नपात छैन, चिसोबाट बचाउनु पर्ने घरको अवस्था र राम्रो खाना दिनु पर्ने त्यो सपना जस्तै थियो । १५ वर्षको केटो म सबै समस्या बुझ्ने र समाजको दृष्टि नियाल्न सक्ने थिए त्यसैले त्यो पीडा गम्भीर भएर सोच्न विवस भए ।

बुवाले हलो जोत्ने साहुको घरमा गएर दश पाथी धान र एक माना घ्यु मागे हाम्रो घरको पीडा देखेर सहज साथ दिनु भयो, र सम्झाउदै भन्नू भयो (पिर नगर्नु बाबू यो प्रकृतिको नियम नै हो) धान लिएर आए त्यो धान ढिकीमा कुट्नु पर्ने, ढिकिमा जादा गाउ भरिका मान्छे हुन्थे पालो कुर्नु पर्ने तैपनी अबेरसम्म जनतन कुटेर ल्याए सुपोमा राखी केही माना चामलको भुस फाली आमा भोक-भोकै हुनुहुन्थ्यो भात पकाएर खान दिए ।

आमा भक्कानिएर रुनु भयो, बुवाको स्मृती र दु:खको रोदन सम्झेर होला सायद । आमाको आखामा आशुको भेल बग्दा मेरा नयनमा पनि आशुको मुल  फुट्थ्यो    ! तर सानो भाइको मुहारमा खुसिको सङ्केत हुन्थ्यो किनकी उ निर्दोष र सोच्न नसक्ने नाबालक थियो ।

भाई जन्मनु खुसी भन्दा पनि सङ्कट थप्न गरिबिको पीडा संघर्षको विवशता भित्र अलपत्र पर्न र उस्को भविष्यमाथि म सोच्दै थिय । आमा सङ प्रश्न गरे आमा साहुको घरमा हामीले पैसा तिर्नु कति छ ? आमाले भाइलाई काखमा लिदै भन्नू भयो यहि घर बनाउदा लिएको पाँच हजार तिर्नु छ बाबू ! यो बोली बोल्दा आमाको गहभरी आँसु भरिदै बोली रोकिएको थियो ।

म केही छिन बोल्न सकिन यो पैसा कसरी तिर्ने ? भाइ सानो छ । साहुको घरमा हलो जोत्ने विकल्प भन्दा अरु अन्य केहि पनि छैन । १५ वर्षको कलिलो मस्तिष्कलाई मैले भाइका भविष्यका दिन सम्झेर हलो जोत्ने अठोठ गरे । र स्कुलको पढाइ पनि अन्त्य गरे । किनकी आमालाई दुखमा साथ दिने अन्य कोहि पनि छैन र आमाको खुसी नै मेरो जिन्दगिको लक्ष्य सम्झिए ।

साहुको घरमा चार वर्षसम्म हलो जोत्ने काम गरे साहु पनि यहाको सबै घर जग्गा बेचेर तराई जाने निर्णय गर्नुभएछ । म त्यति बेला १९ वर्षको र भाइ ५ वर्षको भएको थियो । साहु एक दिन हाम्रो घरमा आउनु भयो र आफू तराई तिर जान लागेको सबैकुरा बताउनु भयो । भोलि बेलुका घरमा आउन आग्रह गर्दै घर फर्किनु भयो ।

भोलिपल्ट आमा भाई र म गयौं खाना खान दिनु भयो । लगाउने लत्ताकपडा अन्नपात र केही पैसा पनि दिनु भयो । आमाले सोध्नु भयो पहिलाको ऋण के गर्ने हजुर जान लाग्नु भयो ? साहुले भन्नुभयो भयो तिर्नु पर्दैन, टारिखेत बेची दिए गैरी खेत र बाबुले जोत्दै आएका एक हल गोरु पनि तिमिहरुलाई छोडि दिएको छु । राम्ररी गरेर खानु पिर नमान्नु, छोराहरु हुर्कदै छन । एक दिन सुख र खुसिको दिन ल्याउने छन, चिन्ता नमान्नु ।

हामी घर आयौं साहु जानू भयो केहिदिन कस्तो-कस्तो लाग्यो त्यसपछि हामी खेतिपाती र मेलापात गर्न थाल्यौं । भाई पनि ठुलो भयो ज्याला मज्दुरी गरेर भएपनी स्कुलमा पढाउन थाल्यौं पढाइमा अब्बल निस्कदै कक्षा १ देखि १० सम्म प्रथम हुँदै अगाडि बढ्दै गयो ।

आमा र म पनि खेतिपाती र ज्याला मज्दुरी गर्दै जनतन उच्च शिक्षा पढाउदै गयौं उस्ले सरकारी छात्रबृतिमा नाम निकाल्न सफल हुँदै इन्जिनियर पढ्ने मौका प्राप्त गर्यो र लोकसेवाबाट नाम निकाली सरकारी जागिर खान सफल भयो ।

हाम्रो खुसी र हर्षको पात्र भाई नै हो किनकी घरमा अहिले उसैको कमाइबाट ५० हजार खर्च गरि जस्ता पाताको छानो हालिएको छ । वर्षा यामको समयमा आजभोली पुरानो घर र खरको छानो सम्झदा पुनः मुटु भक्कानी रहन्छ । विगतको ओत र साहुको माया नै प्रेरणाको स्रोत बन्यो ।

हाम्रा संघर्षका यात्राहरु निरन्तर अगाडि बढ्दै थिए । ज्याला मजदुरी गरेर भएपनि सुखका दिन एक छाक आनन्दले खाना र एक सरो नयाँ लुगा लगाउन पाउँदा मन खुसी हुन्थ्यो । आमाको पनि दुखको रोदनले गर्दा उमेर ढल्किदै बुढेसकालले छोयो । भाई सरकारी जागिरे भएपछी समाजका अन्य ठुला बडा भनाउदाहरुले हेर्ने दृष्टि फरक हुँदै गयो ।

हजुर बुवाका पाला देखिको ऋण तिर्दै गयो, समाजमा प्रतिष्ठित व्यक्ती हुँदै जादा हाम्रो परिवार म र आमालाई समाजले हेर्ने दृस्ठि घृणा भन्दा सम्मानित नजरको बन्दै गाउँघरका व्यापारिहरु हजारौंको उधारो व्यवहारमा विस्वस्त हुँदै गए । पहिले सलाइको एक बट्टा पनि तिर्न सक्दैन भनेर पत्याउने बाताबरण थिएन ।

भाइको कमाइ र लगानिले परिवारको सल्लाह अनुसार मैले पनि केही गर्नु पर्छ भन्ने सोचले सानो किराना पसलको सुरुवात गरे जसबाट सफल बन्दै अहिले सफल व्यापारी भएको छु । मेरै लगानीबाट सिमेन्टे चारकोठाको घर निर्माण गरिसकेको छु । त्यो घर भाडामा र भाइको कमाइ छदै छ ।

आमा उही पुरानै घरमा बस्न रुचाउनु हुन्छ, किनकी आमा भन्नु हुन्छ तिमिहरुको सफलता नै मेरो खुसी हो । यो घर नै तिमिहरुको पाठसाला हो । झुपडी भनेर हेला नगर्नु र कहिल्यै नबिर्सनु, विगतको स्मृती गर्दै अगाडि बढ्नु ।

पहिले हामी आटो-पिठो माग्न जाने घरका महाजनहरु आजभोली उधारो माग्न मेरो पसलमा आउने गर्दछन । त्यो अवस्थाबाट आजसम्म निकै लामो दुरिको दौडान र थकानको अनुभुति जस्तो हाम्रो व्यथा संघर्षमा सिमित थियो । वास्तविकता केवल भोगाइ र पिडाको धरातलमा इन्द्रेणिको रङ्ग जस्तो बनी तरङ्गित हुँदै लम्कने कोसिसमा आधारित थियो ।

समाज भित्र गरिबिको रोदनमा हुर्कदै गर्दा समस्या माथी बाधा सृजना गर्नेहरु आजभोलि हाम्रै घरमा केही पैसा सापटी र ऋणको लागि आउदा ऋण दिने क्रममा गर्व लाग्छ कता-कता दुखको आभास पनि हुने गर्दछ । ती साथीभाई संगै स्कुल जादा र पढ्दा गरिने निच व्यवहार र मुटु पोल्ने गरी भनेका कटाक्ष वचन मेरो मस्तिष्कमा ताजा नै छन ।

त्यो पिडाको अनुभव आज म प्रकट गर्न सक्ने भएको छु । तर प्रकट गर्नु हुदैन बरु हामि समाजमा सरल नरम र मिजासिलो हुने निर्णय गरेका छौ । समाजमा हैसियतको लागि गरिबी र बिपन्नता होइन सम्पन्नता र आर्थिक अवस्था बलियो चाहिदो रहेछ ।

किनकी जब सफलताका खुड्कीलाहरु उपलब्धी प्राप्त गर्दै जादा वुद्धिजिवि, भद्र, भलाद्मी समाजसेवी लगायत अन्य सबै तक्माको विभूषण दिने गर्दा रहेछन । त्यो विभूषणबाट हाम्रो परिवार ग्रसित भएको छ । किनकी त्यो थोत्रो घर साहुको ऋण चुहिने घरको छानो, कृया बस्दाको विपत, आमाको प्रसव र सुत्केरी बेलाको अवस्था त्यसपछि भोक भोकै बसेका कारुणिक प्रतिविम्व समाजले हेर्ने दृष्टि बोलिने वचन र गरिने शोसण आज मस्तिष्कमा ताजा नै छन ।

त्यति बेला न साथी भाइ न इष्टमित्र कोहि पनि थिएनन्, केवल थियो त मुटु भरी चोट आँखा भरि आँसु र भुमरिको सुस्सावट मात्र । हाम्रो समाज पापी छ, समाजको नियत खराब छ, किनकी दु:खमा साथ दिने कोहि हुदैनन सुखमा अघिपछी सल्लाह र सुझाव दिने इष्टमित्र र आफन्तहरुको धेरै जन्म हुदो रहेछ ।

त्यो प्रसाद आज हाम्रो परिवारले भोगेको ज्वलन्त उदाहरण हो । उ बेलामा तुच्छ व्यवहार गर्नेहरु घृणित दृष्टिबाट हेर्नेहरु आज अघिपछी र मीठो सल्लाह सुझाव दिने र जटिल परिस्थितिमा सहयोग गर्दा रहेछन । ताकी उनैको घरमा ज्यामी काम गर्न जादाको व्यवहार र आजको व्यवहारमा आकाश पातालको भिन्नता पाइन्छ, आखिर त्यही समाज र त्यहिका मानिसहरु नै हुन ।

विगतको पीडामा मलम लगाउने होइन नुन चुक र खुर्सानिको धुलो राखिदिनेहरु आज हर्षमा सारथि बन्दै गर्दा, हाम्रो परिवारको गनतव्यले त्यो सहजरुपमा लिएको छैन । बरु तिनिहरुको चोटमा मलम बन्ने गरेको छ । विगतमा हजुर बुवाको पालादेखि आजसम्म प्रस्तुत भएका सबै हृदय विदारक कटुताले मनमा आलस्यता र बढ्दो सुर्यको किरण जस्तो ज्योती प्रधान गरेको छ ।

पुरानो घर, चुहिने खरको छानो, असार महिना दिनभरिको वर्षा र काम गर्दा भिजेको कपडा आगोमा सुकाएर लगाएका क्षण, घर भरी पानीको आहल सुत्दा ओढ्ने कपडाको अभाव, आमाको प्रसवको पीडा, सुत्केरी अवस्था र भोक-भोकै बसेका दिन, साहुको गैरी खेत, एक हल गोरु, पाँच हजार ऋण बाबुको मृत्यु, आमाको दुख र मेरो भोगाइ, भाईको शैक्षिक प्रगती, सरकारी जागिर, समाजले गर्ने निर्दयी व्यवहार उच्च प्रेरणाका स्रोतहरु हुन । त्यसैले पुरानो घर र चुहिने खरको छानो स्मृतिको तरेलिमा गुन्जिदै मस्तिष्कमा पटक पटक पुनरावृत्ति भैरहन्छ ।


माथि उल्लेखित सम्पूर्ण विषय वस्तु मेरो काल्पनिक कथा हो, कसैको वास्तविक जीवनसँग मेल खान पुगेमा संयोग मात्र हुनेछ । धन्यवाद !

सज्जन ढकाल, गुल्मी  ।


प्रकाशित मिति : २७ भदौ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend