साझा नेटवर्क
टोपलाल अर्याल ,गुल्मी भदौ १३ ।
नयाँ मुलुकी संहिता लागू भएसँगै जिल्ला अदालत गुल्मीमा सम्बन्ध बिच्छेद गर्ने महिला पुरुषको प्रतिस्प्रर्धा देखिएको छ ।
जिल्ला अदालत गुल्मीको तथ्याङ्क अनुसार पछिल्लो १३ दिनमा १९ वटा सम्बन्ध बिच्छेदका मुद्धा दर्ता भएको कार्यालयकी नायव सुब्बा सीता घिमिरेले बताइन् । त्यसमा आठ महिला र ११ पुरुषका छन् ।
नयाँ मुलुकी ऐनमा पुरुषले पनि सम्बन्ध बिच्छेद गर्न पाउने थाहा पाएपछि अदालत गुल्मीमा एकै दिन तीन पुरुषले मुद्धा दर्ता गरेका छन् । ऐन लागु भएपछि ७ भदौमा पहिलो पटक छत्रकोट गाउँपालिका ६ का लक्ष्मण ज्ञवाली, इस्मा गाउँपालिका ५ का शोभाखर पन्थ र रेनपा ४ का राजेन्द्र बहादुर खत्रीले एकै दिन पत्नी बिरुद्ध सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गरे । भने १३ भदौमा एकै दिन धुर्कोट गाउँपालिका १ का बाबुराम थापा र रेसुङ्गा नगरपालिका १३ का हरि बहादुर खत्रीले सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गरे । जिल्ला अदालत गुल्मीमा नयाँ मुलुकी ऐन लागु भएकै दिन १ भदौमा एक महिलाले सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गराइन् ।
जिल्ला अदालतमा आएका सम्बन्ध बिच्छेदका मुद्धाको प्रकृति हेर्दा प्रमुख कारण बैदेशिक रोजगारपछिको पारिवारीक बिचलन रहेको छ । महिलाहरुले दर्ता गरेका मुद्धामा कारण खान लगाउन नदिएको, गाली ग्लौज गर्ने र कुटपीट गरेको, पारिवारीक संरक्षण नभएको लगायतका छन् । भने अहिले अधिकांश पुरुषले श्रीमतीले घर व्यवहार चलाउन नसकेको, पैसा हिनामिना गरेको, परपुरुषसँग सम्बन्ध राखेको र आफुलाई अनावश्यक मानसिक तनाव दिएको लगायतका कारण देखाउँदै सम्बन्ध बिच्छेदका लागि अदालतमा मुद्दा दर्ता गराएको श्रेस्तेदार दुर्गा प्रसाद बस्यालले बताए । यी सवैको गहिराइमा कारण बैदेशिक रोजगार रहेको उनले बताए । यस अघिका समग्र सम्बन्ध बिच्छेदको कारण भने पति बिदेश पत्नी अर्कैसंग हिड्ने, कम उमेरमा बिबाह, मदिरा सेवन, सामाजिक संजालको दुरुपयोग लगायतका रहेका छन् ।
अहिलेसम्म सम्बन्ध बिच्छेदका लागि महिला सोझै अदालत जान सक्ने व्यवस्था भए पनि पुरुष भने अदालत गएर मुद्दा दर्ता गर्ने कानूनी व्यवस्था थिएन । १ भदौबाट लागू भएको नयाँ मुलुकी संहिताले सम्बन्ध बिच्छेदका लागि पुरुषलाई पनि सोझै अदालत जाने बाटो खुल्ला गरेको जिल्ला अदालत गुल्मीका श्रेस्तेदार दुर्गा प्रसाद बस्यालले बताए । जसका कारण अहिले जिल्ला अदालत तम्घासमा सम्बन्ध बिच्छेदका लागि पुरुष पुग्न थालेका छन ।
अहिलेकै अवस्था रहे आउने ६ महिनामा सम्बन्ध बिच्छेदको संख्या धेरै माथी पुग्ने कानुन व्यावसायीहरु बताउँछन् । पतिको मञ्जुरी नलिई लगातार तीन बर्ष वा सो भन्दा बढि समेदेखि अलग बसेमा, पत्नीले खाना लगाउन नदिई घर निकाला गरेमा, अङ्ग भङ्ग हुने कुनै मानसिक वा शारीरिक कष्ट हुने किसिमको कुनै काम वा प्रपञ्च गरेमा र पत्नीले परपुरुषसंग यौन सम्बन्ध राखेको ठहरेमा पुरुषले सम्बन्ध बिच्छेद गर्न पाउने कानुनी व्यावस्था रहेको छ ।
गत बर्ष १ सय ४७ सम्बन्ध बिच्छेद, १७ बलात्कार
गुल्मीमा आर्थिक बर्ष ०७४/०७५ मा एक सय ४७ वटा सम्बन्ध बिच्छेदका मुद्धा जिल्ला अदालत गुल्मीमा दर्ता भएका थिए । जसमा एक सय २८ मुद्धा फर्छयौट भएका छन् । भने १९ जना मुद्धा प्रक्रियामै रहेको जिल्ला अदालत गुल्मीले जनाएको छ । साथै आर्थिक बर्ष ०७४/०७५ मा जवरजस्ती करणीका १७ मुद्धा दर्ता भएका छन् । जसमा एउटा हाडनाता करणी समेत रहेको छ ।
१७ मुद्धामा नौ वटा फर्छयौट भएको जिल्ला अदालतका सुचना अधिकारी समेत रहेका श्रेस्तेदार दुर्गा प्रसाद बस्यालले बताए । भने आठ वटा मुद्धा प्रक्रियामा रहेको अदालतले जनाएको छ । त्यस्तै अंश सम्बन्धि ५१, नाता कायमका १६, बहुबिबाहका नौ बालबिबाह दुई र मानाचामलका ३५ मुद्धा दर्ता भएका थिए । त्यस्तै सामाजिक अपराधका ५०, जालसाजीका १४, ज्यान मुद्धा ११, गाली बेइज्जतीका १३ र चोरीका चार मुद्धा दर्ता भएका थिए ।
जिल्ला अदालतमा लक्ष्य भन्दा बढि मुद्धा फर्छयौट
जिल्ला अदालत गुल्मीले लक्ष्य भन्दा ५.५० प्रतिशन बढि मुद्धा फर्छयौट गरेको छ । आर्थिक ०७४/०७५ मा जिम्मेवारी सरेका ८९ र नयाँ दर्ता भएका तीन सय ११ मुद्धा फर्छयौट भएका छन् । अघिल्लो बर्षको ८९, यो बर्ष दर्ता हुने अनुमान गरिएको तीन सय ३१ गरी चार सय २० मुद्धामा ७० प्रतिशत अर्थात दुई सय ९४ मुद्धा फर्छयौट गर्ने लक्ष्य अदालतको थियो ।
जसमा अनुमान भन्दा २० वटा मुद्धा कम दर्ता भएका थिए । त्यसैले जम्मा चार सय २० मुद्धामा अदालतले चार सयमा तीन सय दुई अर्थात ७५.५० प्रतिशत मुद्धा फस्र्यौट गरेको अदालतका श्रेष्तेदार दुर्गा प्रसाद बस्यालले जानकारी दिए । जिल्ला अदालतमा एक बर्षदेखि १८ महिना भित्रका १८ वटा मुद्धा रहेका छन् ।
फोटो : जिल्ला अदालत गुल्मी ।
प्रकाशित मिति : १३ भदौ २०७५ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend