साझा नेटवर्क
-ध्रुब क्षेत्रि ।
आफु जन्मिएको ठाउ, पाखा पखेरा र आफ्नो देश छोडेर बिरानो देश जान कसलाई पो रहर होलार । तर ति पाखा पखेरी हुर्केको बढेको ठाउ र मातृभुमि छाडेर विदेशिनु पर्ने यी तिन कारणहरु हुन समय, परिस्थिति र बाध्यता ।
उनीहरुले आफू जन्मेको घर, बाबाआमा, साथीभाई र प्रियसीलाई समेत छोडेर सपनाको संसार सजाउन या भनौं सुनौलो भविष्यको खोजीमा निस्कन्छन् । र हामी तिनैलाई परदेशी भन्छौं । परदेशी रहर भन्दा पनि बाध्यता र जिम्मेवारी दुवै पूरा गर्ने सपनाको मालिक हो ।
जब कालखण्ड फेरिँदै जान्छ मान्छेमा जिम्वेवारी र परिचय पनि फेरिँदै जान्छ । त्यसैले हिजो ‘बुबा आमा’को आश्रयमा बस्ने आज न आँखाले देख्न सक्ने न त सजिलै भेट्न नै सक्ने गरी बादलपारीको देशबाट केवल यादमा पौडिरहेको हुन्छ “परदेशी” ।
‘प्रदेशी’ शब्द भन्न, लेख्न र सुन्न पनि नौलो लाग्छ । नमिठो लाग्छ । परदेशीलाई बिरानो वा बिछोडिएको रुपमा पनि लिइन्छ । परदेशीको मनमा आफूले भेटेका पुराना मान्छेहरु, परिवार तथा साथीभाई फेरि भेट होला नहोला भन्ने मनमा लागिरहेको हुन्छ ।
जब समयको चक्र फेरिँदै जान्छ उसको आवश्यकता र जिम्मेवारी पनि सँगै फेरिँदै जान्छ । जब यी सबै कुरा थपिँदै जान्छन् र आवश्यकता पूरा गर्ने सजिलो र स्पष्ट बाटो बन्छ प्रवास । अनि उ आफ्ना सबै सपना मन भरी पोको पारेर सुन्दर भविष्यको खोजीमा लाखौं मान्छेको हुलमा आफू एक्लिएको अनुभुति गर्दै परदेशी हुन्छ ।
‘सर्पको खुट्टा सर्पले मात्र देख्छ’ भनेझैं परदेशीको व्यथा उ स्वयंले देख्छ । सबैको सपना बोकेर परदेश भासिएकै दिनबाट घरमा पैसा आउने दिन गनेर बस्नु परिवारको लागि नौलो होइन । तर बिडम्बना यो सहर भित्रको ‘रहर’ हामीले कल्पना गरे भन्दा सुन्दर र ‘विकसित’ छ । त्योभन्दा बढी ‘स्वार्थी’ र ‘निरीह’ ।
यी कुरा पैसा आउने दिन गनेर बसेका परिवारका सदस्यलाई के थाहा ? ‘मनको बह कसैलाई नकह’ भने झैं कसैसँग नबोल्दा सम्पर्कविहीन भएर बस्न मन लागेपनि समाजका केही मान्छेहरु फलानो विदेश गएर ठूलो पल्टियो । बोल्नै छाड्यो । गन्नै छाड्यो भन्छन् ।
परदेशमा रगत र पसिनासँग पैसा साटेकाहरुलाई सञ्चो बिसञ्चो सोध्नुअगावै केही सामानको आशमा त्यहाँ फलानो सामान ओरिजिनल पाइन्छ रे, यस्सो आउँदा केही कोशेली पाम् न भन्ने आशयका कुरा गर्छन् । आफन्तहरुले यसरी चिनोको आश गर्छन् कि मानौं परदेशमा पैसा बाटोभरि छरिएर बसेका छन् ।
साँचो अर्थमा परदेशी दुई प्रकारका हुन्छन् । एक परदेशमा अरु कोही गएका छैनन्, म मात्र आएको हुँ र मैले मात्र पैसा कमाएको छु भन्ने घमण्ड पालेर बस्नेहरु । र अर्को यथार्थ र वास्तविकताको दुनियाँलाई सुख दुखको चक्र सम्झिएर परिवारको भविष्यलाई आधार मानेर परदेश होमिएका ।
यस्ता खाले परदेशीहरु परिवारको पीडा, समस्या र स्वतन्त्रताको परिधिबाट पर बस्न सक्दैन । यी परदेशीहरु सपना पूरा गर्न आधा पेट खाएर ननिदाएका राता सुनिएका आँखा मिच्दै दौडिरहेको अवस्थामा भेटिन्छन् । उनीहरु भोलिको खुशीको लागि मन्द मुस्कान बोकेर हिँडिरहेको भेटिन्छन् । जस्तो कि युद्धमा होमीईसकेको सिपाही झैं ।
“पीडा सबै लुकाएर मृत्युसँग लड्छ परदेशी
सपनाको संसार फेर्न निडर भई बढ्छ परदेशीपरिवारको सपना र जिन्दगीको लक्ष्य बोकी
सफलताको शिखर चुम्न चढ्छ परदेशीभोक निद्रा नभनेर केवल लक्ष्य पूरा गर्न
पचास डिग्री नभनेरै चर्को घाममा डढ्छ परदेशीन छ आमा न छ बाबा याद मात्र संगालेर
आफ्नो कथा आफैं लेख्दै पढ्छ परदेशी”
साँच्चै भन्नु पर्दा परदेशी बलिरहेको मैन बत्ती हो । आफू पग्लिएर आफू सधैँ अँध्यारो भएर पनि परिवारको उज्यालोको लागि अलिकति सास रहुन्जेल बलिरहन्छ परदेशी । अवरात डुंगा खिहाइरहने ‘माझी’जस्तै हो परदेशी । कतिलाई पारी तार्छ तर आफू सधैँ वारीको वारी भएझै आफू नोकरी गरेर परिवारलाई तलबको जिम्मा लगाउँछ परदेशी ।
बचेरा गुँडमा छोडेर आहारा खोज्न हिँडेको चरी झैं हो परदेशी । कहिले आउँछ र खाउँला भनि पर्खिबसेका बचेराहरु ‘शिकारी’को पासोबाट चारो टिपेर आउने नआउने कुनै ठेगान नभएको सुत्केरी चरी झैं । बिरानो बस्तीमा सपनाको महल बनाउँदै दु:ख र पसिनासँगै पौडी खेल्ने साहसी हो प्रदेशी ।
आधा बाटोमा हराएका गन्तव्य विहीन यात्रालाई मुल बाटोसम्म पुर्याउने सपना देखेको बटुवा हो परदेशी । वर्क्षौंदेखि चुहिएको छानो र आमाको फोटेको चोलो फेरिदिने सपना पालेर हिँडेको कालो बादलभित्रको चाँदीको टुक्रा हो परदेशी ।
अपसोच, मनमा ‘जननी जन्म भुमिश्च स्वर्गदपी गरियसी’ हुँदाहुँदै पनि कहाँ हो कहाँ चिन्दै नचिनेको देख्दै नदेखेको दुनियाँसँग श्रमको साइनो गाँसेर पीडा हुँदाहुँदै मुस्कुराएर हिँड्छ परदेशी ।
रमिते शहरमा गुम्सिएका रहरहरु लिलाम बिक्रिमा राखेर सुनौलो भविष्यको लागि परदेशीको बिल्ला भिरेर कहिलेसम्म भौंतारी रहनु पर्ने हो यो श्रम लुटिएको शहरमा । ए बिरानो परदेशी…!
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend