साझा नेटवर्क
साझा नेटवर्क ,काठमाडौँ साउन २७ ।
पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै त्यहाँका वासीन्दाहरुलाई सतर्क रहन मौसम पुर्वानुमान महाशाखाले आग्रह गरेको छ।
महाशाखाले आज पूर्वानुमानसम्बन्धी बुलेटिन निकालेर पश्चिमका एक वा दुई स्थानमा अति भारी वर्षा तथा पश्चिमका केही स्थान र पूर्व र मध्यका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको हो ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बद्ली रही देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भएको छ भने रातको समयमा पनि बद्ली र वर्षा हुनेछ । आइतबार पनि देशभर सामान्यदेखि पूर्ण बद्ली रही देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने तथा रातको समयमा पश्चिमका केही स्थान र मध्य र पूर्वका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बितेको २४ घण्टामा काठमाडौँमा ४५ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी विराटनगरमा ५५ मिलिमिटर वर्षा भएको छ भने पोखरामा ४३ मिलिमिटर वर्षा भएको महाशाखाको विवरणमा उल्लेख छ । आज काठमाडौँको अधिकतम तापक्रम २९ र न्यूनतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ ।
बाढीको सम्भावना
जल तथा मौसम विज्ञान विभाग, जलविज्ञान महाशाखा÷बाढी पूर्वानुमान शाखाले लगातारको वर्षाले ठूला नदी, मझौला नदी तथा चुरेबाट बहने खोलामा बाढीको सम्भावना रहेको भन्दै नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
शाखाले बाढी बुलेटिन निकालेर अबको तीन दिनसम्म देशैभर बद्लीसहित हल्का, मध्य वा भारी वर्षाको सम्भावना भएकाले नदी जलाधारमा गरिएको बाढी पूर्वानुमानअनुसार ठूला नदी, महाकाली, कर्णाली र कोशीमा आजदेखि सोमबारसम्मै बहाब बढ्दो क्रममा रहने देखाएको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो ।
बहाव बढे पनि खतरा तह पार गर्ने सम्भावना भने न्यून रहेकाले तटीय क्षेत्रका समुदाय सतर्कतापूर्वक आफ्नै घर तथा समुदायमै रहन भनिएको छ । देशका मझौला नदी कन्काई, कमला, बागमती, पूर्व राप्ति, तिनाउ पश्चिम राप्ति, बबई, मोहनालगायतमा पनि आज अपराह्नदेखि नै बहाव बद्दो क्रममा रहेकाले आज राति वा भोलिसम्म सतर्कता तहसमेत पुग्न सक्ने खतरा देखिएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन शाखाले अनुरोध गरेको छ ।
चुरेबाट प्रवाह हुने ससाना खोलानालामा तीन दिनसम्म जुनसुकै बेला पनि आकस्मिक बहावको सम्भावना रहेको भन्दै वर्षा भइरहँदा ती खोलानाला आसपास नजान र चुरेबाट बहने खोलानालाको नजिक र होचो स्थानमा विशेष सतर्कता अपनाउन भनिएको छ । महाशाखाले तीन दिनसम्म झरी परेकाले पहाडी एवं पहिरोग्रस्त क्षेत्रका बासिन्दालाई सतर्क रहन र उक्त क्षेत्रमा अत्यावश्यक बाहेक नजान भनिएको छ ।
रासस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend